रोनाल्डोलाई नफापेको विश्वकप: कीर्तिमान धेरै, सपना अधुरै

56
Shares

एजेन्सी । विश्व फुटबलका महान खेलाडीमध्ये एक क्रिस्टियानो रोनाल्डोको करियरमा लगभग सबै ठूला उपलब्धि छन् । पाँच पटकको बालोन डी’ओर, युरोपियन च्याम्पियनसिपको उपाधि, यूईएफए नेसन्स लिगको सफलता, क्लब फुटबलमा सयौं गोल र अनगिन्ती कीर्तिमान । तर एउटा उपलब्धि भने उनको करियरभर अधुरै रह्यो—फिफा विश्वकपको उपाधि ।

सन् २००६ देखि २०२६ सम्म लगातार ६ वटा विश्वकप खेलेका रोनाल्डो विश्वकप इतिहासमा ६ वटा संस्करणमा खेल्ने पहिलो पुरुष खेलाडी बने । त्यति मात्र होइन, उनले ६ वटै विश्वकपमा गोल गर्ने विश्वकै पहिलो खेलाडीको कीर्तिमान पनि बनाए । तर व्यक्तिगत कीर्तिमानहरूका बीच उनको सबैभन्दा ठूलो सपना विश्वकप ट्रफी भने कहिल्यै हात परेन ।

२००६ विश्वकप : युवा रोनाल्डोको उदय, पोर्चुगल ४० वर्षपछि सेमिफाइनल

जर्मनीमा भएको २००६ विश्वकप २१ वर्षीय क्रिस्टियानो रोनाल्डोको पहिलो विश्वकप थियो । त्यतिबेला उनी म्यानचेस्टर युनाइटेडबाट उदाउँदै गरेका खेलाडीका रूपमा चिनिन थालेका थिए । टोलीमा लुइस फिगो, डेको, रिकार्डो कार्भाल्हो र पाउलेटाजस्ता अनुभवी खेलाडी थिए भने रोनाल्डो नयाँ पुस्ताका सबैभन्दा ठूलो आशा थिए ।

समूह चरणको पहिलो खेलमा पोर्चुगलले अंगोलालाई १–० ले हराउँदा रोनाल्डोले पूरा प्रभाव छोड्न नसके पनि दोस्रो खेलमा इरानविरुद्ध पेनाल्टीमार्फत आफ्नो पहिलो विश्वकप गोल गरे । त्यसपछि मेक्सिकोविरुद्ध विश्राम पाए ।

अन्तिम १६ मा नेदरल्यान्ड्सविरुद्धको निकै विवादास्पद खेलमा उनले चोटका कारण पहिलो हाफमै मैदान छाड्नुपरेको थियो । उक्त खेलमा १६ वटा पहेंलो कार्ड र ४ वटा रातो कार्ड देखाइएकाले त्यसलाई ‘न्युरेम्बर्गको ऐतिहासिक विवादित खेल’
भनेर चिनिन्छ ।

क्वार्टरफाइनलमा इंग्ल्यान्डविरुद्धको खेलमा उनले पेनाल्टी सुटआउटमा निर्णायक गोल गर्दै पोर्चुगललाई सेमिफाइनल पुर्याए । त्यस खेलपछि वार्यन रुनीसँगको घटनाले विश्वभर चर्चा पाएको थियो ।

सेमिफाइनलमा फ्रान्ससँग १–० ले पराजित भएपछि पोर्चुगलको उपाधि सपना समाप्त भयो । तेस्रो स्थानको खेलमा जर्मनीसँग ३–१ ले हार्दै पोर्चुगल चौथो भयो। रोनाल्डोले प्रतियोगिताभर ६ खेल खेल्दै १ गोल गरे ।

२०१० विश्वकप : कप्तानको जिम्मेवारी, तर अपेक्षाअनुसार प्रदर्शन हुन सकेन

दक्षिण अफ्रिकामा भएको विश्वकपमा रोनाल्डो पहिलो पटक पोर्चुगलका कप्तानका रूपमा मैदान उत्रिए । त्यसबेला उनी विश्वकै उत्कृष्ट खेलाडीमध्ये एक भइसकेका थिए र टोली उनीमाथि अत्यधिक निर्भर थियो ।

आइभरी कोस्टसँग गोलरहित बराबरीबाट सुरुआत गरेको पोर्चुगलले उत्तर कोरियालाई ७–० ले हराउँदा रोनाल्डोले एक गोल र एक असिस्ट गरे । त्यो गोल उनको विश्वकपमा चार वर्षपछि आएको दोस्रो गोल थियो । त्यसपछि ब्राजिलसँग गोलरहित बराबरी खेल्दै पोर्चुगल अन्तिम १६ मा पुग्यो ।

तर नकआउट चरणमा पछि विश्वविजेता बनेको स्पेनसँग १–० ले हार बेहोर्दै पोर्चुगल बाहिरियो । स्पेनले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेपछि रोनाल्डोले अवसर नै कम पाए । प्रतियोगिताभर उनले ४ खेलमा १ गोल मात्र गर्न सके। व्यक्तिगत रूपमा उनको प्रदर्शन औसत रह्यो भने टोली पनि अपेक्षाभन्दा अघि बढ्न सकेन ।

२०१४ विश्वकप : चोटसँग संघर्ष, समूह चरणमै निराशाजनक अन्त्य

ब्राजिल विश्वकप रोनाल्डोका लागि सबैभन्दा कठिन प्रतियोगिता बन्यो । प्रतियोगिताअघि नै घुँडाको चोटले उनलाई सताइरहेको थियो। चिकित्सकहरूले पूर्ण आरामको सुझाव दिए पनि उनले देशका लागि विश्वकप खेल्ने निर्णय गरे ।

पहिलो खेलमा पोर्चुगल जर्मनीसँग ४–० ले नराम्ररी पराजित भयो । त्यस खेलमा रोनाल्डोले धेरै प्रयास गरे पनि टोली सम्हाल्न सकेनन् ।

दोस्रो खेलमा अमेरिकासँग २–२ को बराबरी हुँदा उनले इन्जुरी समयमा उत्कृष्ट क्रस पास दिदै सिल्भेस्ट्रे भारेलाको बराबरी गोलका लागि असिस्ट गरे र पोर्चुगललाई प्रतियोगितामा जीवित राखे ।

तेस्रो खेलमा घानाविरुद्ध उनले निर्णायक गोल गरे र पोर्चुगल २–१ ले विजयी भयो । तर गोल अन्तर कम भएकाले टोली समूह चरणबाटै बाहिरियो। चोटका कारण उनी आफ्नो वास्तविक लयमा देखिएनन् । तीन खेलमा १ गोल र १ असिस्ट गरे पनि विश्वकप उनको लागि निकै पीडादायी रह्यो ।

२०१८ विश्वकप : रोनाल्डोको व्यक्तिगत रूपमा उत्कृष्ट विश्वकप

रुस विश्वकपलाई धेरै विश्लेषकले रोनाल्डोको सर्वश्रेष्ठ विश्वकप मान्छन् । प्रतियोगिताको पहिलो खेलमै उनले स्पेनविरुद्ध अविस्मरणीय ह्याट्रिक गरे। खेलको अन्तिम मिनेटमा गरेको फ्रिकिक गोल विश्वकप इतिहासकै उत्कृष्ट गोलमध्ये एक मानिन्छ । खेल ३–३ को बराबरीमा सकिएको थियो ।

दोस्रो खेलमा मोरक्कोविरुद्ध उनले हेडमार्फत एकमात्र गोल गर्दै टोलीलाई १–० को जित दिलाए । इरानविरुद्ध भने उनले पेनाल्टी मिस गरे पनि खेल १–१ को बराबरीमा टुंगियो र पोर्चुगल अन्तिम १६ मा पुग्यो ।

तर नकआउट चरणमा उरुग्वेसँग २–१ ले हार्दै पोर्चुगल बाहिरियो । प्रतियोगिताभर उनले ४ गोल गरे। गोल्डेन बुटको बलियो दाबेदार बने पनि टोलीको यात्रा छोटिएपछि व्यक्तिगत उत्कृष्ट प्रदर्शन पनि ओझेलमा पर्यो ।

२०२२ विश्वकप : इतिहास बन्यो, तर आँसुमा अन्त्य

कतार विश्वकप रोनाल्डोका लागि मिश्रित अनुभव रह्यो । घानाविरुद्धको पहिलो खेलमा पेनाल्टीमार्फत गोल गर्दै उनी विश्वकपका पाँच फरक संस्करणमा गोल गर्ने पहिलो पुरुष खेलाडी बने ।

त्यसपछि उरुग्वेविरुद्ध पोर्चुगल विजयी भए पनि गोल ब्रुनो फर्नान्डेजको नाममा गयो। दक्षिण कोरियाविरुद्धको खेलमा विश्राम दिइएको थियो ।

अन्तिम १६ मा स्विट्जरल्यान्डविरुद्ध प्रशिक्षकले रोनाल्डोलाई बेन्चमा राखे। पोर्चुगलले ६–१ को शानदार जित निकाल्यो । क्वार्टरफाइनलमा मोरक्कोविरुद्ध पनि उनी दोस्रो हाफमा मैदान प्रवेश गरे तर टोली १–० ले पराजित भयो। खेल सकिएपछि आँसु झार्दै मैदान छाडेको दृश्य विश्व फुटबलकै सबैभन्दा भावुक क्षणमध्ये एक बन्यो । उनले प्रतियोगिताभर १ गोल गरे, तर व्यक्तिगतभन्दा टोलीको निराशा धेरै चर्चामा रह्यो ।

२०२६ विश्वकप : अन्तिम विश्वकप, नयाँ इतिहास तर अधुरो सपना

४१ वर्षको उमेरमा रोनाल्डोले आफ्नो छैटौं तथा अन्तिम विश्वकप खेले । उनी विश्वकपका ६ वटा संस्करणमा खेल्ने र छवटै संस्करणमा गोल गर्ने पहिलो पुरुष खेलाडी बने ।

समूह चरणमा उनले तीन गोल गर्दै पोर्चुगलका महान् खेलाडी युसेबियोको विश्वकप गोल कीर्तिमान पनि तोडे । त्यसपछि अन्तिम ३२ मा क्रोएसियाविरुद्ध आफ्नो करियरकै पहिलो विश्वकप नकआउट गोल गरे र पोर्चुगललाई अन्तिम १६ मा पुर्याए ।
तर स्पेनविरुद्धको अन्तिम १६ को खेलमा उनी गोल गर्न सकेनन्।

इन्जुरी समयमा मिकेल मेरिनोको गोलसँगै पोर्चुगल १–० ले पराजित भयो र रोनाल्डोको विश्वकप यात्रा समाप्त भयो । भावुक बनेका रोनाल्डो आँसु रोक्न सकेनन् । उनले विश्वकप करियर २७ खेल र ११ गोलसहित समाप्त गरे । व्यक्तिगत रूपमा नयाँ कीर्तिमान थपिए पनि विश्वकप ट्रफी भने सधैंझैँ टाढै रह्यो ।