मध्यपहाडी राजमार्गको सित्खा खोला पुल निर्माणको ठेक्का रद्द


काठमाडौं । पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, सिख्खा, रामेछापले काममा चरम लापरबाही गर्ने ठेकेदार कम्पनीसँगको सम्झौता रद्द गरेको छ ।

लामो समयदेखि निर्माण कार्य अलपत्र पारेको र सम्पर्कविहीन भएको भन्दै कार्यालयले ‘खाम्पाचे–नील जेभी’ सँगको ठेक्का तोडेको हो ।

कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै रामेछाप जिल्लाको खुर्कोट/सेलेघाट–राकाथुम खण्ड अन्तर्गत सित्खा खोलामा ३५ मिटर लामो प्रि-स्ट्रेस्ड पुल निर्माणको ठेक्का रद्द गरिएको जानकारी दिएको छ ।

आयोजनाका अनुसार निर्माण व्यवसायीलाई पटक–पटक मौखिक तथा लिखित रूपमा काम सुचारु गर्न पत्राचार गरिएको थियो । गत फागुन १० गते सार्वजनिक सूचनामार्फत स्पष्टीकरण सोधिए पनि ठेकेदारले कुनै चासो देखाएनन् ।

सम्झौता अनुसार काम नगरेको, निर्माण स्थल अलपत्र छाडेको र ‘फन्डामेन्टल ब्रीच अफ कन्ट्रयाक्ट’ (सम्झौताको गम्भीर उल्लंघन) गरेको ठहर गर्दै सार्वजनिक खरिद ऐन २०६३ बमोजिम ठेक्का अन्त्य गरिएको योजना प्रमुखले बताएका छन् ।

ठेक्का रद्द भएसँगै कार्यालयले हालसम्म भएको कामको नापजाँच र वित्तीय फरफारकका लागि निर्माण व्यवसायीलाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

यदि तोकिएको समयभित्र ठेकेदार उपस्थित नभएमा कार्यालयले नियमानुसार प्रक्रिया स्वतः अगाडि बढाउने चेतावनी समेत दिएको छ ।

ठेक्का रद्द भएसँगै अब प्रचलित ऐन/नियम बमोजिम बाँकी काम अघि बढाउने र ‘पोस्ट टर्मिनेशन’ का प्रक्रियाहरू सुरू गरिने सूचनामा उल्लेख छ ।