कार्ल्सबर्ग कर्पोरेट फुटसल प्रतियोगिता सम्पन्न, वर्ल्डलिंकले उचाल्यो उपाधि


काठमाडौं  । कार्ल्सबर्गको आयोजनामा भएको ‘कार्ल्सबर्ग कर्पोरेट फुटसल प्रतियोगिता’ सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न क्षेत्रका १२ प्रमुख कर्पोरेट संस्थाको सहभागिता रहेको थियो ।

असार ५ र ६ गते आयोजित प्रतियोगितामा बिगमार्ट, बुद्ध एयर, क्लाउड फ्याक्ट्री नेपाल, दराज नेपाल, गोर्खा ब्रुअरी, लक्ष्मी सनराइज बैंक, एनसेल, पायोनियर ल एसोसिएट्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सालिको), स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, सुबिसु केबलनेट र वर्ल्डलिंक कम्युनिकेसनका टोली सहभागी थिए ।

प्रतियोगिताको फाइनलमा वर्ल्डलिंक कम्युनिकेसनले एनसेललाई २–१ गोलले पराजित गर्दै उपाधि जित्यो ।

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका वर्ल्डलिंकका मञ्जिल महर्जन ‘म्यान अफ द म्याच’ घोषित भए । एनसेलका प्रज्वोल प्रजापति ‘प्लेयर अफ द टुर्नामेन्ट’ चुनिए । वर्ल्डलिंकका दीपेश सापकोटाले ‘बेस्ट गोलकिपर’ तथा विकास राजभकले ‘टप स्कोरर’को पुरस्कार प्राप्त गरे ।

आयोजकका अनुसार प्रतियोगिताले विभिन्न क्षेत्रका कर्पोरेट संस्थाबीच आपसी सम्बन्ध विस्तार, सहकार्य र खेलमार्फत सौहार्दता अभिवृद्धि गर्ने अवसर प्रदान गरेको थियो ।

गोर्खा ब्रुअरीका मार्केटिङ निर्देशक रोजन अमात्यले फुटबल कार्ल्सबर्गको पहिचानसँग जोडिएको खेल भएको उल्लेख गर्दै प्रतियोगितामार्फत नेपालका कर्पोरेट संस्थाहरूलाई एउटै मञ्चमा ल्याई प्रतिस्पर्धासँगै सम्बन्ध विस्तार गर्ने अवसर सिर्जना गरिएको बताए ।

कार्ल्सबर्गले ‘कार्ल्सबर्ग समर फुटबल’ अभियानअन्तर्गत उक्त प्रतियोगिता आयोजना गरेको जनाएको छ । कम्पनीका अनुसार अभियानले नेपाली फुटबल समर्थकलाई खेलसँग अझ नजिक ल्याउने तथा कर्पोरेट समुदायबीच खेलमार्फत सम्बन्ध सुदृढ गर्ने उद्देश्य राखेको जनाएको छ ।