
एजेन्सी । सन् २०२५ मा राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना क्रिप्टो व्यवसायहरूबाट करिब १.२ अर्ब डलर कमाएका छन् ।
मंगलबार सार्वजनिक गरिएको एक संघीय वित्तीय प्रतिवेदन अनुसार, उनका लगानीकर्ताहरूले ठूलो घाटा बेहोरिरहँदा उनले भने मोटो नाफा सुरक्षित गरेका छन् । उनले राष्ट्रपतिको शपथ लिँदाका बखत स्टार्टअपका रूपमा रहेका यी नयाँ व्यवसायहरूले अहिले उनको दशकौं लगाएर बनाएको विशाल घरजग्गा पोर्टफोलियोको आम्दानीलाई पनि उछिनेका छन् ।
यी व्यवसायहरूको वृद्धिको पछाडि अर्बपति लगानीकर्ताहरू र क्रिप्टो उद्योगमाथि भइरहेको संघीय कारबाहीलाई रोक्ने ट्रम्पको आफ्नै नीतिगत कदमको ठूलो हात रहेको देखिन्छ ।
अफिस अफ गभर्मेन्ट इथिक्समा बुझाइएको वार्षिक प्रतिवेदन अनुसार, ट्रम्पले आफ्नो वर्ल्ड लिबर्टी फाइनान्सियल व्यवसायमार्फत गभर्नेन्स टोकन लगायतका नयाँ क्रिप्टो उत्पादनहरू बेचेर ५० करोड डलरभन्दा बढी कमाएका छन् । त्यसैगरी अर्को क्रिप्टो व्यवसाय सीआईसी डिजिटल एलएलसीले उनको अनुहार अंकित मिम कोइनहरू बेचेर ६० करोड डलरभन्दा बढी संकलन गरेको छ ।
तर, विडम्बना के छ भने ती टोकन र कोइनहरूको मूल्य बिक्री भएदेखि नै ह्वात्तै घटेको छ ।
क्रिप्टोका अलावा ट्रम्पले गत वर्ष आफ्नै ब्रान्डका बाइबल, जुत्ता र अन्य साना सामग्रीहरू बेचेर पनि लाखौं डलर थुपारेका छन् । यो राष्ट्रपतिको पदमा रहेका व्यक्तिका लागि एक अभूतपूर्व व्यावसायिक कदम हो ।
ट्रम्प ब्रान्डका घडीहरूको बिक्रीबाट मात्रै उनले ४७ लाख डलर आम्दानी गरेका छन् ।
यो ९२७ पृष्ठको दस्तावेजले सन् २०२५ को जनवरीमा पदभार ग्रहण गरेदेखि राष्ट्रपतिको सम्पत्तिमा भएको भारी वृद्धिको स्पष्ट चित्र प्रस्तुत गर्छ । उनको व्यावसायिक सञ्जालका धेरै पक्षहरूले उनकै सरकारको नीतिगत निर्णयहरूबाट प्रत्यक्ष वा अप्रत्यक्ष लाभ उठाएका छन् ।
ट्रम्पले आफ्ना छोराहरूले उनको वित्त व्यवस्थापन गर्ने कुरामा जोड दिए पनि यो व्यवस्थाले स्वार्थको द्वन्द्व रोक्नका लागि उनका पूर्ववर्तीहरूले अपनाएका सुरक्षाका उपायहरूलाई पूर्णतः लत्याएको छ ।
फोर्ब्सको अनुमान अनुसार, ट्रम्पको कुल सम्पत्ति अहिले ६ अर्ब डलर पुगेको छ जुन सन् २०२४ मा २.३ अर्ब डलर मात्र थियो । ट्रम्पको घरजग्गा व्यवसाय पनि विदेशमा तीव्र गतिमा विस्तार भइरहेको छ ।
सुरुमा घरजग्गा कारोबारमा पाएको सफलताको धाक लगाएर पदमा पुगेका उनको यो मुख्य व्यवसायमा गत वर्ष निकै उछाल आएको छ । विदेशमा नयाँ होटल, रिसोर्ट र आवासीय भवनका सम्झौताहरूबाट उनले करोडौं डलर शुल्क प्राप्त गरेका छन् जुन यो पारिवारिक व्यवसाय स्थापना भएको एक शताब्दी यताकै सबैभन्दा ठूलो विस्तार मानिएको छ ।
ध्यान दिनुपर्ने कुरा के छ भने तीमध्ये धेरै देशहरू अमेरिकासँग भन्सार शुल्क, सैन्य सहायता र अन्य महत्त्वपूर्ण सामरिक विषयहरूमा वार्ता गरिरहेका थिए । संयुक्त अरब अमिरातको एउटा सम्पत्तिबाट ट्रम्पको व्यवसायले १ करोड ४ लाख डलर आम्दानी गरेको छ । साउदी अरबको राजपरिवारसँग नजिक रहेका एक घरजग्गा विकासकर्ताले बनाइरहेको परियोजनाबाट राष्ट्रपतिको कम्पनीलाई ९० लाख डलर प्राप्त भएको छ ।
त्यस्तै, रोमानियाको बुखारेस्ट र कतारबाट उनले ५०–५० लाख डलर प्राप्त गरेका छन् । फ्लोरिडास्थित उनको चर्चित सम्पत्ति मार–ए–लागोले पनि गत वर्ष ५० प्रतिशतको वृद्धि हासिल गर्दै ७ करोड ७० लाख डलर कमाएको छ जहाँ उनले पद सम्हालेपछि विभिन्न देशका राष्ट्रप्रमुख र व्यवसायीहरूको भीड लाग्न थालेको छ ।
ट्रम्प अहिले अर्ब डलरको क्रिप्टो म्यानका रूपमा उदाएका छन् । सन् २०२५ मा पदभार ग्रहण गरेपछि उनले क्रिप्टो उद्योगप्रति बाइडन प्रशासनले लिएको कडा अडानलाई उल्ट्याउँदै यस उद्योग अनुकूलका नीतिहरू ल्याएका थिए । तर, नियामकहरूले वर्ल्ड लिबर्टीका टोकनहरूबारे चेतावनी जारी गर्दै यी टोकनले कम्पनीमा कुनै स्वामित्व प्रदान नगर्ने र यिनको मूल्य निर्धारण गर्न कठिन हुने बताएका थिए ।
तर पनि चिनियाँ अर्बपति जस्टिन सन जस्ता खरिदकर्ताहरूले यसमा करोडौं डलर खन्याए । जस्टिन सनमाथि लगानीकर्ताहरूलाई ठगेको आरोपमा चलिरहेको संघीय मुद्दा १ करोड डलर जरिवाना तिर्ने गरी मिलापत्र नभएसम्मका लागि रोक्का गरिएको थियो । सनले भने आफ्नो लगानीको मुद्दासँग कुनै सम्बन्ध नभएको दाबी गर्दै आएका छन् ।
यसैबीच ट्रम्पका व्यवसायमा लगानी गर्ने सर्वसाधारण लगानीकर्ताहरू भने मर्कामा परेका छन् । सन् २०२५ को जनवरीमा ७४ डलर पुगेको उनको मिम कोइनको मूल्य अहिले झरेर केवल १.६८ डलरमा सीमित भएको छ ।
साथै, वर्ल्ड लिबर्टी टोकनहरूको मूल्य पनि कारोबार सुरु भएदेखि ८० प्रतिशतले घटिसकेको छ । ह्वाइट हाउसले भने ट्रम्पको व्यवसाय छोराहरूले व्यवस्थापन गर्ने ट्रस्टमा रहेको र यसमा कुनै स्वार्थको द्वन्द्व नभएको दाबी गर्दै आएको छ ।
तर, अधिनायकवादी र राजपरिवारको शासन भएका देशहरूमा गरिएका व्यावसायिक सम्झौताहरूले अमेरिकी नीतिमा कत्तिको प्रभाव पारे भन्ने प्रश्न अनुत्तरित नै छ । उदाहरणका लागि, भियतनाममा नयाँ ट्रम्प रिसोर्ट निर्माणका लागि त्यहाँको सत्तारूढ कम्युनिस्ट पार्टीले किसानहरूलाई उनीहरूको जमिनबाट जबर्जस्ती हटाएको खबरहरू सार्वजनिक भएका थिए ।
संयोगवश, यी सम्झौताहरू पछि भियतनामले भन्सार छुट पायो, कतारले उन्नत अमेरिकी प्रविधिमा पहुँच पायो र साउदी अरबले वर्षौंदेखि चाहेको अमेरिकी लडाकु विमानहरू प्राप्त गर्यो । यी सम्झौताहरू र नीतिगत परिवर्तनहरूबीचको सम्बन्ध प्रमाणित गर्न गाह्रो भए पनि ती देशहरूले आफूले चाहेको लाभ भने प्राप्त गरेको देखिन्छ ।






प्रतिक्रिया