
एजेन्सी । चीनले प्रशान्त महासागरमा आणविक पनडुब्बीबाट ब्यालिस्टिक मिसाइलको दुर्लभ परीक्षण गरेर समुद्रमा आधारित आणविक क्षमतालाई प्रदर्शन गरेको छ । बेइजिङको यस कदमले उक्त क्षेत्रका देशहरूलाई आफ्नो सुरक्षाका लागि रक्षा सम्बन्ध अझ सुदृढ बनाउन र बेइजिङको प्रभावबाट टाढा रहन बाध्य पार्ने देखिएको छ ।
चिनियाँ जनमुक्ति सेना (पीएलए) को जलसेनाले सोमबार दिउँसो १२ः०१ बजे नक्कली हतियार बोकेको मिसाइल अन्तर्राष्ट्रिय जलक्षेत्रतर्फ प्रहार गरेको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । मिसाइल तोकिएको जलक्षेत्रमा ठ्याक्कै खसेको र यो कुनै विशेष देशलाई लक्षित नगरी गरिएको चीनको नियमित सैन्य तालिमको हिस्सा भएको बताइएको छ ।
सेप्टेम्बर २०२४ मा फ्रान्सेली पोलिनेसिया नजिकै आणविक क्षमतायुक्त अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल (आईसीबीएम) प्रहार गरेपछिको यो पहिलो रणनीतिक मिसाइल परीक्षण हो । ४० वर्षपछि गरिएको उक्त पहिलो आईसीबीएम परीक्षणपछि गरिएको यो अर्को ठूलो शक्ति प्रदर्शन हो । विश्लेषकहरूका अनुसार, यस परीक्षणले क्षेत्रीय शक्तिहरूलाई चीनको प्रभावमा ल्याउनुको साटो यसको बढ्दो सैन्य शक्तिलाई सामना गर्न एकअर्कासँग रक्षा सहकार्य अझ गहिरो बनाउन प्रेरित गर्नेछ ।
इन्डो–प्यासिफिक सुरक्षा मामिलाका पूर्व अमेरिकी सहायक रक्षा सचिव एली रटनरले बेइजिङको यो आक्रामक व्यवहारले एसियाका अमेरिकी सहयोगीहरूलाई अझ नजिक ल्याउने बताएका छन् । यस परीक्षणले आणविक शक्तिसहित चीनको सैन्य आधुनिकीकरणको गति र स्तरलाई उजागर गरेको उनको तर्क छ ।
यस्तै, युरेसिया ग्रुपका वरिष्ठ विश्लेषक जेरेमी च्यानले चीनको सैन्य आधुनिकीकरण र विस्तारित शस्त्रागारले पहिले नै क्षेत्रीय सरकारहरूलाई सशंकित बनाइरहेको र यस परीक्षणले ती चिन्ताहरूलाई थप बल पुर्याउने उल्लेख गरेका छन् ।
च्यानका अनुसार, चीनले यस मिसाइल प्रक्षेपणको प्रयोग मुख्यतया आफ्नो सेकेन्ड स्ट्राइक (प्रत्याक्रमण) आणविक क्षमताको प्रदर्शन गर्न गरेको हो । सन् २०२४ को जमिनबाट गरिएको प्रक्षेपणपछि यो समुद्रमा आधारित परीक्षण भएको र सम्भवतः अर्को परीक्षण हावाबाट प्रहार गरिने मिसाइलको हुने उनको अनुमान छ ।
यसका कारण अस्ट्रेलिया, न्युजिल्यान्ड, जापान र फिलिपिन्स जस्ता देशहरूबीच संयुक्त तालिम, हतियार बिक्री र रक्षा खर्चमा थप सहकार्य हुने अपेक्षा गरिएको छ ।
बेइजिङले वर्षौंदेखि जमिन, हावा र समुद्रबाट आणविक हतियार प्रहार गर्न सक्ने न्युक्लियर ट्रायड क्षमता विकास गरिरहेको छ । यस्तो शस्त्रागारले अमेरिका र यस क्षेत्रका कुनै पनि सम्भावित द्वन्द्वमा चीनको स्थितिलाई बलियो बनाउनेछ । हाल परीक्षण गरिएको मिसाइलको प्रकार स्पष्ट नभए तापनि चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले यो सम्भवतः जेएल–३ मिसाइल भएको बताएको छ ।
यो चीनको सबैभन्दा उन्नत पनडुब्बीबाट प्रहार गरिने मिसाइल हो जसले चीनको तटबाटै अमेरिकाको मुख्य भूमिसम्म प्रहार गर्ने क्षमता राख्छ ।
चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता चेन सीले यस परीक्षणले आफ्नो लक्ष्य हासिल गरेको र छिमेकी देशहरूलाई यसबारे अग्रिम जानकारी दिइएको बताएका छन् । उनले बेइजिङले आफ्नो आणविक शक्तिलाई राष्ट्रिय सुरक्षाका लागि आवश्यक न्यूनतम स्तरमा मात्र राखेको र कुनै पनि देशसँग आणविक हतियारको दौडमा सामेल नहुने दाबी गरेका छन् ।
तर, विश्लेषकहरूका अनुसार, यस परीक्षणले छिमेकी देशहरूमा चिन्ता पैदा गरे तापनि आफ्नो शक्ति प्रदर्शन गर्ने बेइजिङको दृढ संकल्पलाई स्पष्ट पारेको छ ।
अस्ट्रेलियाली विदेशमन्त्री पेनी वोङले यस प्रक्षेपणलाई क्षेत्रीय स्थिरतामा खलल पुर्याउने कार्यको रूपमा वर्णन गरेको छ भने न्युजिल्यान्डका विदेशमन्त्री विन्स्टन पिटर्सले यो बेइजिङको उस्तै प्रकृतिको आक्रामक प्रवृत्ति भएको चेतावनी दिएको छ ।
अमेरिकाको विदेश मन्त्रालयले पनि यसको निन्दा गर्दै चीनको अपारदर्शी आणविक हतियार निर्माण विश्वका लागि ठूलो चिन्ताको विषय भएको बताएको छ । कोर्नेल विश्वविद्यालयका सैन्य इतिहासकार डेभिड सिल्बेले यो प्रक्षेपण प्रशान्त क्षेत्रमा चीनले आफ्नो प्रभाव जमाउन खोज्ने आक्रामक शैलीको हिस्सा भएको बताएको छ ।
एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटका वरिष्ठ फेलो लायल मोरिसका अनुसार, चीनको हिसाबमा पूर्ण आणविक ट्रायड निर्माण गर्नुको फाइदा यसबाट हुने कूटनीतिक क्षतिभन्दा बढी छ । क्षेत्रीय असन्तुष्टिको जोखिम मोलेरै भए पनि यसले चीनको प्रतिरोधात्मक क्षमता बढाएको उनको तर्क छ ।
यसैबीच, फिजी र अस्ट्रेलियाले सोमबार एक पारस्परिक रक्षा सन्धिमा हस्ताक्षर गरेका छन् जसले सुरक्षा खतराको अवस्थामा दुवै देशलाई मिलेर सामना गर्न बाध्य पार्छ । क्यानबेराले प्रशान्त टापु राष्ट्रहरूसँग रक्षा सम्झौतामार्फत चीनको बढ्दो सुरक्षा प्रभावलाई रोक्ने प्रयास गरिरहेको छ ।
गत हप्ता भानुआटुले आफ्नो क्षेत्रमा विदेशी सैन्य आधारहरू राख्न नदिने विषयमा अस्ट्रेलियासँग सहमति जनाएको छ जसलाई चीन लक्षित कदमको रूपमा हेरिएको छ । चीनको नजिकको सुरक्षा साझेदार मानिने सोलोमन टापुले पनि अस्ट्रेलियासँग नयाँ सन्धिको वार्ता गरिरहँदा चीनसँगको सुरक्षा सम्झौताको समीक्षा गर्ने बताएको छ ।
अस्ट्रेलियन नेशनल युनिभर्सिटीका प्रोफेसर जोन ब्ल्याक्सल्यान्डका अनुसार, यो शक्ति प्रदर्शनले छिमेकी राष्ट्रहरूलाई चीन कठोर रूपमा प्रस्तुत हुन तयार छ भन्ने सन्देश दिन्छ जसले गर्दा उनीहरू सुरक्षा सहकार्यका लागि अस्ट्रेलियाको प्रस्तावमा अझ बढी आकर्षित हुन सक्छन् ।






प्रतिक्रिया