चिया निकासीमा भारतको अवरोध: उद्योग मन्त्रालयका सहसचिवको नेतृत्वको बन्यो समिति


काठमाडौं । सरकारले नेपालबाट भारतमा हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्नका लागि कार्यदल गठन गरेको छ ।

चिया निर्यातमा देखिएको समस्याको अध्ययन गरी दुई साताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुझावसहितको प्रतिवेदन पेस गर्ने गरी कार्यदल गठन गरिएको प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।

उनका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

कार्यदलको सदस्यहरुमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयका उपसचिव, परराष्ट्र मन्त्रालयका उपसचिव, कृषि, वन तथा पर्यावरण मन्त्रालयका उपसचिव, भन्सार विभागका उपमहानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक, नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक तथा द्विपक्षीय व्यापार तथा पारवहन (भारत) शाखाका उपसचिव सदस्य तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव सदस्य सचिव छन् ।

भारत सरकारको ‘टि बोर्ड अफ इण्डिया’ बाट केही समय अघि भारतमा आयात हुने चियाका सबै ‘कन्साइनमेन्ट’ को अनिवार्य गुणस्तर परीक्षण गर्ने प्रावधान, सो निर्देशनालय साथ संलग्न एसओपीमा रहेको प्रयोगशाला शुल्क र प्रयोगशाला परीक्षण प्रतिवेदन नआएसम्म सामान गोदाममा अनिवार्य भण्डारण गर्नुपर्ने लगायतका प्रावधान उल्लेख छ ।

उक्त प्रावधानले साना तथा मझौलास्तरका नेपाली चिया किसानहरू र निर्यातकर्ताहरूलाई भारततर्फ चिया निकासीमा कठिनाइ भएको र भन्सार विन्दुहरूमा लामो समयसम्म मालवाहक सवारीसाधन रोकिनुपर्ने हुँदा चियाको ताजापन र गुणस्तरमा ह्रास आउने र व्यापारको लागत बढ्दै गएको अवस्था छ ।

सय आसपास उद्योग बन्द

भारतले चिया निकासीमा अवरोध गरेपछि इलामको सूर्योदय नगरपालिका क्षेत्रमा अर्थोडक्स चिया उत्पादन गर्ने ५३, इलाम नगरपालिका क्षेत्रमा अर्थोडक्स उत्पादन गर्ने १२ सहित झापामा सीटीसी चिया उत्पादन गर्ने ३० वटा उद्योग बन्द भएका छन् । त्यसैगरी ‘टी एलाइन्स अफ नेपाल’ (टान) मा आबद्ध इलाम, पाँचथर, धनकुटा र भोजपुरका समेत १६ उद्योग बन्द भएका छन् ।

नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार ती उद्योगमा एकलाख मजदुर र किसानका ३० हजार घर परिवार जोडिएका छन् । पराजुलीका अनुसार इलाममा वार्षिक ६५ लाख किलो र झापामा वार्षिक २ करोड किलो चिया उत्पादन हुँदै आएको छ । यहाँ उत्पादित चियाको ९० प्रतिशत बजार भारत हो ।

भारतीय चिया बोर्डले नेपाली चियाको गुणस्त परीक्षणका नाममा भारत पुगेको झण्डै दुईलाख किलो चिया बजारमा निकाल्न नदिएर आयतकर्ताको गोदाममै थन्क्याएको र निकासी अवरुद्ध हुँदा १० लाख किलो भन्दाबढी चिया उद्योगमै कुहिने अवस्था आउदा पनि सरकारले निकासी सहजताका लागि कुनै कुटनीतिक पहल नगरेको भन्दै उद्योगीले उद्योग नै बन्दको विकल्प रोजेका हुन् ।

नेपालका उद्योगहरुमा १० लाख किलो भन्दा बढी तयारी चिया थन्किएर बसेको छ । भारतीय चिया बोर्डले परीक्षणका लागि लगेको चियाको नमुना रिपोर्ट महिनौ दिनसम्म पनि दिएको छैन । यदि रिपोर्ट आउँदा गुणस्तरहीन देखिएमा उक्त चियालाई भारतीय गोदाममै नष्ट गर्नुपर्ने जस्ता अव्यवहारिक नियमहरू थपिएका छन् ।

गत बैशाख १८ देखि भारतीय चिया बोर्डले नेपालबाट भारत जाने चियामा नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि २१ दिनसम्म निर्यात ठप्प भएको थियो।

त्यसको व्यापक विरोधपछि भारतीय पक्षले प्रत्येक ट्रकको परीक्षण नगरी ‘र्‍यान्डम स्याम्पलिङ’ मात्र गर्ने लिखित जानकारी दिएपछि दुई दिन पुनः निर्यात भएको थियो । तर भारतीय पक्षले निर्यातकर्ताको गोदाममै पुगेर गुणस्तर परीक्षणका नाममा नमुना संकलन गर्दै परीक्षण रिपोर्ट नआएसम्म चिया गोदामबाट बाहिर ननिकाल्न आदेश दिएपछि चिया निकासी पूर्णरुपमा ठप्प भएको र उद्योग नै बन्द गर्नु परेको उद्योगीहरूले बताएका छन् ।

चालु आर्थिक वर्षको वैशाखसम्ममा ३ अर्ब ३५ करोड मूल्य बराबरको ११ हजार ४ सय टन नेपाली चिया निर्यात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक छ । गत वर्ष ४ अर्ब ५९ करोड मूल्यको १५ हजार ६ सय टन चिया निकासी भएको निकासी प्रवद्धन केन्द्रको तथ्यांक छ ।