मुस्ताङमा रहेको देशकै महँगो रिसोर्ट शिन्तामणिले ९ महिनामा कतिको गर्‍यो व्यापार ?

1.5k
Shares

काठमाडौं । मुस्ताङ माउन्टेन होमले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा साढे १३ करोड रुपैयाँको कारोबार गरेको छ । कम्पनीले चालु आवको ९ महिनाको अवधिमा १३ करोड ६० लाख रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीले गत आवमा १५ करोड रुपैयाँ, सन् २०२४ मा ७ करोड ६० लाख रुपैयाँ र सन् २०२३ मा १ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०१४ मा स्थापना भएको कम्पनी सन् २०२३ मा पब्लिक कम्पनीको रुपमा परिणत भएको छ ।

मुस्ताङको मार्फामा कम्पनीको शिन्तामणी मुस्ताङ नामको लक्जरियस रिसोर्ट निर्माण गरेर चलाइरहेको छ । कम्पनीले ३५ हजार १०३ स्क्वायर मिटर क्षेत्रफलमा २९ वटा सुईट रुमबाट होटल सेवा दिँदै आएको छ ।

कम्पनीले सन् २०२२ को मार्चबाट व्यवसायिक कारोबार सुरु गरेको थियो । फुड एन्ड बेभरेज, स्पा, कन्सफरेन्स हल र अन्य सुविधा सहितको होटल १ अर्ब १६ करोड ८० लाख रुपैयाँमा निर्माण गरेको थियो । रिसोर्ट निर्माणमा कम्पनी ऋण–इक्विटीको अनुपात ७६:२४ राखेको थियो ।

अन्तर्राष्ट्रिय होटल चेनसँग व्यवस्थापनका लागि सम्झौता गरी रिसोर्ट सन् २०२३ को अन्त्यबाट पूर्ण क्षमतामा सञ्चालनमा ल्याएको थियो । कम्पनीको गत आवसम्ममा वित्तीय जोखिम प्रोफाइलमा समग्र ऋणभारमा कमी आएता पनि कमजोर ऋण सुरक्षा सूचकांकका कारण अझै सीमित रहेको छ ।

कम्पनीको दीर्घकालीन ऋण घटेर ७५ करोड २० लाख रुपैयाँमा झरेको छ । सन् २०२४ मा ९० करोड ९० लाख रुपैयाँ थियो । कम्पनीका अनुसार लगानीकर्ताहरुले थप २० करोड रुपैयाँ इक्विटी लगानी गर्दा कर्जा घटेको छ ।

कम्पनीको ब्याज कभरेज अनुपात सुधार भई ०.७५ गुणा पुगेको छ । सन् २०२४ मा यस्तो अनुपात ०.११ गुणा थियो । लाक्पा सोनाम शेर्पा अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन कर्जाका लागि ७२ करोड ७ लाख रुपैयाँको रेटिङ गराएको छ ।

शिन्तामणी मुस्ताङ यति ग्रुप अफ कम्पनिजको होटल हो ।

शिन्तामणि मुस्ताङ देशकै सबैभन्दा महँगोमध्येको एक रिसोर्ट हो । यो रिसोर्टमा बस्न न्यूनतम् १७ सय डलर अर्थात् २ लाख ५८ हजार रूपैयाँ तिर्नुपर्छ ।

यो रिसोर्टमा बस्न न्यूनतम ५ दिनको प्याकेज अनिवार्य गरिएको छ । होटलका कोठा अमेरिकी आर्किटेक्ट कम्पनी बेन्सलेकै डिजाइनअनुसार बनेका छन् । होटलमा आउने पाहुनाका लागि हर्स राइडिङ, साइक्लिङ, रक क्लाइम्बिङ, आर्चरी, हाइकिङ, ट्रेकिङसहितको सुविधा छ ।