
काठमाडौं । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ९६६ वटा योग्य स्टार्टअप परियोजनाहरूलाई कर्जाका लागि सिफारिस गरेको छ ।
सरकारको स्टार्टअप उद्यम कर्जा प्रवाह कार्यक्रम अन्तर्गत प्रतिष्ठानले सातै प्रदेशका विभिन्न स्थानमा आयोजना गरेको प्रस्तुतीकरण र विस्तृत मूल्यांकन पश्चात् अन्तिम सूची सार्वजनिक गरेको हो ।
सरकारले स्टार्टअप उद्यमीहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने नीति अनुरूप यो प्रक्रिया अघि बढाएको थियो । प्रतिष्ठानका अनुसार, प्रारम्भिक सूचीमा परेका १,२९८ परियोजनाहरूमध्ये १,१५६ वटाले प्रस्तुतीकरण दिएका थिए ।
तीमध्ये क्रेडिट अप्रेजल र प्रस्तुतीकरणको औसत अंकका आधारमा कम्तिमा ५० प्रतिशत अंक प्राप्त गर्ने ९६६ वटा प्रस्तावहरूलाई अन्तिम सिफारिस गरिएको हो ।
सिफारिस गरिएका ९६६ परियोजनाहरूको प्रकृति हेर्दा स्टार्टअप इकोसिस्टम अझै पनि परम्परागत तर आधुनिक प्रविधि अपनाइएका प्राथमिक क्षेत्रहरूमा बढी केन्द्रित देखिएको छ । प्राप्त तथ्याङ्कअनुसार यस पटकको सिफारिसमा सबैभन्दा ठूलो हिस्सा कृषि र पशुपन्छी पालनले ओगटेको छ ।
कुल ९६६ मध्ये करिब ६५ प्रतिशत (झण्डै ६३० भन्दा बढी) परियोजनाहरू यसै क्षेत्रसँग सम्बन्धित छन् । यसमा बाख्रा पालन, कुखुरा पालन (पोल्ट्री), बङ्गुर पालन, माछा पालन, नर्सरी उद्योग, तरकारी खेती, र मौरी पालन जस्ता व्यवसायहरू छन् ।
यस्तै दोस्रो ठूलो क्षेत्रका रूपमा लघु तथा घरेलु प्रशोधन उद्योगहरू रहेका छन् । यस अन्तर्गत अचार उद्योग, मसला उद्योग, बेकरी तथा कन्फेक्सनरी, दुग्धजन्य पदार्थ (डेरी) प्रशोधन, फर्निचर, जुत्ता चप्पल उत्पादन र गार्मेन्ट उद्योगहरू पर्दछन् ।
यस्ता क्षेत्रबाट करिब १५ देखि २० प्रतिशत (झण्डै १८० वटा) परियोजनाहरू सिफारिस भएका छन् । विशेष गरी स्थानीय कच्चा पदार्थमा आधारित सामग्री उत्पादन गर्ने स्टार्टअपहरूलाई प्राथमिकता दिइएको देखिन्छ ।
तेश्रो क्षेत्रतर्फ होटल, रेष्टुरेन्ट, होमस्टे, ब्यूटी पार्लर, एडभेन्चर टुरिजम र ड्राइभिङ सेन्टर जस्ता सेवामूलक व्यवसायहरू पनि सिफारिस सूचीमा परेका छन् । यस क्षेत्रबाट करिब १० प्रतिशत (करिब १०० वटा) परियोजनाहरूले कर्जाको लागि सिफारिसमा परेका छन् ।
अपेक्षाकृत रूपमा कम भए पनि आईटी सोलुसन, सफ्टवेयर निर्माण, डिजिटल मिडिया, अनलाइन डेलिभरी र एडु‐टेकसँग सम्बन्धित स्टार्टअपहरू पनि सूचीमा समावेश छन् । त्यस्तै, ल्याब, क्लिनिक, डेन्टल क्लिनिक र इन्जिनियरिङ कन्सल्टेन्सी जस्ता प्राविधिक सेवाहरू पनि सिफारिस भएका छन् । यस क्षेत्रको हिस्सा करिब ५ देखि ८ प्रतिशतको हाराहारीमा रहेको छ ।
प्रतिष्ठानले २०८३ जेठ ३१ गतेदेखि २०८३ असार ५ सम्म विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा भौतिक रूपमै प्रस्तुतीकरण कार्यक्रम सञ्चालन गरेको थियो ।
परियोजनाको फोटो, भिडियो, वित्तीय विवरण, प्रस्तुतीकरणको गुणस्तर र सोधिएका प्रश्नहरूको उत्तरका आधारमा अंक प्रदान गरिएको थियो । प्रतिष्ठानका अनुसार कुल अंकको कम्तिमा ५० प्रतिशत प्राप्त गर्ने प्रस्तावकहरूलाई प्राथमिकताको आधारमा अन्तिम छनोट गरिएको हो ।
सिफारिसमा परेका उद्यमीहरूले अब राष्ट्रिय वाणिज्य बैंकमार्फत कर्जा प्राप्त गर्नेछन् । प्रतिष्ठानले सिफारिस गरिएका परियोजनाहरूको विवरण र कर्जा रकम राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा पठाइसकेको जानकारी दिएको छ ।
उद्यमीहरूले बैंकको शाखा कार्यालय तोकिएपछि ३ दिनभित्र सम्पर्क राख्नुपर्नेछ । कर्जा प्रक्रियाका लागि व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र, प्यान वा भ्याटदर्ताको प्रमाणपत्र, उद्यमीको नागरिकताको प्रमाणपत्र, आर्थिक वर्ष २०८१/८२ को कर चुक्ता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो र व्यवसायको छाप, घर वा जग्गा भाडामा भए सम्झौता पत्र, प्रकृति अनुरूप अन्य निकायबाट लिनुपर्ने अनुमति पत्र अनिवार्य रुपमा उपलब्ध गराउनुपर्ने सर्त राखिएको छ ।
प्रतिष्ठानका अनुसार कुनै उद्यमीले यसअघि नै अन्य निकायबाट सहुलियतपूर्ण कर्जा लिइसकेको भए, उसले यो स्टार्टअप कर्जा पाउने छैनन् ।






प्रतिक्रिया