एनभिडिया र ह्वावेमाथिको निर्भरता घटाउन चिनियाँ स्टार्टअप डीपसीकले आफ्नै एआई चिप विकास गर्दै


एजेन्सी । चिनियाँ एआई स्टार्टअप डीपसीकले आफ्नै एआई चिप विकास गरिरहेको छ ।

यस मामिलासँग परिचित तीन व्यक्तिहरूका अनुसार, यस कदमले एनभिडिया र ह्वावेका चिपहरूमाथिको कम्पनीको निर्भरता घटाउने उद्देश्य राखेको छ । डीपसीकले हालसम्म आफ्ना विश्वप्रसिद्ध मोडलहरूलाई तालिम दिन र सञ्चालन गर्न यिनै कम्पनीका चिपहरू प्रयोग गर्दै आएको छ ।

यो नयाँ चिप मुख्यतया इन्फरेन्सका लागि डिजाइन गरिएको हो । त्यो एआई कम्प्युटिङको त्यस्तो चरण हो जहाँ तालिम प्राप्त मोडलले प्रयोगकर्ताका प्रश्नहरूको जवाफ उत्पन्न गर्छ । यो चिप नयाँ मोडलहरूलाई तालिम दिनका लागि भने प्रयोग गरिने छैन ।

यो प्रयास सफल भएमा सेमिकन्डक्टर विकासमा डीपसीकको प्रवेशले कम्पनीको रणनीतिमा ठूलो परिवर्तन ल्याउनेछ । चीनमा एआई च्याम्पियनका रूपमा चिनिएको यस कम्पनीको यो कदमले चिनियाँ प्रविधि क्षेत्रको दिग्गज ह्वावेका लागि चुनौती थप्न सक्छ ।

डीपसीकले करिब एक वर्षअघि दुईवटा अत्यन्तै प्रभावकारी एआई मोडलहरू सार्वजनिक गरेपछि विश्वव्यापी चर्चा कमाएको थियो जसले सिलिकन भ्याली र वाशिङटनलाई समेत चकित तुल्याएको थियो । कम्पनी लामो समयदेखि आफ्नो प्रविधिलाई व्यापारीकरण गर्नुभन्दा एआई मोडलहरूमा नयाँ आविष्कार र सफलता हासिल गर्नमा केन्द्रित रहँदै आएको छ ।

ह्वावेका उत्पादनहरू अझै पनि एनभिडियाका अत्याधुनिक चिपहरूको तुलनामा धेरै पछि छन् । तर, अमेरिकाले चीनमा चिप निर्यातमा लगाएको प्रतिबन्धका कारण ह्वावेले ५० अर्ब डलरको आन्तरिक एआई चिप बजारको करिब आधा हिस्सा ओगट्न सफल भएको छ । उसले डीपसीक र अन्य प्रमुख चिनियाँ कम्पनीहरूलाई चिप आपूर्ति गर्दै आएको छ ।

तर, अलिबाबा र बाइडु जस्ता प्रतिस्पर्धीहरूले आफ्नै एआई चिपहरू विकास गरेसँगै बजारमा ह्वावेको पकड केही कमजोर हुन थालेको छ ।

आफ्नै चिप बनाउने डीपसीकको यो प्रयास अझै प्रारम्भिक चरणमा रहेको छ । कम्पनीले हाल बाह्य साझेदारहरू खोजिरहेको छ र चिप डिजाइन, फाउन्ड्री तथा मेमोरी कम्पनीहरूसँग छलफल गरिरहेको छ ।

यो प्रक्रिया करिब एक वर्ष अघिदेखि सुरु भएको स्रोतले बताएको छ । हाङ्चाउमा मुख्यालय रहेको यस कम्पनीले पछिल्ला महिनाहरूमा चिप डिजाइन इन्जिनियरहरूको भर्ना पनि बढाएको छ तर यो भर्ना प्रक्रिया सार्वजनिक सूचना जारी नगरी व्यक्तिगत र गोप्य रूपमा भइरहेको छ ।

यो सूचना सार्वजनिक नभएका कारण जानकारी दिने व्यक्तिहरूले आफ्नो परिचय खुलाउन चाहेनन् । चीनको एआई महत्त्वाकांक्षाको संवाहक बने पनि डीपसीकले आफ्नो गतिविधिलाई गोप्य राख्दै आएको छ ।

आफ्नै चिप विकास गरेर डीपसीकले विश्वका अन्य ठूला एआई विकासकर्ताहरूको पदचाप पछ्याउन खोजेको छ जसले हार्डवेयरमा आफ्नै नियन्त्रण राख्न र एनभिडियामाथिको निर्भरता घटाउन चाहन्छन् । रोयटर्सका अनुसार, गत महिना ओपनएआईले ब्रोडकमसँग मिलेर जालापेनो नामक आफ्नो पहिलो कस्टम इन्फरेन्स चिप सार्वजनिक गरेको थियो भने एन्थ्रोपिकले पनि आफ्नै चिप बनाउने योजना बुनिरहेको छ ।

डीपसीकका लागि यस प्रयासको रणनीतिक महत्त्व झन् बढी छ । अमेरिकी निर्यात नियन्त्रणका कारण चिनियाँ कम्पनीहरूले एनभिडियाका अत्याधुनिक चिपहरू किन्न पाउँदैनन् । त्यसले गर्दा बेइजिङले आफ्ना प्रविधि कम्पनीहरूलाई स्वदेशी विकल्पहरू तयार गर्न दबाब दिइरहेको छ ।

डीपसीकका संस्थापक लियाङ वेनफेङले सन् २०२४ मा एक चिनियाँ सञ्चारमाध्यमलाई दिएको दुर्लभ अन्तर्वार्तामा चिप निर्यात नियन्त्रण कम्पनीका लागि ठूलो चुनौती भएको स्वीकार गरेका थिए । डीपसीकले हालसम्म एनभिडिया र ह्वावे दुवैका चिपहरू प्रयोग गर्दै आएको छ ।

कम्पनीको आर१ मोडलको कम लागत र उच्च कार्यक्षमताका कारण सन् २०२५ को जनवरीमा अमेरिकी प्रविधि सेयरहरूमा गिरावट आएको थियो । त्यो एनभिडियाको एच८०० चिपमा तालिम दिइएको थियो । वाशिङटनले पछि सो चिपमा पनि प्रतिबन्ध लगाएको थियो ।

त्यसपछि कम्पनीले ह्वावेका चिपहरूमा बढी जोड दिन थाल्यो र आफ्ना मोडलहरूलाई ह्वावेको एसेन्ड चिपका लागि अनुकूल बनायो ।

डीपसीकको इन्फरेन्स चिपले एआई कम्प्युटिङको सबैभन्दा तीव्र गतिमा बढिरहेको क्षेत्रलाई लक्षित गर्नेछ । एआईको प्रयोग बढ्दै जाँदा उद्योगको ध्यान मोडललाई तालिम दिनबाट हटेर ती मोडलहरू सञ्चालन गर्नमा केन्द्रित हुँदै गएको छ जसका लागि सामान्य प्रयोगका जीपीयूभन्दा सस्तो र कम बिजुली खपत गर्ने विशेष चिपहरूको आवश्यकता पर्छ ।

तर, यो बाटोमा सफलताको ग्यारेन्टी भने छैन । प्रतिस्पर्धी एआई चिप डिजाइन गर्न वर्षौंको समय र ठूलो पुँजी आवश्यक पर्छ । साथै, उत्पादनको क्षेत्रमा पनि ठूला अवरोधहरू छन् किनभने अमेरिकाले चिनियाँ डिजाइनरहरूलाई उन्नत विदेशी फाउन्ड्री र हाई–ब्यान्डविथ मेमोरीमा पहुँच पाउनबाट रोक लगाएको छ ।

यस्तो कठिन समयमा डीपसीकले वर्षौंदेखिको आफ्नो अडान बदल्दै पहिलोपटक बाह्य पुँजी स्वीकार गर्न लागेको छ । कम्पनीले करिब ७ अर्ब डलर संकलन गर्ने तयारी गरिरहेको छ जसले गर्दा यसको कुल मूल्यांकन ५२ अर्बदेखि ५९ अर्ब डलरको बीचमा पुग्ने अनुमान गरिएको छ ।