
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि हुने खेलाडी अक्सनमा सहभागी हुने १५५ खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको छ। सोमबार काठमाडौंमा हुने अक्सनमार्फत आठ फ्रेन्चाइज टोलीले कुल ५२ नेपाली खेलाडी अनुबन्ध गर्नेछन् ।
क्यानका अनुसार अक्सनका लागि प्रारम्भिक रूपमा ३४७ खेलाडीले नाम दर्ता गराएका थिए । तीमध्ये छनोट प्रक्रियापछि १५५ खेलाडीलाई अक्सनमा समावेश गरिएको हो । छनोट भएका खेलाडीमध्ये ‘ए’ श्रेणीमा ५, ‘बी’ श्रेणीमा २७ र ‘सी’ श्रेणीमा १२३ खेलाडी रहेका छन् ।
यस संस्करणदेखि प्रत्येक फ्रेन्चाइज टोलीले अघिल्ला संस्करणको तुलनामा दुई जना थप नेपाली खेलाडी अनुबन्ध गर्न पाउने व्यवस्था गरिएको छ । मार्की खेलाडी र ट्यालेन्ट हन्टबाट छनोट हुने खेलाडीसहित प्रत्येक टोलीमा १४ जना नेपाली खेलाडी रहनेछन् ।
अक्सनअघि सबैभन्दा धेरै रकम जनकपुर बोल्ट्ससँग ६६ लाख २५ हजार रुपैयाँ बाँकी रहेको छ । विराटनगर किङ्ससँग ५१ लाख ५० हजार, लुम्बिनी लायन्ससँग ४९ लाख २५ हजार, पोखरा एभेन्जर्ससँग ४५ लाख ५० हजार, सुदूरपश्चिम रोयल्ससँग ४२ लाख ५० हजार, कर्णाली याक्स र चितवन राइनोजसँग समान ४२ लाख तथा काठमाडौं गोर्खाजसँग ३४ लाख रुपैयाँको पर्स बाँकी छ ।
तेस्रो संस्करणको एनपीएल आगामी नोभेम्बर–डिसेम्बरतिर आयोजना गर्ने तयारी रहेको क्यानले जनाएको छ । अक्सनमार्फत हुने खेलाडी छनोटलाई प्रतियोगिताको टोली निर्माणको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ ।






प्रतिक्रिया