पाँच चालक दलका सदस्यसहितको पाकिस्तानी कार्गो विमान समुद्रमा खसेको आशंका


एजेन्सी । यूएईको शारजाहबाट पाकिस्तानको कराँचीका लागि उडेको पाँचजना चालक दलका सदस्य सवार पाकिस्तानमा दर्ता भएको बोइङ ७३७ कार्गो विमान मंगलबार राति नेभिगेसन प्रणालीमा समस्या आएको जानकारी गराएलगत्तै एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्कविहीन भएको पाकिस्तानको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

उडान ट्य्राकिङ सेवा फ्लाइटरेडार२४ का अनुसार, के२ एयरवेजद्वारा सञ्चालित २७ वर्ष पुरानो उक्त मालवाहक विमान उचाइमा आएका तीव्र उतारचढाव र भयानक गिरावटपछि कराँचीको दक्षिण–पश्चिममा रहेको समुद्रमा खसेको प्रारम्भिक तथ्यांकले देखाएको छ ।

बेपत्ता विमानको खोजीका लागि विभिन्न निकायहरूमार्फत समुद्रमा समन्वयात्मक खोजी तथा उद्धार कार्य सुरु गरिएको पाकिस्तान एयरपोर्ट्स अथोरिटीले फेसबुकमार्फत जानकारी दिएको छ ।

विमानले पाकिस्तानको मानक समयअनुसार राति ९ः१८ बजे कराँची तर्फ उडिरहेका बेला नेभिगेसन प्रणालीमा समस्या आएको रिपोर्ट गरेको थियो । स्थानीय एयर ट्राफिक कन्ट्रोलले विमानलाई मार्गदर्शन गर्ने प्रयास गरे पनि तीन मिनेटपछि रेडार प्रणालीले विमान तीव्र गतिमा तल झरेको देखायो र त्यसपछि सञ्चार सम्पर्क विच्छेद भएको प्राधिकरणले जनाएको छ ।

विज्ञप्तिअनुसार, उक्त समयमा विमान कराँचीबाट करिब १५५ नटिकल माइल (२८७ किलोमिटर) पश्चिममा थियो । विमान पाकिस्तानको बलुचिस्तानस्थित ओर्मारा नजिकै अरब सागरमा उडिरहेका बेला बेपत्ता भएको स्थानीय सञ्चारमाध्यम जियो न्यूजले रिपोर्ट गरेको छ ।

फ्लाइटरेडार२४ का अनुसार तथ्यांकले विमानले पहिले उचाइ गुमाएको, त्यसपछि केही समयका लागि पुनः माथि चढेको र लगत्तै दोस्रोपटक अचानक र नाटकीय रूपमा तल खसेको देखाएको छ । विमानबाट प्राप्त अन्तिम तथ्यांकले यो समुद्री सतहबाट ११ सय फिट माथि रहेको र प्रति मिनेट २२ हजार ४०० फिटको असामान्य र तीव्र दरमा तल खसिरहेको देखाएको थियो ।

यो बोइङ ७३७–४०० विमान निजी कार्गो एयरलाइन के२ एयरवेजको एकमात्र विमान हो । यसले सन् २०२४ देखि मात्र सो कम्पनीमा सेवा सुरु गरेको थियो । यो विमान सन् १९९९ मा सुरुमा रुसको एरोफ्लोटमा यात्री विमानको रूपमा सञ्चालन भएको थियो र सन् २०१२ मा यसलाई मालवाहक विमानमा परिवर्तन गरिएको फ्लाइटरेडार२४ ले जनाएको छ ।