
काठमाडौं । आकर्षक तलबको लोभ देखाएर वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । तीन जनाले २३ लाख ६५ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार न्युजिल्याण्ड, बेलायत र लिथुआनिया जस्ता देशमा पठाइदिने प्रलोभनमा पारी बेरोजगार युवायुवतीबाट रकम असुलेर उनीहरू फरार भएका थिए । पीडितहरूको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरू को-को हुन्?
१. युवक राज पराजुली: ५० वर्षीय पराजुलीलाई काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरिएको हो । उनले एक जना पीडितलाई न्युजिल्याण्ड पठाइदिने प्रलोभन देखाई १६ लाख ६५ हजार रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ । चितवनको रत्ननगर घर भएका उनी हाल काठमाडौंमा बस्दै आएका थिए ।
२. टंक बहादुर खड्का: ३४ वर्षीय खड्कालाई काठमाडौं महानगरपालिका-६ बाट पक्राउ गरिएको हो । उनले दुई जना व्यक्तिलाई लिथुआनिया पठाइदिने भन्दै ५ लाख रुपैयाँ ठगी गरेको खुलेको छ । दोलखाको जिरी स्थायी घर भएका उनी हाल काभ्रेको बनेपामा बस्दै आएका थिए ।
३. मनिष पोदार: ३४ वर्षीय पोदारलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरिएको हो । उनले एक जनालाई बेलायत पठाइदिने भन्दै २ लाख रुपैयाँ ठगी गरेका थिए । सुनसरीको धरान स्थायी घर भएका उनी हाल काठमाडौंको बुढानिलकण्ठमा बस्दै आएका थिए ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले युवाहरूलाई आकर्षक तलब र सुविधाको प्रलोभन देखाएर विश्वासमा पार्ने र ठूलो रकम असुल्ने गरेका थिए । रकम लिएपछि लामो समयसम्म झुलाएर राख्ने र अन्तमा सम्पर्कविहीन हुने गरेको अनुसन्धानबाट खुलेको छ ।
पीडितहरूले दिएको जाहेरी दरखास्तका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई असार ५ गते पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक काबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरी उपरीक्षक शरद कुमार थापा क्षेत्रीले जानकारी दिए।








प्रतिक्रिया