
एजेन्सी । ट्यारिफ अर्थात् भन्सार शुल्क अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको सबैभन्दा प्रिय शब्द हो । गत वर्ष उनको प्रशासनले सन् १९३० को दशकयताकै सबैभन्दा कडा संरक्षणवादी व्यापार नीतिहरू एकपक्षीय रूपमा लागू गरेपछि विश्व बजारमा त्रास फैलिएको थियो ।
तर, ट्रम्पको उक्त कदमको चर्चा जति भयावह थियो त्यसको वास्तविक असर भने सोचेजस्तो कडा देखिएन । ट्रम्पको लिबरेसन डेको एक वर्ष बितिसक्दा अमेरिकी औसत भन्सार दर अप्रिल २०२५ मा धेरैले चिन्ता गरेजस्तो उच्च देखिएको छैन ।
हाल १० प्रतिशतभन्दा केही कम रहेको यो प्रभावकारी दर सन् २०२४ को अन्त्यको तुलनामा अझै चार गुणा बढी छ । सन् १९४० को दशकयताकै यो उच्च दर भए तापनि अचम्मको कुरा के छ भने वित्तीय बजारमा ट्यारिफको चर्चा अहिले निकै कम हुन थालेको छ ।
यसको एउटा मुख्य कारण त लगानीकर्ताहरूको चिन्ताको सूचीमा व्यापार युद्धलाई वास्तविक युद्धले प्रतिस्थापन गर्नु हो । अर्कोतर्फ, ट्रम्पका ट्यारिफहरूको आर्थिक प्रभाव धेरैले अनुमान गरेजस्तो गम्भीर नहुनुको पछाडि सोही समयमा भएको अभूतपूर्व प्राविधिक विकास पनि एक कारण हुन सक्छ ।
तर, के यो विश्लेषण यतिमै टुंगिन्छ त ? विश्वको व्यापारिक मानचित्र र भूराजनीतिक गठबन्धनहरू पुनः परिभाषित भइरहेको यस समयमा यसको पूर्ण प्रभाव स्पष्ट हुन अझै केही वर्ष लाग्न सक्छ । भविष्यमा अझै कस्ता नकारात्मक झड्का वा आश्चर्यहरू आउन सक्छन् भन्ने कुरा अझै गर्भमै छ ।
विगत एक वर्षमा भन्सार शुल्कको आर्थिक प्रभाव न्यून देखिनुको एउटा सरल तथ्य के हो भने वास्तवमा असुल गरिएको शुल्क घोषित दरभन्दा कम छ । क्यालिफोर्निया विश्वविद्यालय र येल विश्वविद्यालयका अनुसन्धाताहरूका अनुसार, गत डिसेम्बरसम्म अमेरिकाको कुल आयातको करिब ५७ प्रतिशत हिस्सा अझै पनि भन्साररहित नै थियो ।
यसमा यूएसएमसीए सम्झौता अन्तर्गत क्यानडा र मेक्सिकोबाट आउने अधिकांश वस्तुहरू समावेश छन् । ट्रम्प प्रशासनले ३२ वर्ष पुरानो यो उत्तर अमेरिकी खुला व्यापार क्षेत्रलाई विस्तार नगर्ने घोषणा गर्ने अपेक्षा गरिए पनि यसको समीक्षा प्रक्रिया सुरु हुन समय लाग्नेछ र यो सम्झौता सन् २०३६ सम्म कायमै रहनेछ ।
यसबाहेक कानुनी छिद्र र विशेष सम्झौताहरूका कारण पनि सीमामा असुल गरिने वास्तविक दर हेडलाइनमा देखिने दरभन्दा कम हुने गर्छ ।
यसैगरी ट्रम्पको नीतिविरुद्ध अन्य व्यापारिक साझेदारहरूबाट हुने प्रतिशोध पनि तुलनात्मक रूपमा नरम वा अल्पकालीन नै रह्यो जसमा चीन मात्रै एक अपवाद देखियो । साथै, आर्टिफिसियल इन्टेलिजेन्सको लहरले गर्दा चिप्स र अन्य पूर्वाधारको आयातमा खर्बौं डलर लगानी भयो । त्यसले विश्व व्यापारलाई थप चलायमान बनायो ।
फलस्वरूप, गत डिसेम्बरसम्म आर्थिक गतिविधिमा भन्सार शुल्कको खुद प्रभाव कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ०.१ प्रतिशतको हाराहारीमा मात्रै सीमित देखियो । येल विश्वविद्यालयको द बजेट ल्याबका अनुसार, लामो समयमा अमेरिकी अर्थतन्त्र ट्यारिफका कारण वार्षिक करिब ३० अर्ब डलरले खुम्चनेछ । यो हालको लागि तथ्यांकीय रूपमा नगण्य मान्न सकिन्छ ।
तर, तथ्यांकमा जे देखिए तापनि अमेरिकी उपभोक्ताहरूका लागि भने यो स्थिति सुखद छैन । ट्रम्पले लगाएका ट्यारिफको करिब ९० प्रतिशत भार उपभोक्ताहरूले नै बेहोर्नुपरेको छ । फेडरल रिजर्भको एक प्रतिवेदनका अनुसार, जनवरी २०२५ यता कोर वस्तुहरूको मूल्यवृद्धि हुनुको मुख्य कारण नै भन्सार शुल्क हो ।
तर, सोही प्रतिवेदनले मूल्यमा हुने यो भार उपभोक्तामा सार्ने प्रक्रिया लगभग सकिएको पनि संकेत गरेको छ । अर्थात्, ट्रम्प प्रशासनले दाबी गरेजस्तै यो एकपटकको मूल्यवृद्धि मात्र थियो । यो सही साबित भएमा उच्च मूल्यका कारण व्यक्तिगत बचत दर ३ प्रतिशतभन्दा तल झरेर संकटमा परेका अमेरिकीहरूका लागि यो केही राहतको खबर हुन सक्छ ।
अर्कोतिर, भन्सार शुल्क सरकारका लागि भने आम्दानीको ठूलो स्रोत बनेको छ । गत वर्ष यसबाट २६४ अर्ब डलर राजस्व संकलन भयो । त्यो सन् २०२४ को तुलनामा तीन गुणा बढी र जीडीपीको ०.८३ प्रतिशत हो । एक शताब्दीभन्दा बढी समययताकै यो उच्च राजस्व हो ।
सिद्धान्ततः यो रकम कर कटौती वा सार्वजनिक खर्चमार्फत पुनः अर्थतन्त्रमै फर्किनेछ जसले उपभोक्ताहरूलाई परेको आर्थिक मर्कालाई केही हदसम्म घटाउन मद्दत गर्ने अपेक्षा गरिन्छ ।
यति हुँदाहुँदै पनि लगानीकर्ताहरू ढुक्क भएर बस्ने स्थिति भने छैन । व्यापार नीतिमा देखिएको अनिश्चितता अझै पनि उच्च छ । ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता अमेरिकी भन्सार नीति ५० पटकभन्दा बढी परिवर्तन भइसकेको छ ।
ट्रम्प प्रशासनले ट्यारिफलाई वैदेशिक नीति र वार्ताको हतियारका रूपमा प्रयोग गरिरहेकाले यो क्रम अझै जारी रहने देखिन्छ । बजार यस्ता चिन्ताहरूबाट केही टाढा देखिए तापनि अनिश्चितताले अन्तर्राष्ट्रिय व्यापारको लागत भने बढाइरहनेछ । ठूला कम्पनीहरूले यो भार थेग्न सके पनि साना र मझौला उद्योगहरूका लागि यो निकै चुनौतीपूर्ण हुनेछ ।
विगतलाई फर्केर हेर्दा, धेरै अर्थशास्त्रीहरूले ट्यारिफका कारण जुन विनाशको भविष्यवाणी गरेका थिए, त्यो अहिलेसम्म त देखिएको छैन । तर, यो समयसीमाको कुरा मात्र पनि हुन सक्छ ।
बेलायतको ब्रेक्जिटसँग यसलाई तुलना गर्न सकिन्छ । त्यहाँ सन् २०१६ मा युरोपेली संघ छोड्ने निर्णयपछि अर्थतन्त्र तुरुन्तै नढले पनि १० वर्षपछि मात्र यसको गहिरो नकारात्मक असर स्पष्ट भयो । के ट्रम्पका ट्यारिफहरूले पनि अमेरिकी अर्थतन्त्रमा यस्तै स्लो बर्न अर्थात् बिस्तारै असर गर्ने हुन्, त्यो अहिलेको सबैभन्दा ठूलो प्रश्न हो ।






प्रतिक्रिया