
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ३.५१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यलयले सोमबार सार्वजनिक गरेको राष्ट्रिय लेखा अनुमान अनुसार चालु आवको तेस्रो त्रैमासमा ३.५१ प्रतिशतले जीडीपी बढ्ने देखिएको हो । यसमा मौसमी प्रभाव समावेश नगरिएको कार्यलयले जनाएको छ ।
आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा अर्थतन्त्रका विभिन्न क्रियाकलापहरूभएको सुधार कारण उक्त वृद्धिदरको अनुमान गरिएको हो ।
समीक्षा अवधिमा विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बिमा प्रिमियम कलेक्सन, र व्यापार सेवामा भएको सुधारका कारण यो वृद्धिदर हासिल हुन पुगेको कार्यालयले जनाएको छ ।
यद्यपि, निर्माण सामाग्रीको आयातमा कमी, धान वालीको उत्पादनमा गिरावट र केही वस्तुहरूको घरेलु उत्पादन घटेका कारण समग्र वृद्धिदर सामान्य अवस्थामै सीमित देखिएको छ ।
कार्यलयका अनुसार, अर्थतन्त्रमा समाविष्ट कुल १८ वटा औद्योगिक वर्गीकरणहरू मध्ये १६ वटा क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर धनात्मक रहेको छ । यस अवधिमा सबैभन्दा उच्च वृद्धि विद्युत, ग्याँस, वाफ तथा वातानुकूलित आपूर्ति क्षेत्रमा २४.८८ प्रतिशत देखिएको छ ।
त्यसैगरी, वित्तीय तथा बिमा सम्बन्धी क्रियाकलापमा १०.२७ प्रतिशत, यातायात तथा भण्डारणमा ७.८३ प्रतिशत, र थोक तथा खुद्रा व्यापार क्षेत्रमा ५.२५ प्रतिशतको धनात्मक वृद्धि भएको प्रारम्भिक अनुमान छ ।
अर्कोतर्फ, अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर धान बाली उत्पादनमा ह्रास आए तापनि पशुपालन र तरकारी उत्पादनमा भएको सामान्य सुधारले गर्दा १.५८ प्रतिशतमा सकारात्मक रहेको छ ।
यस्तै, सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा १.५९ प्रतिशत र औद्योगिक उत्पादन क्षेत्रमा ०.५४ प्रतिशतको ऋणात्मक वृद्धि देखिएको छ ।
अर्कोतर्फ, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को विधि प्रयोग गरी निकालिएको मौसमी प्रभाव समायोजित तथ्यांक अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक (कार्तिक, मंसिर, पौष) को तुलनामा तेस्रो त्रैमासिकमा समग्र अर्थतन्त्रको वृद्धिदर ०.५८ प्रतिशत मात्र रहने प्रारम्भिक अनुमान गरिएको छ ।






प्रतिक्रिया