
एजेन्सी । माइकल ओलिसेको जादुमयी प्रदर्शनको मद्दतले फ्रान्सले मंगलबार स्वीडेनमाथि ३-० को सानदार जित निकाल्दै २०२६ विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।
न्यु जर्सीमा भएको खेलमा बायर्न म्युनिखका यी स्टार खेलाडी खेलभरि नै छाएका थिए । किलियन एम्बाप्पेको दुई गोल र ब्राड्ली बारकोलाको एक गोलको मद्दतले फ्रान्सले राउन्ड अफ ३२ को बाधा सहजै पार गर्यो।
खेलको सुरुवाती लय समात्न फ्रान्सलाई केही समय लागे पनि प्रशिक्षक डिडियर डेसच्याम्प्सको टोलीले पहिलो हाफमा एकपछि अर्को अवसरहरू सिर्जना गर्यो र त्यही दबाबका कारण पहिलो गोल सम्भव भयो ।
बारकोलाको लामो दौड प्रहारमा परिणत भए पनि बल पोस्टभन्दा माथिबाट बाहिरियो । त्यसको केही बेरमै एम्बाप्पेले गरेको गोललाई ‘मार्जिनल अफसाइड’का कारण मान्यता दिइएन । त्यसपछि एड्रियन राबियोट दुई पटक गोलको नजिक पुगे भने एम्बाप्पेले पेनाल्टी बक्सभित्र पर्याप्त ठाउँ पाउँदा पाउँदै पनि उनको प्रहार पोस्टमा ठोकिन पुग्यो ।
खेलको आधा घण्टा बितेपछि ओलिसे पूर्ण लयमा देखिए। उनले एउटा साहसी ‘बाइसाइकल किक’ प्रहार गरे जुन पोस्टको तल्लो भागमा लागेर फर्कियो । यदि त्यो गोल भएको भए विश्वकप इतिहासकै उत्कृष्ट गोलमध्ये एक हुने थियो। ओस्मान डेम्बेले सोही ‘रिबाउन्ड’ बललाई गोलमा परिणत गर्न चुके ।
त्यसपछि पनि ओलिसेले गोल गर्ने प्रयास जारी राखे। उनको एउटा घुमाउरो प्रहार पोस्टको नजिकैबाट बाहिरियो भने अर्को प्रहारलाई स्वीडिश गोलकिपरले उत्कृष्ट बचाउ गरे। सोही कर्नरबाट फ्रान्सले खेलमा अग्रता लियो। ओलिसे र डेम्बेले सम्मिलित बायाँतर्फको ‘सेट-पिस रुटिन’लाई सदुपयोग गर्दै एम्बाप्पेले भिक्टर ग्योकेरेसलाई छक्याएर एउटा शक्तिशाली प्रहार गर्दै बललाई पोस्टको टाढाको कुनामा छिराए ।
दोस्रो हाफको सुरुवातमै फ्रान्सले आफ्नो जित सुनिश्चित गर्यो । ओलिसेले विपक्षी डिफेन्डरको खुट्टाको बीचबाट निकालेको उत्कृष्ट पासमा बारकोलाले गोल गर्दै खेललाई २-० को स्थितिमा पुर्याए । क्रिस्टल प्यालेसका पूर्व खेलाडी ओलिसे आफैं पनि गोल गर्न चाहन्थे, तर एक घण्टा पछिको उनको अर्को ‘कर्लिङ सट’ र त्यसको १० मिनेट पछिको प्रयासलाई पनि स्वीडिश गोलकिपरले विफल पारिदिए ।
त्यसपछि ओलिसे पुनः गोलको अवसर सिर्जना गर्नतिर लागे। उनले दिएको एक सटिक ‘थ्रु-बल’लाई एम्बाप्पेले खेल सकिन १५ मिनेट बाँकी छँदा गोलमा परिणत गर्दै फ्रान्सको जित पक्का गरे। डेसच्याम्प्सको टोलीले अब अन्तिम १६ मा पाराग्वेको सामना गर्नेछ।






प्रतिक्रिया