४४ वर्षअघिको एउटा खेल जसले बदल्यो फुटबलको नियम, समूहका अन्तिम म्याच एउटै समयमा किन हुन्छ ?

105
Shares

एजेन्सी । विश्वकपमा एउटै समूहका अन्तिम खेल एउटै समयमा किन खेलाइन्छन् ? ग्रुपस्टेजका सबै खेल फरकफरक समयमा हुन्थे, हिजोदेखि भने एउटै समयमा दुईवटा खेल हुँदा तपाईंलाई हेर्न गाह्रो भइरहेको हुनसक्छ ।

यसरी एउटै समयमा २ वटा खेल खेलाएर दर्शकलाई कुन हेर्ने ? भनेर अप्ठेरोमा पार्न खोजिएको होइन । यो त कुनै पनि टोलीले अर्को खेलको नतिजा हेरेर आफ्नो रणनीति परिवर्तन गर्न नपाओस् र प्रतियोगिता निष्पक्ष रहोस् भनेर बनाइएको नियम हो ।

यो कुरा बुझ्न, ४४ वर्षअघिको एउटा विवाद पल्टाउनुपर्ने हुन्छ, जसले फुटबलको नियम नै बदलिदियो ।

त्यसपछि विश्वकपमात्र होइन, युरो कप, कोपा अमेरिका, एएफसी एसियन कप र विभिन्न देशका लिगहरूसमेत अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा एउटै समूह वा लिगका अन्तिम खेल एकै समयमा खेलाइन्छन् ।

यदि एउटा खेल पहिले सकियो भने अर्को खेल खेलिरहेको टोलीले आफूलाई सजिलो बनाउन जुन नतिजा चाहिन्छ, त्यही अनुसार खेल्न सक्ने सम्भावना रहन्छ । यसले खेललाई अल्छिलाग्दो बनाउँछ, प्रतिस्पर्धाको विश्वसनीयतामाथि प्रश्न उठाउँछ ।

यो नियम कसरी लागू भयो ? भन्ने बुझ्न सन् १९८२ को स्पेन विश्वकपमा घटेको ऐतिहासिक विवाद पल्टाऔं ।

त्यसबेला समूह–बी मा पश्चिम जर्मनी, अस्ट्रिया, अल्जेरिया र चिली थिए । पहिलो खेलमै अल्जेरियाले शक्तिशाली पश्चिम जर्मनीलाई २–१ ले हराइदियो । त्यसपछि अस्ट्रियाले चिलीलाई १–० र अल्जेरियालाई २–० ले हरायो । पश्चिम जर्मनीले चिलीलाई ४–१ ले पराजित गर्‍यो । यता अल्जेरियाले चिलीलाई ३–२ ले हराएको थियो ।

यसरी अन्तिम खेलअघि अल्जेरियाले ३ खेलबाट २ जितसहित ४ अंक जोडेको थियो । अस्ट्रियाले पनि २ खेलमा दुवै जितसहित ४ नै अंक जोडेको थियो । जर्मनीले भने २ खेलबाट मात्र १ जितसहित २ अंक जोडेको थियो । त्यतिबेला हरेक जितको २ अंक दिने नियम थियो । चिलि सबै खेल हारेर समूहको पुच्छरमा थियो ।

समूहको अन्तिम खेल पश्चिम जर्मनी र अस्ट्रियाबीच भयो । यसरी खेलअघि नै दुवै टोलीलाई थाहा थियो कि पश्चिम जर्मनी १–० वा २–० गोलअन्तरले विजयी भए जर्मनी र अस्ट्रिया दुवै टोली अर्को चरणमा पुग्नेछन् र अल्जेरिया बाहिरिनेछ ।

नभन्दै अन्तिम खेलमा जर्मनी र अस्ट्रियाले झेल गरे । अल्जेरियालाई समूह चरणबाट पाखा लगाउने नतिजा निकाल्ने योजना बनाए र सोहीअनुसार खेले ।

खेलको १०औं मिनेटमै पश्चिम जर्मनीले गोल गर्यो । त्यसपछि दुवै टोलीले बाँकी समय एउटाले अर्कोलाई पास दिँदै बसे । कसैले गोल गर्ने प्रयास गरेन । खेल निकै अल्छिलाग्दो भयो ।

पुरै ९० मिनेटमा अरू गोल भएन । यसरी जर्मनीले खेल १–० ले जितेपछि पश्चिम जर्मनी तथा अस्ट्रियाको समान ४–४ अंक भयो । गोलअन्तरका आधारमा दुवै टोली  दोस्रो चरणमा पुगे । दुई टोली मिलेर अल्जेरियालाई प्रतियोगिताबाट बाहिर निकालेको यो घटना फुटबल इतिहासको सबैभन्दा आलोचनात्मक खेल थियो ।

यो खेलपछि दर्शकहरूले मैदानमै विरोध जनाए, पत्रकारहरूले कडा आलोचना गरे । यो खेल ‘डिस्ग्रेस अफ गिहोन’ (गिहोनको कलंक) का नामले चर्चित बन्यो ।

विश्वभरबाट आलोचना भएपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले भविष्यमा यस्ता विवाद दोहोरिन नदिन प्रत्येक समूहका अन्तिम दुई खेल अनिवार्य रूपमा एकै समयमा खेलाउने नियम लागू गरेको हो ।

त्यसयता विश्वकप मात्र होइन, अधिकांश अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा यही व्यवस्था लागू हुँदै आएको छ । यद्यपि मौसमका कारण कुनै खेल ढिलो सुरु हुने वा बीचमै रोकिँदा केही चुनौती देखिने भए पनि एउटै समूहका अन्तिम खेल एकै समयमा खेलाउने नियमलाई निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्ने सबैभन्दा प्रभावकारी उपायका रूपमा मानिन्छ। यही कारण ४४ वर्षअघि भएको एउटा विवादित खेलले आज विश्व फुटबलको महत्वपूर्ण नियम जन्माएको मानिन्छ ।

फुटबल विश्लेषकहरूका अनुसार यसले कुनै पनि टोलीलाई अर्को खेलको नतिजा हेरेर रणनीति बदल्ने अवसर दिँदैन । सबै टोलीले समान अवस्थामा आफ्नो खेल खेल्नुपर्ने भएकाले प्रतियोगिता अझ निष्पक्ष हुन्छ ।

फुटबलमा जित वा हार मैदानमा हुने प्रदर्शनबाट तय हुनुपर्छ, अर्को खेलको नतिजाबाट होइन भन्ने मान्यताका आधारमा फिफाले यो नियम लागू गरेको हो । त्यसैले विश्वकपसहित अधिकांश ठूला प्रतियोगितामा समूह चरणका अन्तिम खेलहरू आज पनि एकै समयमा खेलाइन्छन् । यसबाट दर्शकहरूलाई केही असहजता भए तापनि निष्पक्षताका लागि यो उपाय निकै प्रभावकारी हो ।