सुधन गुरूङलाई सांसदको प्रश्नः सुकुम्बासीको खानामा किरा भेटियो, सरकारलाई के कारबाही गर्ने ?

602
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी सांसद रेनु चन्दले सुकुम्बासीको खानामा किरा भेटिएको भन्दै गृहमन्त्री सुधन गुरुङलाई ‘सरकारलाई के कारबाही गर्ने?’ भनी प्रश्न गरेकी छन् ।

राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद चन्दले केही समयअघि मन्त्रीले खान लागेको अमलेटमा काँडा भेटिँदा ३ लाख रुपैयाँ जरिवाना गरिएको प्रसङ्ग निकालिन् । उनले मन्त्रीको अमलेटमा काँडा भेटिँदा कारबाही हुने तर सुकुम्बासीको खानामा किरा भेटिँदा सरकारलाई चाहिँ कति जरिवाना गर्ने भन्दै प्रश्न गरिन् । उनले सरकारले सुकुम्बासीमाथि अन्यायपूर्ण व्यवहार गरेको आरोप समेत लगाइन् ।

चन्दले चुनावका बेला सुकुम्बासी व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएर भोट माग्ने तर सत्तामा पुगेपछि उनीहरूलाई नै उठिबास लगाउने काम भइरहेको बताइन् । अहिले सरकारले होल्डिङ सेन्टरबाट समेत सुकुम्बासीलाई हटाउन लागेकोमा उनले आपत्ति जनाइन् ।

उनले भनिन्, ‘मन्त्रीले खान लागेको अमलेटमा काँडा भेटियो, तीन लाख जरिवाना लाउनुभयो, ठिकै छ । तर सुकुम्बासीको खानामा किरा भेटिँदा सरकारलाई चाहिँ के कारबाही हुन्छ ? सुकुम्बासी व्यवस्थापन गर्छौं भनेर भोट माग्ने अनि कुर्सीमा पुगेपछि लखेट्ने ? यही हो जान्नेलाई छान्ने भनेको ?’

गृहमन्त्री सुधन गुरुङले चितवनमा अमलेट खाने क्रममा माछाको काँडा भेटिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनका लागि चितवनमा रहेका गृहमन्त्रीले मंगलबार लड्स प्लाजा होटलमा अमलेट खाएका थिए । त्यसक्रममा माछाको काँडा भेटिएको थियो ।

उनले आफूहरूलाई ‘नयाँ’ र ‘जादुयी क्षमता’ भएको दाबी गर्ने सरकारले सुकुम्बासीको मानव अधिकार हनन् गरिरहेको बताइन् । चन्दले वर्तमान सरकारमा कुनै वैचारिक स्पष्टता नभएको र यसले समस्या समाधान गर्नुको साटो झन् बल्झाएको आरोप समेत लगाइन् ।