
एजेन्सी । सन् २०१७ को मार्च, जहाँ चिलीको सान्टियागो भन्दा दक्षिणमा रहेको रान्कागुवामा दक्षिण अमेरिकी यु-१७ च्याम्पियनसिप भइरहेको थियो । ब्राजिलको यु-१७ टोलीले यु-१७ विश्वकपका लागि छनोट हुने लक्ष्यका साथ कोलम्बियाको सामना गरिरहेको थियो ।
ब्राजिलको किशोर टोलीले ३-० को प्रभावशाली नतिजाका साथ खेल जित्यो । अन्ततः प्रतियोगिताको उपाधि र विश्वकपको लागि स्थान सुरक्षित गर्यो । तर मैदानमा भएका सबै भविष्यका ताराहरू र प्रतिभाहरूका बीचमा फ्लेमेङ्गोका १६ वर्षीय एक ‘फेनोम’ (अद्भुत प्रतिभा) ले सबैको ध्यान खिचे । उनी थिए- भिनिसियस जुनियर ।
भिनिसियसले कोलम्बियाविरुद्धको त्यस खेलमा दुई गोल गरे । उनको पहिलो गोल त एक उत्कृष्ट कलाकृति जस्तै थियो जहाँ उनले कुनै हिचकिचाहट बिना पेनाल्टी बक्स बाहिरबाट गोलकिपरको माथिबाट बललाई ‘लोब’ (चिप) गरेर गोल गरे । यो त केवल जादुको सुरुवात मात्र थियो जसको हामी अहिले बानी परिसकेका छौँ ।
फलस्वरूप उनले प्रतियोगिताको सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीको अवार्ड जिते । केही महिनापछि, रियल मड्रिडले ती युवा प्रतिभालाई झण्डै ५ करोड युरोमा अनुबन्ध गर्न सहमति जनायो जुन ब्राजिलियन फुटबलको इतिहासमा नेयमारपछिको दोस्रो महँगो ट्रान्सफर थियो । आफ्नो १८औँ जन्मदिनपछि सन् २०१८ जुलाईमा उनी मड्रिडमा आबद्ध भए ।
वर्षहरू बित्दै गए र भिनिसियसले क्लबका लागि तीनवटा लिग उपाधि र दुईवटा च्याम्पियन्स लिगसहित अनगिन्ती ट्रफी र सम्मानहरू जितेका छन् ।
तर ब्राजिलका लागि भने कथा फरक छ । उनको नाममा सन् २०२१ को कोपा अमेरिकामा उपविजेताको पदक मात्र छ । चोटका कारण उनी सन् २०१९ को विजयी टोलीको हिस्सा बन्न सकेनन् । सन् २०२४ मा अमेरिकामा बलियो सुरुवात गरे पनि उरुग्वे विरुद्धको क्वाटरफाइनलमा उनी निलम्बनका कारण खेल्न पाएनन् र पुनः ब्राजिलका लागि उपाधि जित्ने उनको सपना अधुरै रह्यो ।
सन् २०२२ को विश्वकपमा भिनिसियसले पाँचमध्ये चार खेलमा सुरुवाती रोजाइमा खेले र राउन्ड अफ १६ मा दक्षिण कोरियाविरुद्ध ४-१ को जित निकाल्ने क्रममा आफ्नो पहिलो विश्वकप गोल गरे । तर अन्ततः ब्राजिल क्वाटरफाइनलमा क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित भयो ।
यसरी पाँच पटकको च्याम्पियन ब्राजिलका लागि उपाधिको खडेरी जारी छ । सन् २००२ मा ब्राजिलले अन्तिम पटक यो प्रतिष्ठित ट्रफी जित्दा भिनिसियस मात्र दुई वर्षका थिए । उनलाई थाहा छ कि यो केवल जित्ने मात्र कुरा होइन, यो त ‘सुन्दर ढंगले जित्ने’ कुरा हो ।
उदाहरणका लागि मेक्सिकोमा भएको १९७० को विश्वकप जित जहाँ पेलेले जर्जिनियो, गर्सन, टोस्टाओ र रिभेलिनोसँग मिलेर उत्कृष्ट फुटबल खेल्दै फाइनलमा इटालीलाई ४-१ ले हराएका थिए । वा २००२ मा ‘ओ फेनोमेनो’ रोनाल्डो नाजारियो, रिभाल्डो, रोनाल्डिन्हो र काफु जस्ता खेलाडीले सबै खेल जितेर र फ्रान्ससँगको पुरानो हारको बदला लिँदै जर्मनीलाई हराएर उपाधि उचालेका थिए ।
भिनिसियस ब्राजिलियन इतिहासमा अर्को नयाँ अध्याय लेख्ने अभियानमा छन् । धेरै निराशा र आलोचनाहरूऽ कैयौँ घृणित रंगभेदी दुर्व्यवहारहरू सबैलाई चिर्दै उनी अघि बढेका छन् । र अहिले न्यु जर्सीमा भाग्यको अर्को कदम पर्खिरहेको छ जुन ठाउँ सन् १९७७ मा पेलेले न्युयोर्क कसमसका लागि सान्तोष विरुद्ध आफ्नो अन्तिम खेल खेलेको मैदानबाट निकै नजिक छ ।
के सोमबर बिहानको खेल पछि पनि उनका लागि संगीत बजिरहनेछ ? र के ब्राजिलले अन्ततः २४ वर्ष लामो खडेरी तोड्न सक्नेछ ?
एन्सेलोटी र भिनिसियस बीचको सम्बन्धको महत्त्व
कार्लो एन्सेलोटीको मार्गदर्शनमा भिनिसियसले बिस्तारै आफ्नो लय र पहिचान भेट्टाइरहेका छन् । अहिलेसम्म उनले चार गोल र एक असिस्टका साथ उत्कृष्ट प्रदर्शन गरेका छन् । त्यो भन्दा पनि बढी उनी विपक्षीका लागि सधैँ खतरा बनिरहेका छन् ।
अर्लिङ हालान्ड र नर्वे विरुद्धको भिडन्तमा ब्राजिल पूर्ण रूपमा हाबी हुने देखिँदैन । ऐतिहासिक रूपमा ब्राजिल बलियो भए पनि हालको नर्वेली टोली हालान्ड, मार्टिन ओडेगार्ड र एन्टोनियो नुसा जस्ता खेलाडीका साथ निकै खतरनाक छ ।
यस प्रतियोगितामा दुवै टोलीले खेलेको हेर्दा दुवैका आ-आफ्नै सबल र दुर्बल पक्षहरू छन् । प्रशंसकहरूले पनि ठूलो भूमिका खेल्छन् र नर्वेका लागि ‘भाइकिंग रो’ समर्थकहरू टोलीलाई जिततर्फ डोर्याउने १२औँ खेलाडी बनेका छन् ।
तर यहाँ भिनिसियस र एन्सेलोटीको सम्बन्ध निर्णायक बन्न सक्छ । इटालियन प्रशिक्षक एन्सेलोटीले मड्रिडका दिनदेखि नै भिनिसियसलाई राम्ररी चिन्छन् र उनलाई सुपरस्टारहरूले भरिएको टोलीमा आफ्नो पहिचान बनाउन मद्दत गरेका छन् । उनले भिनिसियसलाई केन्द्रीय भूमिकामा थप प्रभावशाली बनाएका छन् ।
तथ्यांकअनुसार, उनले यस प्रतियोगितामा विपक्षीको बक्समा सबैभन्दा धेरै बल पुर्याएका छन् (१८ पटक), उनको अपेक्षित गोल सबैभन्दा उच्च छ (३.८७) र उनले दोस्रो धेरै प्रहारहरू (१० पटक) फ्रेममा हानेका छन्। तथ्याङ्कलाई छोडेर हेर्ने हो भने पनि एन्सेलोटीले उनलाई एक विनम्र साथी र नेतृत्वकर्ताको रूपमा विकास गरेका छन्।
भिनिसियसलाई थाहा छ कि अब धेरै जिम्मेवारी उनको काँधमा छ । नेयमार टोलीमा भए पनि ब्राजिललाई पुनः सफलताको शिखरमा पुर्याउने मुख्य जिम्मेवारी भिनिसियसकै हो ।
भिनिसियस एक दशकभन्दा बढी समयदेखि चर्चामा छन् तर उनी अहिले पनि केवल २५ वर्षका मात्र हुन् भन्ने कुरा अचम्म लाग्दो छ । तर उनका लागि यी कुराले अर्थ राख्दैनन् किनकि उनलाई थाहा छ सोमबार बिहानको खेल उनको अन्तर्राष्ट्रिय करियरको सबैभन्दा महत्त्वपूर्ण खेल हो ।
हेर्न बाँकी छ, के हुन्छ । यदि ब्राजिल जुलाई १९ मा फाइनलमा पुग्न चाहन्छ भने उसलाई भिनिसियस जुनियरको उत्कृष्ट प्रदर्शनको खाँचो छ ।
एजेन्सीको सहयोगमा






प्रतिक्रिया