सिलभाना टेनरेरो अन्तर्राष्ट्रिय मुद्रा कोषको नयाँ मुख्य अर्थशास्त्री नियुक्त


एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रमुख क्रिस्टालिना जर्जिएभाले एक विज्ञप्ति जारी गर्दै सिलभाना टेनरेरोलाई संस्थाको आगामी आर्थिक परामर्शदाता तथा अनुसन्धान विभागको निर्देशकमा नियुक्त गरिएको जानकारी दिएकी छन् । उनले पियरे–ओलिभर गोरिन्चासको स्थान लिनेछिन् । गोरिन्चास पुनः प्राज्ञिक क्षेत्रमा फर्किएका छन् ।

टेनरेरोले आगामी १० अगस्टदेखि आईएमएफको नयाँ आर्थिक परामर्शदाता र अनुसन्धान विभागको निर्देशकका रूपमा आफ्नो कार्यभार सम्हाल्नेछिन् ।

नयाँ नियुक्तिको घोषणा गर्दै जर्जिएभाले विश्व अर्थतन्त्रमा गहिरो रूपान्तरण र बढ्दो अनिश्चितता देखिएको वर्तमान समयमा सिलभानाको बौद्धिक नेतृत्व र नीतिगत अनुभवले विशेष महत्त्व राख्ने बताइन् । उनका अनुसार, टेनरेरोको आगमनले आईएमएफको विश्लेषणात्मक कार्य, बहुपक्षीय निगरानी र नीतिगत सल्लाहलाई सदस्य राष्ट्रहरूको हितका लागि अझ प्रभावकारी र अत्याधुनिक बनाउन मद्दत पुग्नेछ ।

सिलभाना टेनरेरो लन्डन स्कूल अफ इकोनोमिक्समा अर्थशास्त्रकी जेम्स ई. मिड प्राध्यापक हुन् । त्यहाँ उनी सन् २००४ देखि प्राध्यापन पेशामा आबद्ध छिन् । उनका अनुसन्धानहरू विश्वका प्रतिष्ठित प्राज्ञिक जर्नलहरूमा प्रकाशित हुनुका साथै उनले यर्यो जानसन अवार्ड, बर्नहार्ड हार्स प्राइज र बिर्गिट ग्रोडाल अवार्ड जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मानहरू समेत प्राप्त गरेकी छन् ।

उनी ब्रिटिश एकेडेमी, इकोनोमेट्रिक सोसाइटी र रोयल इकोनोमिक सोसाइटीको फेलो हुनुका साथै अमेरिकन इकोनोमिक एसोसिएसनको विदेशी मानार्थ सदस्य पनि हुन् । उनले यसअघि युरोपियन इकोनोमिक एसोसिएसनको अध्यक्षको रूपमा समेत कार्यभार सम्हालिसकेकी छन् ।

आफ्नो व्यावसायिक करियरका क्रममा उनले सन् २०१७ देखि २०२३ सम्म बैंक अफ इंग्ल्यान्डको मौद्रिक नीति समितिको बाह्य सदस्यको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । टेनरेरोले फेडरल रिजर्भ बैंक अफ बोस्टनमा अर्थशास्त्रीको रूपमा काम गर्नुका साथै बैंक अफ मरिससको मौद्रिक नीति समितिमा पनि सदस्यको रूपमा अनुभव बटुलेकी छन् ।

हाल उनी आईएमएफका प्रबन्ध निर्देशकको बाह्य सल्लाहकार समूहको हिस्सा हुन् र विभिन्न अग्रणी सार्वजनिक तथा निजी संस्थाहरूलाई आर्थिक र वित्तीय मुद्दाहरूमा परामर्श दिँदै आएकी छन् ।

अर्जेन्टिना, बेलायत र इटालीको त्रिपक्षीय नागरिकता रहेकी टेनरेरोले अर्जेन्टिनाको नेशनल युनिभर्सिटी अफ टुकुमानबाट स्नातक तहको अध्ययन पूरा गरेकी थिइन्। त्यसपछि उनले विश्वप्रसिद्ध हार्वर्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र विद्यावारिधि (पीएचडी) हासिल गरेकी थिइन्।