
काठमाडौं । घैला ब्रान्डको तोरीको तेल बेच्ने चन्द्र शिव राइस एन्ड आयल मिल्सले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा १ अर्ब ८ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीको कारोबार गत आवमा २७ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीले गत आवमा १ अर्ब ८ करोड ७० लाख रुपैयाँ, सन् २०२४ मा ८५ करोड ७० लाख रुपैयाँ, सन् २०२३ मा ७६ करोड ७० लाख रुपैयाँ र सन् २०२२ मा ९५ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो ।
त्यस्तै कम्पनीको समग्र कारोबार सन् २०२१ देखि २०२५ सम्ममा वार्षिक १० प्रतिशतले वृद्धि भएको उल्लेख छ । कम्पनीले सन् २०२२ देखि २०२५ सम्ममा ४ प्रतिशतदृखि ७ प्रतिशतसम्ममा नाफा मार्जिन गरेको जनाएको छ । त्यसैगरी कम्पनीले गत आवमा १.६८ प्रतिशत खुद नाफा कमाएको छ । कम्पनीको कुल नगद सञ्चिति सकारात्मक छ ।
कम्पनीको पुँजी संरचना मध्यम स्तरको ऋणमा आधारित रहेको छ । गत आवसम्ममा कम्पनीको समग्र गियरिङ अनुपात २.९८ गुणा रहेको छ । सन् २०२४ मा १.६७ गुणा थियो । कम्पनीले निर्माणाधिन तोरीको तेल उत्पादन युनिटका लागि आवश्यक ऋण बढाएकाले अनुपात बढेको हो ।
कम्पनीको कुल बाह्य दायित्व/ट्यान्जिबल नेटवर्थ पनि सन् २०२४ को तुलनामा बढेको छ । सन् २०२४ मा १.७९ गुणा रहेकोमा गत आवमा बढेर ३.०४ पुगेको छ । कम्पनीको ब्याज कभरेज अनुपात १.८० गुणाबाट सुधार भई २.५८ गुणा पुगेको छ ।
त्यस्तै, कम्पनीको चालु आवको ९ महिनाको अवधिमा समग्र गियरिङ अनुपात २.७३ गुणा रहेको छ ।
कुल बाह्य दायित्व/ट्यान्जिबल नेट वर्थ २.८२ गुणा रहेको छ । कम्पनीको खुद सम्पत्ति बढेर २४ करोड रुपैयाँ पुगेको छ । साथै, कम्पनीको सञ्चालन नाफामा भएको वृद्धिका कारण ब्याज कभरेज अनुपात सुधार भई ५.८० गुणा पुगेको छ ।
कम्पनीले विराटनगरमा नयाँ तोरीको तेल प्रशोधन गर्ने युनिट निर्माण गरिरहेका छ । कम्पनीले ४ विघा क्षेत्रफलमा उक्त युनिट निर्माण गरिरहेको हो । कम्पनीले आफ्नो क्षमता विस्तारका लागि २९ करोड ४० लाख रुपैयाँ लागतमा युनिट निर्माण अगाडि बढाएको छ । कम्पनीले युनिट निर्माण गर्न ऋण–इक्विटी ७८ः२२ लगानीको अनुपात राखेको छ ।
गत जेठसम्ममा कम्पनीले ७६ प्रतिशत वित्तीय प्रगति गरिसकेको छ । कम्पनीले सन् २०२७ देखि कारोबार सुरु गर्ने योेजना बनाएको छ ।
सन् १९६० मा स्थापना भएको कम्पनी कोशी प्रदेशको सबैभन्दा पुरानो कम्पनी हो । कम्पनीले तोरीको तेल प्रशोधन गरी घैला ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । वार्षिक ९ हजार मेट्रिक टन क्षमता रहेको कम्पनीले भारत, अष्ट्रेलिया र युक्रेनबाट तोरीको दाना आयात गरी आयल एक्सपेलर मेसिन तथा काठको घानीमा प्रशोधन गर्दै आएको छ । कम्पनीले तोरीको तेलसँगै त्यसबाट उत्पादन हुने तोरीको पीना पनि बिक्री वितरण गर्दै आएको छ ।
गत आवसम्ममा कम्पनीको चुक्ता पुँजी ८ करोड ५० लाख रुपैयाँ थियो । उक्त चुक्ता पुँजी चार जनाको नाममा रहेको छ । सन्तोषप्रसाद रिजाल। शुशीलप्रसाद रिजाल, हरिबंश राठी र नरेश राठीको २५/२५ प्रतिशत स्वामित्व छन् ।
सन्तोषप्रसाद रिजाल अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८३ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३५ करोड २० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४८ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको हो ।






प्रतिक्रिया