विश्वकपमा नर्वेको टोलीले सेलिब्रेसन गरेको ‘भाइकिङ रो’ को अर्थ के हो ?

133
Shares

एजेन्सी । विश्वकप फुटबलमा नर्वेको ऐतिहासिक सफलतासँगै टोलीको ‘भाइकिङ रो’ (डुंगा खेपेझैँ गर्ने) सेलिब्रेसन अहिले विश्वभर चर्चाको विषय बनेको छ ।

मैदानभित्र उत्कृष्ट प्रदर्शन गर्दै २८ वर्षपछि विश्वकपको नकआउट चरणमा पुगेको नर्वेले मैदानबाहिर पनि आफ्नो सांस्कृतिक पहिचान झल्काउने यो अनौठो उत्सवमार्फत विश्व फुटबल समर्थकको ध्यान तानेको छ ।

सेनेगललाई ३–२ ले पराजित गरेपछि कप्तान मार्टिन ओडेगार्डको नेतृत्वमा खेलाडी, प्रशिक्षक र हजारौं समर्थकले मैदानमै ‘भाइकिङ रो’ सेलिब्रेसन गरेका थिए ।

प्रशिक्षक स्टोले सोलबाकेन र स्टार फरवार्ड एर्लिङ हालान्ड पनि सहभागी बने। त्यसपछि समर्थकहरूले नर्वेका राजालाई समेत यही शैलीमा सहभागी गराउने प्रयास गरेका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो सेलिब्रेसन पुराना भाइकिङहरूले डुंगा खेप्ने शैलीबाट प्रेरित हो, जसले नर्वेको इतिहास र सांस्कृतिक पहिचानलाई झल्काउँछ ।

विश्वकपसँगै यो सेलिब्रेसन यति लोकप्रिय बनेको छ कि नर्वेमा मात्रै होइन, विदेशमा रहेका नर्वेली समर्थकहरूले पनि सामूहिक रूपमा ‘भाइकिङ रो’ गर्दै टोलीको सफलताको उत्सव मनाइरहेका छन् ।

राजधानी ओस्लोका सार्वजनिक स्थलदेखि अमेरिकाको टाइम्स स्क्वायरसम्म नर्वेली समर्थकहरूले यही शैलीमा खुसी साटेका दृश्य सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यसलाई विश्वकपकै सबैभन्दा चर्चित समर्थक संस्कृतिमध्ये एकका रूपमा चित्रण गरेका छन् ।

तर नर्वेको यो उत्सवले सबैबाट समान प्रतिक्रिया भने पाएको छैन। छिमेकी स्विडेनका केही खेलाडीले यो सेलिब्रेसन धेरै दोहोरिएको भन्दै टिप्पणी गरेका छन् । स्विडेनका डिफेन्डर गुस्ताफ लागरबिल्केले आफू यस्तो सेलिब्रेसनमा सहभागी नहुने बताएका छन् भने खेलाडी इलियट स्ट्राउडले पनि यो शैली आवश्यकता भन्दा बढी प्रयोग हुन थालेको प्रतिक्रिया दिएका छन्। कतिपयले यसलाई आइसल्यान्डको चर्चित ‘थन्डर क्ल्याप’सँग समेत तुलना गरेका छन् ।

यता विश्वकपमा छनोट हुन नसकेको डेनमार्कमा भने नर्वेको सफलताप्रति ईर्ष्याको भावना देखिएको छ। डेनिस पत्रिका बी.टी. का पत्रकार जोनी भोइचेख कोकबोर्गले नर्वे अहिले आफ्नो जीवनकै सबैभन्दा ठूलो फुटबल उत्सव मनाइरहेको उल्लेख गर्दै डेनमार्क अब उत्तर युरोपको सबैभन्दा बलियो फुटबल राष्ट्र नभएको स्वीकार्न गाह्रो भइरहेको टिप्पणी गरेका छन्।