
काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति विवरणमा देखिएको सुनको स्रोतमाथि प्रश्न उठाएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै आङ्देम्बेले सरकारले घोषणा गरेको सम्पत्ति छानबिन आयोगको सन्दर्भ जोड्दै यस्तो जिज्ञासा राखेका हुन् ।
‘प्रधानमन्त्रीको विवरणमा झण्डै २०० तोला सुन देखियो, मन्त्रीहरूकोमा पनि सुनैसुन छ । यो सुन आर्जनको स्रोत के हो ? जनताले यसबारे जान्न पाउनुपर्छ,’ आङ्देम्बेले भने ।
उनले पूर्वी नेपालका जनताले यति धेरै सुन कहाँबाट आयो भनेर सोधिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
साथै, उनले सम्पत्ति छानबिनको काम ‘आफैँबाट’ सुरु गर्न प्रधानमन्त्रीलाई चुनौती समेत दिए ।
‘प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा पहिले मेरो सम्पत्ति छानबिन गरौँ, त्यसपछि प्रधानमन्त्रीको गरौँ । म तयार छु, के प्रधानमन्त्रीजी तयार हुनुहुन्छ ?’ उनले प्रश्न गरे ।
आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालको मोह त्यागेर संसदीय गरिमाको ख्याल गर्न आग्रह गरे ।
आङ्देम्बेले प्रधानमन्त्रीले संसद्लाई भन्दा सामाजिक सञ्जाललाई बढी प्राथमिकता दिएकोमा आपत्ति जनाए । ‘प्रधानमन्त्रीज्यू, अब तपाईं भाइरल हुने होइन, देशको नेतृत्व गर्ने ठाउँमा हुनुहुन्छ,’ उनले भने, ‘लोकप्रियता र उत्तरदायित्व फरक कुरा हुन् ।’
उनले प्रधानमन्त्रीले ‘एक्सप्रेस वे’ मा गाडी चलाउँदा संयमित हुनुपर्ने भन्दै प्रधानमन्त्रीको सानो गल्तीले सिंगो देश नै दुर्घटनामा पर्न सक्ने चेतावनी दिए ।
साथै, विपक्षी दलका नेताले बोल्दा प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने संसदीय परम्परा मिचिएको भन्दै उनले असन्तुष्टि समेत व्यक्त गरे ।






प्रतिक्रिया