फ्रम फार्म टु फाइनान्स: ७ उत्कृष्ट महिला कृषि सहकारीलाई बैंक ऋणको सुनिश्चितता

35
Shares

काठमाडौं । दूध र मासु उत्पादनदेखि बजारीकरणसम्मको प्रक्रियामा वर्षौंदेखि काम गरिरहेको हेफर इन्टरनेशनलले नेपालमा पहिलो पटक ‘फ्रम फार्म टु फाइनान्स’ (खेतदेखि वित्तसम्म) कार्यक्रमको सुरुवात गरेको छ ।

हेफर इन्टरनेशनलले ‘फ्रम फार्म टु फाइनान्स’ कार्यक्रमको पहिलो शृंखलाअन्तर्गत शुक्रबार राष्ट्रिय पिचिङ कार्यक्रम आयोजना गरेको हो ।

यो कार्यक्रमअन्तर्गत छनोट भएका उत्कृष्ट उदयीमान महिला कृषि उद्यमी सहकारी संस्था, बैंकर, कृषि, वन तथा पर्यावरण मन्त्रालय, कृषि उपज खरिदकर्ता तथा निर्यातकर्ता, सहजकर्तालाई एउटै प्लेटफर्ममा राखेर त्यस्ता सहकारी संस्थालाई व्यापार व्यवसाय अघि बढाउन आवश्यक पर्ने थप लगानी खोजिदिने प्रक्रिया सुरु भएको छ ।

कार्यक्रमअन्तर्गत छनोट भएर आएका महिला कृषि उद्यमी सहकारी संस्थाले प्रस्तुत गर्ने व्यावसायिक कार्ययोजनाको आधारमा नेपालका सानादेखि ठूला बैंकहरूले उक्त कार्यक्रमकै क्रममा लगानीको स्रोत जुटाइदिने प्रमुख उद्देश्य रहेको हेफर इन्टरनेशनल नेपालका बिजिनेस डेभलपमेन्ट एण्ड एक्सेस टु फाइनान्स लिड प्रकाश कटुवालले जानकारी दिए ।

उनका अनुसार पहिलो शृंखलाअन्तर्गत हेफर इन्टरनेशनलसँग १८ जिल्लामा आबद्ध ३०० भन्दा बढी महिला उद्यमी सहकारी संस्थाले प्रतिस्पर्धा गरेका थिए ।

लगातार ३ वर्षसम्म नाफा गरेको, बिजिनेस ग्रोथ गरिरहेको, लगानीयोग्य र लगानीका लागि तयारी अवस्थामा रहेका मापदण्डका आधारमा ३०० मध्ये ३० वटा महिला कृषि उद्यमी सहकारी संस्था छनोटमा परेका थिए । हेफरमा ४४ जिल्लाका महिला कृषि उद्यमी सहकारी संस्था आबद्ध छन् ।

त्यसमध्ये पनि विभिन्न मापदण्डका आधारमा १७ वटा र अन्त्यमा लुम्बिनी प्रदेशबाट तीन, मधेश प्रदेशबाट १, बागमती प्रदेशबाट १ र गण्डकी प्रदेशबाट २ वटा गरी ७ वटा महिला कृषि उद्यमी सहकारी संस्था छनोट भएका थिए । छनोटमा परेका १७ वटा संस्थाले ६ महिनाका लागि २५ करोडको ऋण माग गरेका थिए भने अन्तिम ७ को सूचीमा परेका संस्थाहरूले १ वर्षका लागि १२ करोड रुपैयाँ ऋण सहयोगको माग अघि सारेका छन् ।

जसअनुसार लुम्बिनी प्रदेशको पाल्पाको निस्दी गाउँपालिकास्थित गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्था, लमही नगरपालिकास्थित नीलकण्ठ सामाजिक उद्यमी महिला सहकारी संस्था र समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्था, मधेश प्रदेशको सर्लाहीको हरिपुरस्थित हरिपुर सामाजिक उद्यमी महिला सहकारी संस्था, बागमती प्रदेशको सिन्धुलीको कमलामाईस्थित कमलामाई सामाजिक उद्यमी महिला सहकारी संस्था, गण्डकी प्रदेशको माछापुच्छ्रे गाउँपालिकास्थित प्रतिभा सामाजिक उद्यमी महिला सहकारी संस्था र देवचुली नगरपालिकास्थित सकलादेवी सामाजिक उद्यमी महिला सहकारी संस्था ‘फ्रम फार्म टु फाइनान्स’ कार्यक्रमका लागि योग्य भएका थिए ।

यसरी छनोट भएका ७ वटै संस्थाका प्रतिनिधिहरूले शुक्रबार हेफर इन्टरनेशनलद्वारा आयोजित पहिलो शृंखलाअन्तर्गत आफ्नो व्यापार व्यवसायलाई थप उत्पादनमुखी र बजारमुखी बनाउन बैंक तथा वित्तीय संस्थाहरूका अगाडि आफ्नो व्यावसायिक योजना प्रस्तुत गरेका थिए ।

प्रस्तुतीकरण कार्यक्रममा जुरीको जिम्मेवारी आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्लोबल आईएमई बैंक, कृषि, वन तथा पर्यावरण मन्त्रालय, नेपाल राष्ट्र बैंक, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, लक्ष्मी सनराइज बैंकलगायतका प्रतिनिधिले निभाएका थिए ।

प्रस्तुतीकरणपछि आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले होलसेल ऋण लगानी गर्न तयार भएका छन् भने ग्लोबल आईएमई र लक्ष्मी सनराइजले वर्किङ क्यापिटलको क्षेत्रमा ऋण लगानी गर्न तयार भएका छन् । लगानी गर्न तयार भएका वित्तीय संस्थाहरूले फिल्ड भेरिफिकेसनपश्चात् आवश्यकताअनुसार ऋण प्रवाह गर्नेछन् ।

यस्ता छन् उत्कृष्ट ७ महिला कृषि उद्यमी सहकारीको अवस्था:

राष्ट्रिय पिचिङ कार्यक्रममा नेपालका सातवटा लगानीयोग्य महिला सहकारीहरूले आफ्नो वित्तीय विवरण प्रस्तुत गर्दै व्यवसाय विस्तारका लागि कुल ९ करोड २० लाख रुपैयाँ थप ऋणको माग गरेका छन् ।

दाङको लमहीमा रहेको समुन्नति सहकारी (८१० सदस्य) ले १९.२० करोडको वासलात र १६.६२ करोड निक्षेपसहित सबैभन्दा धेरै ४ करोड रुपैयाँ ऋण माग गरेको छ । यसको जगेडा कोषमा ३५.५२ लाख छ भने हालको नाफा ५.६२ लाख रुपैयाँ रहेको छ।

दाङकै अर्को नीलकमल सहकारी (१४५८ सदस्य) ले १.५० करोड ऋण माग गरेको छ । यसको वासलात ८.१० करोड, निक्षेप ४.९५ करोड र नाफा ११.३० लाख रुपैयाँ छ ।

कास्कीको प्रतिभा सहकारी (६१० सदस्य) ले १ करोड ऋण माग गरेको छ । यसको जगेडा कोष १.७३ करोड, वासलात ५.९९ करोड, निक्षेप २.३० करोड र नाफा ४४.४ लाख रुपैयाँ रहेको छ ।

सर्लाहीको हरिपुर सहकारी (८७४ सदस्य) ले पनि १ करोड ऋण माग गरेको छ, जसको वासलात ७.१९ करोड, निक्षेप २.८० करोड र नाफा १९.८६ लाख रुपैयाँ छ ।

नवलपुरको सकलादेवी सहकारी (९९८ सदस्य) ले १ करोड थप ऋणको प्रस्ताव गरेको छ । यसको वासलात ७.४९ करोड र नाफा २०.०८ लाख छ ।

सिन्धुलीको कमलामाई सहकारी (४०० सदस्य) ले उत्पादित सामग्रीको ब्रान्डिङका लागि ५० लाख माग गरेको छ । यसको वासलात १.९३ करोड र नाफा १५.११ लाख छ । यस्तै, पाल्पाको गल्धा सहकारी (५६२ सदस्य) ले २० लाख ऋण माग गरेको छ, जसको वासलात ४.७५ करोड र नाफा १०.९२ लाख रुपैयाँ छ ।

यी सहकारीहरूले संकलन गरेको निक्षेप र प्रवाह गरेको कर्जाको अनुपात सन्तुलित देखिन्छ, जसले बैंक तथा वित्तीय संस्थाहरूलाई लगानीका लागि बलियो आधार प्रदान गरेको छ । थप माग गरिएको ऋण रकम मुख्यतया पशुपालन, कृषि उत्पादन विविधीकरण र बजार विस्तारमा खर्च गरिनेछ ।

Skip This