
काठमाडौं । झापाको धुलाबारीमा निर्माणाधीन ५ तारे होटल ‘होलिडे इन एक्सप्रेस एन्ड सुइट्स’ को स्वामित्व र नेतृत्वमा फेरबदल भएको छ । निर्माणाधीन होटल इस्टर्न नेपालको पूर्ण स्वामित्व पूर्वऊर्जामन्त्री दीपक खड्काकी श्रीमती विनिता खड्काबाट राजेश कुमार सोनीको हातमा पुगेको हो ।
खड्काको परिवार यो परियोजनाबाट पूर्ण रूपमा बाहिरिएसँगै यो होटलको कमाण्ड व्यवसायी सोनीले सम्हालेका छन् । डिसेक्बर २०२५ सम्म होटल इस्टर्न नेपालको मुख्य प्रबर्द्धक कम्पनी पूर्वमन्त्री खड्काको परिवारको पूर्ण स्वामित्व रहेको ‘न्यु इन्फ्रा हेभन ग्रुप होल्डिङ्स’ थियो।
जुन २०२६ देखि यो होटलको करिब सतप्रतिशत सेयर राजेश कुमार सोनीको नाममा आएको छ । सोनीले होटलको ९९.०७ प्रतिशत हिस्सा ओगट्ने उक्त होल्डिङ कम्पनी खरिद गरेपछि उनी नै सञ्चालक समितिको अध्यक्ष बनेका छन् ।
बाँकी ०.९३ प्रतिशत सेयर ८ जना साना लगानीकर्ताहरूको नाममा छ ।
सन् २०२५ डिसेम्बरको इन्फोमेरिक्सको रेटिङ रिपोर्टअनुसार उक्त समयसम्म यो होटलको नेतृत्व दीपक खड्काकी श्रीमती विनिता थापा (खड्का) ले गरेकी थिइन् । त्यतिबेला पनि ‘न्यु इन्फ्रा हेभन ग्रुप होल्डिङ्स’ नै मुख्य लगानीकर्ता थियो, जसमा खड्का परिवारको एकल वर्चस्व थियो ।
स्रोतका अनुसार खड्काले २ अर्ब ७० करोड रूपैयाँमा होटल बेचेका हुन् । यद्यपि, दुवै पक्षले सेयर खरिद–बिक्रीको वास्तविक रकम सार्वजनिक गरेका छैनन् । ३ अर्ब २७ करोड रुपैयाँ कुल लागत अनुमान गरिएको यो परियोजनामा करिब १ अर्ब रुपैयाँ स्वपुँजी लगानी भइसकेको आधारमा सोनीले पहिला अफर गरेको भन्दा बढी दिएर होटल किनेको बताइएको छ । यसअघि व्यवसायी भवन भट्टले करिब ३ अर्ब रूपैयाँमा यो होटल किन्ने सहमती भएकामा अन्तिममा पुगेर डिल रद्द भएको थियो ।
राजनीतिमा सक्रिय कांग्रेसका नेता दीपक खड्काले होटल बेच्नुको मुख्य कारण वित्तीय भार र राजनीतिक कार्यव्यस्ततालाई मानिएको छ । रेटिङ रिपोर्टले यो परियोजना ‘हाई लिभरेज्ड’ (ऋणमा बढी निर्भर) रहेको औंल्याएको छ । ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीको अनुपातमा निर्माण भइरहेको यो होटलको २ अर्ब २८ करोड ८० लाख रुपैयाँ बैंक ऋणको भार छ ।
निर्माण कार्यमा भएको ढिलाइले ब्याज खर्च बढ्दै गएको र थप पुँजी थप्नुपर्ने दबाबका बीच खड्का परिवारले बेच्ने निर्णय लिएको देखिन्छ ।
इन्फोमेरिक्स नेपालले होटललाई ‘बीबी माइनस’ इस्युअर रेटिङ दिएकोे छ । सोनी नेतृत्वको नयाँ व्यवस्थापन भित्रिएपछि परियोजनाको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । यसअघि खड्का परिवारले सन् २०२६ को अप्रिलमै होटल सञ्चालनमा ल्याउने लक्ष्य राखे पनि अब राजेश सोनीको नेतृत्वमा आगामी अक्टोबर २०२६ (आगामी दशैं)देखि मात्र होटल सञ्चालनमा आउनेछ ।
झापाको मेचीनगर–१० मा ९८ कोठासहित निर्माण भइरहेको यो होटल विश्वप्रसिद्ध ‘इन्टर–कन्टिनेन्टल होटल्स ग्रुप’ को ब्राण्डमा सञ्चालन हुनेछ । नयाँ प्रबर्द्धक सोनीका लागि २ अर्ब २८ करोडको ऋण व्यवस्थापन र बजारको तीव्र प्रतिस्पर्धाबीच होटललाई नाफामा लैजानु मुख्य चुनौती रहेको रिपोर्टले औंल्याएको छ ।
भौतिक प्रगति ७० प्रतिशत भए पनि वित्तीय प्रगति ५८ प्रतिशत मात्र हुनुले आगामी दिनमा थप पुँजी जुटाउनु पर्ने र लागत बढ्न सक्ने जोखिम देखाउँछ ।
यो होटल मुख्यतया भारतीय र विदेशी पर्यटकको आगमनमा निर्भर छ । नेपाल–भारत सीमा नजिक भएकाले सीमा नाकामा हुने कुनै पनि राजनीतिक वा प्राविधिक अवरोधले होटलको ‘अकुपेन्सी’ (कोठा भरिने दर) लाई सीधै असर गर्छ । नेपालको पर्यटन क्षेत्र बाह्य परिस्थितिप्रति निकै संवेदनशील रहने भएकाले अन्तर्राष्ट्रिय ब्राण्ड भए तापनि सञ्चालन स्थिरता कायम गर्नु चुनौतीपूर्ण हुने रेटिङ रिपोर्टको निष्कर्ष छ।
नयाँ अध्यक्ष सोनीले पूर्वमन्त्री खड्काको परिवारबाट स्वामित्व लिएसँगै यी वित्तीय चुनौतीहरूलाई कसरी व्यवस्थापन गर्छन् र दशैंसम्म होटललाई सफलतापूर्वक सञ्चालनमा ल्याउनु नै अहिले होटल व्यवस्थापनको लागि मुख्य चुनौती रहेको छ । निर्धारित समय र बजेटभित्रै काम नसकिएमा होटल गम्भीर वित्तीय संकटमा पर्न सक्ने जोखिम कायमै छ ।
यद्यपि, भारतीय सीमा नजिकको रणनीतिक लोकेसन र सोनी ग्रुपको वित्तीय क्षमताले गर्दा यो ५ तारे होटलले झापाको पर्यटनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।






प्रतिक्रिया