गृहमन्त्री गुरुङले मगाएको अम्लेटमा माछा भेटिएपछि होटलमा अनुगमन, ३ लाख रुपैयाँ जरिवाना


काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरस्थित ‘लर्ड्स बिजनेस कम्प्लेक्स होटल प्रा.लि.’लाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ।

उपभोक्ताहरूबाट प्राप्त जनगुनासोका आधारमा गरिएको बजार अनुगमनका क्रममा उक्त होटलले गुणस्तरहीन र अस्वस्थकर खानेकुरा खुवाएको पाइएपछि प्रशासनले कडा कारबाही गरेको कार्यालयले जनाएको छ ।

मंगलबार यही होटलमा गृहमन्त्री सुधन गुरुङले मगाएको अमलेटमा माछाको काँडा भेटिएको थियो ।  त्यसपछि गुरुङकै निर्देशनमा सो होटलमा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा विशेष निरीक्षण भएको थियो ।  

मंगलबार सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा खटिएको विशेष निरीक्षण टोलीले भरतपुर महानगरपालिका वडा नं. १० मा रहेको उक्त होटलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा होटलले गुणस्तरहीन खाने तेल प्रयोग गरेको, तरकारीको ताजापनमा ध्यान नदिएको र उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने गरी खानेकुरा उपलब्ध गराएको फेला परेको थियो ।

प्रशासकीय अधिकृत मदन लामा थिङद्वारा जारी सूचना अनुसार, उक्त होटलले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र ३८ विपरितको कसुर गरेको पाइएको छ । सोही ऐनको दफा ३९ (१) को खण्ड (ख) बमोजिम होटललाई ३ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको हो । साथै, अनुगमनका क्रममा बरामद गरिएका अखाद्य र गुणस्तरहीन खाद्य सामग्रीहरू समेत नष्ट गर्ने निर्णय भएको प्रशासनले जनाएको छ ।