आगामी वर्षबाट पुँजीगत खर्चको परम्परागत हविगत तोड्छौँः अर्थमन्त्री


काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षदेखि पुँजीगत खर्च नहुने परिपाटीको परम्परा अन्त्य गर्ने दाबी गरेका छन् ।

आइतवार प्रतिनिधि सभा आर्थिक विधेयक, २०८३ माथी छलफलमा क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले पुँजीगत खर्च बढेसँगै राजश्व परिचालनमा पनि सकारात्मक प्रभाव पर्ने भएकोले आफूहरुको ध्यान पुँजीगत खर्च बढाउनेमा रहेको बताए ।

हालसम्म चालु आर्थिक वर्षको पुँजीगत खर्च करिव ३५ प्रतिशत मात्रै भएको र असार मसान्तसम्म यो ५० प्रतिशतभन्दा माथि पुग्ने आशा गरिएको उनले बताए ।

अर्थमन्त्री वाग्लेले आगामी वर्ष पुँजीगत खर्चमा सरकारले उल्लेखनीय सुधार गर्ने उल्लेख गरे ।

पुँजीगत खर्च बढाउन सरकारले रकमान्तरणको अधिकार सम्बन्धित मन्त्रालयलाई नै दिने र आयोजना पूर्वतयारीलाई कडाइका साथ कार्यान्वयन गर्ने बताए ।

‘आगामी वर्षदेखि अहिले बजेटमा रोपिएका धेरै बीउहरुले आगामी वर्ष पुँजीगत खर्चको परम्परागत हविगत हामी तोड्छौँ, भन्ने हाम्रो विश्वास छ । आजको मितिसम्म चालु आर्थिक वर्षको पुजिँगत खर्च जम्मा ३५ प्रतिशत भएको छ । आशा गरौँ, यो असार मसान्तसम्ममा यो ५० प्रतिशत कट्ला,’ उनले भने, ‘ आगामी वर्ष हामी यसमा ठूलो रुपान्तरण गर्ने लक्ष्य लिएर रकमान्तरणको अधिकार सम्बन्धित मन्त्रालयलाई नै दिने, पूर्वतयारीमा निर्मम बन्ने र हाम्रो नियत र क्षमतालाई समुचित परिचालन गरियो भने यसमा हाम्रो दक्षता देखाउन सक्छौँ ।’