
विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित सरकारी निवासमा प्रहरी टोली पुगेको भन्दै सरकारको आलोचना भइरहेको छ ।
रातिको समयमा मन्त्री निवासमा नभएको बेलामा प्रहरीले छापा मारेको भन्दै संघीय संसदमा प्रश्नसमेत उठेको छ । तर प्रहरी र स्थानीय प्रशाशनले भने मन्त्रीको क्वार्टरमा छापा मारेको विषयलाई अस्वीकार गरेको छ ।
फरार अभियुक्तको खोजीका क्रममा प्रहरी त्यहाँ पुगेको उनीहरूको दाबी छ ।
धनकुटाबाट निर्वाचित सांसद राजेन्द्र राईले संसदमा प्रदेश सरकारका मन्त्रीको निवासमा छापा मारिएको भन्दै आपत्ति जनाए र नयाँ सरकारले किन यस्तो गरिरहेको छ भन्दै प्रश्न गरे ।
यसो भन्छन् प्रदेश मन्त्री इन्द्रमणि पराजुली
यस विषयमा हामीले प्रदेशका मन्त्री इन्द्रमणि पराजुलीसँग टेलिफोनमा कुराकानी गरेका छौं । एक कार्यक्रमका लागि संखुवासभाको खाँदबारीमा रहेका मन्त्रीले घटनाबारे प्रहरीलाई नै सोध्न आग्रह गरे ।
‘अहिले म त जिल्ला बाहिर छु । म विराटनगरमै छैन । त्यहाँ पुलिसलाई नै थाहा होला के के गरेको, उसैलाई सोध्नु पर्ने भयो । मलाई केही थाहा छैन,’ उनले भने ।
घटनाबारे आफूले पनि पछि फोन आएपछि मात्र थाहा पाएको उनको भनाइ छ ।
एकजना पीएसओ र काम गर्ने बहिनी रहेको र दुबै जना बाहिर खाना खान गएको बेला घटना भएको जानकारी आएको उनको भनाइ छ ।
त्यसक्रममा पीएसओले मेन गेटमा मात्र चाबी लगाएर गएको समयमा केही व्यक्ति घरभित्र प्रवेश गरेको र कोठाहरूमा पसेको पाइएको उनको भनाइ छ ।
योजनावद्ध रुपमा प्रहरी आफ्नो निवासमा गएको उनको भनाइ छ ।
‘उसले बाहिर गेटमा मात्रै चाबी लाएर हिँडेछन् के । अनि भित्र फुत्फुत् त्यहाँबाट नाघेर पर्खाल नाघेर झ्याल उघारेर सबै कोठा सबै भित्र पसेछन् है । छट्पट्टि नाचेछन् ती कोठामा । के उठाएका, त्यो त्यतिकै धम्क्याउन त तर्काउनका लागि के उठाउँछन् होला ? त्यो रवाफ प्रयोग गर्न डिजाइनमै गएका हुन् ती केटाहरू,’ उनले भने ।








प्रतिक्रिया