
विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि बुधबार ३ अर्ब ५६ करोड ४७ लाखको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
वार्षिक लक्ष्यको ४० प्रतिशत अर्थात् ५० करोडको हाराहारीमा मात्र आन्तरिक आम्दानी गर्दै आएको यो महानगरले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको यो बजेट चालु आर्थिक वर्षको भन्दा झन्डै एक अर्बले न्यून हो ।
महानगरले चालु आर्थिक वर्षका लागि गत वर्ष ४ अर्ब ४० करोडको अनुमानित बजेट सार्वजनिक गरेको थियो । महानगरले पछि त्यसलाई संशोधन गरेर ३ अर्ब ६८ करोड २८ लाखमा सीमित गरेको थियो ।
महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले बुधबार १८ औँ नगर सभामा अनुमानित बजेट सार्वजनिक गरेकी हुन् । उनले सार्वजनिक गरेको बजेट पूर्तिका लागि महानगरले आन्तरिक आम्दानी १ अर्ब २७ करोड २० लाख गर्ने लक्ष्य राखेको छ ।
महानगरले चालु वर्ष पनि १ अर्ब २७ करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको थियो । तर, असारको पहिलो सातासम्म यो महानगरले ४४ करोड मात्र आन्तरिक आम्दानी गरेको छ । जब कि यो महानगरको कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च वार्षिक ७६ करोड २८ लाखभन्दा बढी हुँदै आएको छ ।
अनुमानित बजेटका लागि सङ्घीय सरकार वित्तीय समानीकरण अनुदान ३३ करोड ४३ लाख, सशर्त अनुदान ७३ करोड २९ लाख र सशर्त पूँजीगत अनुदान ५६ लाखसहित सङ्घीय सरकारबाट १ अर्ब ७ करोड २८ लाख रुपैयाँ अन्तर-सरकारी वित्तीय हस्तान्तरण हुने अनुमान गरिएको छ ।
त्यसैगरी प्रदेश सरकार समानीकरण अनुदान ३ करोड ६२ लाख ५० हजार, प्रदेश सरकारको सशर्त अनुदान चालू पूँजी तर्फ ४ करोड १ लाख, सशर्त पूँजीगत तर्फ ६ करोड ६३ लाख गरी प्रदेश सरकारबाट १४ करोड २६ लाख हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
त्यस्तै राजस्व बाँडफाँट अन्तर्गत सवारी साधन करबाट ३ करोड ८ लाख, मनोरञ्जन करबाट ४० लाख, विज्ञापन करबाट ६० लाख, घर जग्गा रजिष्ट्रेशन दस्तुरबाट ६७ करोड ९५ लाख ७९ हजार, मूल्य अभिवृद्धि करबाट १५ करोड ३९ लाख, अन्तःशुल्कबाट ५ करोड १३ लाख गरेर ९२ करोड ५६ लाख आम्दानी गर्ने महानगरको लक्ष्य छ ।
महानगरको अनुमानित नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षका लागि सामाजिक विकास तर्फ शिक्षामा १० करोड ९ लाख, स्वास्थ्यमा ७ करोड ३ लाख, महिला विकासका लागि ६६ लाख, बालबालिका तर्फ ४८ लाख ६० हजार, अपाङ्गता तर्फ ५७ लाख, ज्येष्ठ नागरिकका लागि १६ लाख, लैङ्गिक हिंसा निवारणका लागि ४२ लाख ७५ हजार, खानेपानी तथा सरसफाइमा १६ लाख, सामुदायिक विकासमा ५९ लाख र सङ्घ संस्थाका लागि अनुदानमा ६ करोड गरेर २६ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
त्यसैगरी महानगरले महानगरको आर्थिक विकासका लागि आगामी वर्षका लागि ३ करोड २६ लाख, पूर्वाधार विकासका लागि १ अर्ब ६० करोड ३९ लाख, सुशासन तथा संस्थागत विकासका लागि २ करोड ९३ लाख तथा वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि २ करोड ५९ लाख रुपैयाँ विनियोजन गरेको छ ।
महानगरले चालू वर्ष ३ अर्ब ६८ करोड २८ लाख आम्दानी गर्ने लक्ष्य राख्दा जेठ मसान्तसम्ममा २ अर्ब २६ करोड ६१ लाख अर्थात् लक्ष्यको ६२ प्रतिशत मात्र आम्दानी गरेर १ अर्ब ६४ करोड ८८ लाख अर्थात् ४५ प्रतिशत मात्र खर्च गरेको छ ।
महानगरले चालू वर्ष १ अर्ब २७ करोड २० लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राख्दा अहिलेसम्म ४४ करोड ८५ लाख मात्र आम्दानी गरेको छ । त्यसैगरी राजस्व बाँडफाँट तर्फ सवारी कर ३ करोड ८ लाख अनुमान गर्दा २ करोड ५९ लाख, विज्ञापन कर ६० लाख अनुमान गर्दा २८ लाख, मनोरञ्जन कर ४० लाख अनुमान गर्दा १२ लाख, घरजग्गा रजिष्ट्रेशन दस्तुर ६७ करोड ९६ लाख अनुमान गर्दा २१ करोड १९ लाख, मूल्य अभिवृद्धि कर १५ करोड ३९ लाख लक्ष्य राख्दा ११ करोड ९८ लाख मात्र आम्दानी भएको कार्कीले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।






प्रतिक्रिया