पानामा नहरका लागि अमेरिका र चीनबीच प्रतिस्पर्धा


एजेन्सी । अहिले विश्वको ध्यान पश्चिम एसियामा केन्द्रित छ । इरान र अमेरिकाबीचको तनाव र टर्कीमा भएको नेटोको पछिल्लो बैठकले सबैको ध्यान त्यता खिचेको छ ।

तर, पर्दापछाडि विश्वका दुई महाशक्ति राष्ट्रहरू अमेरिका र चीनबीचको वास्तविक र निर्णायक लडाइँ भने अर्कै ठाउँमा सुरु भइसकेको छ । त्यो ठाउँ हो पानामा नहर ।

हालै अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले एउटा छोटो तर गम्भीर बयान दिए, ‘चीनले पानामा नहरमा कहिल्यै आफ्नो स्वामित्व जमाउन पाउने छैन ।’ यो सुन्दा सामान्य लाग्न सक्छ तर यसको गहिराइ र समय निकै महत्त्वपूर्ण छ ।

सारा विश्व पश्चिम एसियामा चलिरहेको युद्ध हेरिरहेको बेलामा ट्रम्पको नजर भने हजारौं किलोमिटर टाढाको एउटा नहरमा किन छ त ? यसको उत्तर खोज्न विश्व राजनीतिको नयाँ चेस बोर्ड बुझ्न जरुरी छ ।

भौगोलिक रूपमा अमेरिकाको पूर्वमा आन्ध्र महासागर र पश्चिममा प्रशान्त महासागर छन् । एउटा अमेरिकी युद्धपोत एक महासागरबाट अर्कोमा जानु पर्यो भने उसँग दुईवटा विकल्प छन् । पहिलो, दक्षिण अमेरिकाको पूरै महादेश घुमेर जाने । त्यसो गर्दा हप्तौं लाग्छ । दोस्रो, पानामा नहरको छोटो बाटो प्रयोग गर्ने । त्यसले हप्तौंको यात्रालाई केही दिनमा खुम्च्याइदिन्छ ।

यस नहरकै कारण अमेरिकाले आफ्नो जलसेनालाई दुवै महासागरमा एकैसाथ शक्तिशाली राख्न सकेको छ । साथै, अमेरिकाको कुल आयात–निर्यातको करिब ४० प्रतिशत व्यापार यही बाटो भएर हुन्छ । यसर्थ, यो नहर अमेरिकाको लागि व्यापारिक मार्ग मात्र होइन, यसको राष्ट्रिय सुरक्षाको लाइफलाइन हो ।

विगत दुई दशकदेखि यस रणनीतिक नहरको दुवै किनारमा रहेका बन्दरगाहहरू हङकङस्थित सीके हचिसन नामक कम्पनीले सञ्चालन गर्दै आएको थियो । यो कम्पनी चीनसँग निकट मानिन्छ । शान्तिको समयमा यो कुरा कसैले वास्ता गरेनन् तर संकटको समयमा यो एउटा ठूलो हतियार बन्न सक्छ ।

बन्दरगाह जसको नियन्त्रणमा हुन्छ, उसले कुन जहाज कुन समयमा छिर्यो र के बोकेको छ भन्ने सबै विवरण राख्न सक्छ । आवश्यकता पर्दा जहाजको गति सुस्त बनाउन वा अवरोध सिर्जना गर्न सक्छ ।

यसलाई सरल भाषामा भन्दा तपाईंको आफ्नै घरको साँचो वर्षौंदेखि अपरिचित व्यक्तिको गोजीमा हुनु जस्तै थियो । ट्रम्पलाई बिझाएको मुख्य कुरा यही थियो ।

ट्रम्पले दबाब बढाएपछि पानामाको एउटा अदालतले उक्त चिनियाँ कम्पनीको सम्झौता रद्द गरिदियो । त्यसलगत्तै उक्त कम्पनीले पानामाका मात्र होइन, विश्वभरका आफ्ना ४३ वटा बन्दरगाहहरू २३ अर्ब डलरमा अमेरिकी कम्पनी ब्ल्याकरकको नेतृत्वमा रहेको समूहलाई बिक्री गर्न मञ्जुरी दियो ।

यो अमेरिकाको लागि ठूलो कूटनीतिक र आर्थिक विजय थियो । घरको साँचो अन्ततः मालिकको हातमा फिर्ता आउँदै थियो ।
तर, चीन यति सजिलै पछि हट्ने पक्षमा छैन । बेइजिङले यो बिक्रीलाई रोकिदिएको छ । उक्त कम्पनीले चीनमा पनि व्यापार गर्ने भएकाले यति ठूलो सम्झौताका लागि चीन सरकारको अनुमति चाहिने चीनको तर्क छ । त्यस्तो अनुमति उसले दिएको छैन ।

चीनले अहिले आफ्नो सरकारी कम्पनी कोस्कोलाई पनि उक्त खरिदकर्ता समूहमा सामेल गराउन खोजिरहेको छ ताकि उसको नियन्त्रण पूर्ण रूपमा समाप्त नहोस् ।

चीनका लागि यो दुईवटा बन्दरगाहको कुरा मात्र होइन । यो एउटा उदाहरण प्रस्तुत गर्ने कुरा हो । चीनले पानामाबाट बिना अवरोध हात झिक्यो भने विश्वभरि एउटा सन्देश जानेछ । त्यो के भने, अमेरिकाले दबाब दिएमा चीनको हातबाट बन्दरगाह खोस्न सकिन्छ ।

यस्तो भएमा ग्रीस, पाकिस्तान र श्रीलंकामा रहेका चिनियाँ नियन्त्रणका बन्दरगाहहरू पनि खतरामा पर्नेछन् । त्यसैले सी चिनपिङका लागि यो प्रतिष्ठाको लडाइँ पनि हो ।

चीनलाई राम्ररी थाहा छ, समुद्रमा उसले अमेरिकी जलसेनालाई हराउन सक्दैन । त्यसैले उसले बेल्ट एन्ड रोड मार्फत जमिनका नयाँ मार्गहरू खोलिरहेको छ । बेइजिङदेखि युरोपसम्म रेलमार्ग, पाइपलाइन र सडक सञ्जाल बिछ्याउनुको मुख्य उद्देश्य नै अमेरिकी नियन्त्रणमा रहेका सामुद्रिक नाकाहरू (जस्तै पानामा र हर्मुज) को महत्त्व घटाउनु हो । एउटा विमानवाहक जहाजले रेलमार्ग रोक्न सक्दैन ।

२१औं शताब्दीको महाशक्तिशाली संघर्ष जमिन कब्जा गर्नका लागि होइन, बाटो कब्जा गर्नका लागि भइरहेको छ । विश्व व्यापार जुन बाटोबाट हिँड्छ, त्यसलाई नियन्त्रण गर्नेले नै विश्व शासन गर्छ । पैसा, नियम र भविष्य— सबै उसैले निर्धारण गर्छ ।

आज सबैले हर्मुज जलयोजकतिर हेरिरहेका छन् किनभने त्यहाँ आगो बलिरहेको छ । तर, पानामामा भने एउटा शान्त तर निकै गहिरो युद्ध चलिरहेको छ जसले आगामी दशकको विश्व व्यवस्था कस्तो हुनेछ भन्ने कुराको फैसला गर्नेछ ।