
एजेन्सी । टर्कीको अंकारामा जारी नेटो शिखर सम्मेलनका क्रममा सदस्य राष्ट्रहरूले रुस र चीनबाट उत्पन्न सुरक्षा चुनौतीहरूको सामना गर्न हतियार विकास, उत्पादन र आपूर्ति श्रृंखलालाई सुदृढ बनाउने उद्देश्यले विभिन्न रक्षा पहलहरूको घोषणा गरेका छन् ।
नेटोका महासचिव मार्क रुट्टले गठबन्धनको अत्याधुनिक सैन्य क्षमता बढाउन सदस्य राष्ट्र र रक्षा ठेकेदारहरू सम्मिलित नयाँ परियोजनाहरू सार्वजनिक गरेका छन् ।
यस अन्तर्गत १२ सदस्य राष्ट्रहरू (बेल्जियम, क्यानडा, डेनमार्क, फिनल्याण्ड, ग्रीस, इटाली, लक्जेम्बर्ग, नेदरल्याण्ड्स, नर्वे, स्पेन, स्विडन र टर्की) सम्मिलित रक्षा–महत्त्वपूर्ण कच्चा पदार्थ सम्बन्धी बहुराष्ट्रिय पहल सुरु गरिएको छ ।
रुट्टका अनुसार, कुनै पनि सम्भावित अवरोध वा झट्काका बाबजुद नेटोको औद्योगिक आधार र आपूर्ति श्रृंखला सुरक्षित र लचिलो राख्न यो परियोजना महत्त्वपूर्ण हुनेछ । यसले महत्त्वपूर्ण सामग्री, पाटपुर्जाहरूको भण्डारण, ढुवानी, व्यवस्थापन र पुनः प्रयोगमा सहकार्य गर्नेछ । यसले सामूहिक सुरक्षामा ठूलो सहयोग पुर्याउनेछ ।
हाल विश्वको ९० प्रतिशतभन्दा बढी दुर्लभ खनिज पदार्थ र ग्यालियम जस्ता महत्त्वपूर्ण सामग्रीहरूको उत्पादन चीनले गर्छ जुन रेडार, मिसाइल मार्गनिर्देशन र इन्जिन जस्ता अत्याधुनिक सैन्य प्रणाली निर्माणमा अनिवार्य हुन्छ ।
बेइजिङले यी खनिजहरूलाई निर्यात नियन्त्रण र प्रविधि प्रतिबन्धमार्फत रणनीतिक हतियारको रूपमा प्रयोग गरिरहेको सन्दर्भमा नेटो र जी–७ राष्ट्रहरूले सन् २०३० सम्ममा चीन जस्ता एकल आपूर्तिकर्तामाथिको निर्भरतालाई ६० प्रतिशतभन्दा तल झार्ने र अन्ततः ५० प्रतिशतमा पुर्याउने लक्ष्य राखेका छन् ।
महासचिव रुट्टले रुसले आफ्नो राष्ट्रिय बजेटको आधा हिस्सा सैन्य क्षेत्रमा खन्याइरहेको र चीन, उत्तर कोरिया तथा इरानसँग मिलेर काम गरिरहेकोमा चिन्ता व्यक्त गरे । उनले नेटोलाई एउटा फुटबल टोलीसँग तुलना गर्दै कुनै पनि टोली एकजना खेलाडीको भरमा मात्र नजित्ने र सदस्य राष्ट्रहरूबीचको निकट सहकार्य नै जीतको आधार भएको बताए ।
‘चीनले आफ्नो परमाणु क्षमता र सेनाको आधुनिकीकरण गरिरहेको छ भने उत्तर कोरियाले रुसलाई हतियार आपूर्ति गरिरहेको छ,’ उनले भने, ‘यी देशहरूको बढ्दो सहकार्य हामी सबैका लागि चिन्ताको विषय हो । त्यसैले हामीलाई ट्रान्स–एट्लान्टिक रक्षा औद्योगिक क्रान्ति आवश्यक छ ।’
नेटो सदस्य राष्ट्रहरू सन् २०३५ सम्ममा आफ्नो कुल गार्हस्थ्य उत्पादनको ५ प्रतिशत हिस्सा रक्षा क्षेत्रमा खर्च गर्ने लक्ष्यका साथ अंकारामा भेला भएका हुन् जहाँ हतियार खरिद र सैन्य अन्तरसञ्चालनशीलता प्रमुख विषय बनेको छ । यसैबीच क्यानडाले आर्कटिक क्षेत्रमा चीन र रुसको बढ्दो सक्रियतालाई मध्यनजर गर्दै अर्बौं डलरको नयाँ पनडुब्बी परियोजनाका लागि दक्षिण कोरियाली कम्पनीलाई छाडेर जर्मनीको थाइसनक्रुप मरिन सिस्टम्सलाई छनोट गरेको छ ।
यसले सदस्य राष्ट्रहरूबीचको आपसी खरिद र सैन्य सहकार्यलाई थप बलियो बनाउने संकेत दिएको छ ।






प्रतिक्रिया