
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बजेटमा अंकगणितीय हिसाब नमिलेको तथ्यलाई स्वीकार गरेका छन् ।
प्रधानमन्त्री कार्यालयका लागि विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा बिहीबार प्रतिनिधि सभामा अर्थमन्त्री वाग्लेले मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) मा प्राविधिक समस्या देखिएका कारण हिसाबमा भिन्नता आएको बताएका हुन् ।
विशेषगरी सूचना प्रविधि विभाग र राष्ट्रिय साइबर सुरक्षा केन्द्रको पुँजीगततर्फको कार्यक्रमहरू एक्सल सिटमा ‘रो’हरू लुकेका कारण (हाइड हुँदा) बजेट पुस्तिकामा सबै विवरण नदेखिएको उनको दाबी छ । तर, यसबाट कूल विनियोजित बजेटको अंकमा भने कुनै फरक नपरेको उनको भनाइ छ ।
बजेटको यो त्रुटिलाई श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई ले संसद्मा उठाएका थिए । साम्पाङले बजेट पुस्तिकाका विभिन्न पानाहरूमा उल्लेख गरिएको रकम र त्यसको वास्तविक जोड नमिलेको भन्दै सरकारको आलोचना गरेका थिए । उनले प्रधानमन्त्री कार्यालयको बजेट ब्रेकडाउनमा पूर्णता नरहेको र विवरणहरू अपुरो रहेको औंल्याएका थिए ।
सांसद साम्पाङले बजेट पुस्तिकाको पाना नम्बर १६ मा पुँजीगततर्फ ११०६.४३ लेखिए पनि त्यस भित्रका शीर्षकहरू जोड्दा ११०३.४३ मात्रै हुने तथ्यांक प्रस्तुत गरेका थिए ।
त्यस्तै, पाना नम्बर २० र २१ मा पनि चालु खर्च ६४ भनिए पनि वास्तविक जोड ५३.५८ मात्रै आउने त्रुटि उनले देखाए । पाना नम्बर २७ र २८ मा कूल बजेट १५३ लेखिएको ठाउँमा हिसाब गर्दा १४३ मात्रै निस्कने भन्दै उनले यस्ता थुप्रै ठाउँमा हिसाब नमिलेको भन्दै अर्थमन्त्रीमाथि प्रश्न गरेका थिए।
साम्पाङले सामान्य जोडघटाउमा समेत विद्वान अर्थमन्त्री सरकार चुकेको देख्दा यो नियतवश गरिएको हो वा भुलवश भएको हो भन्दै जवाफ मागेका थिए ।
‘बजेटको आधारभूत अंकगणितमै हामी फेल भइरहेका छौँ भने देशका लागि सही नीति कसरी बन्न सक्छ ?’ भन्दै उनले एकमा एक जोड्दा दुई हुनुपर्नेमा तीन लेखिनु सामान्य गल्ती मात्र हुन नसक्ने तर्क गरे । यसरी सांसदले तथ्यसहित प्रश्न उठाए पछि अर्थमन्त्री वाग्लेले प्राविधिक कारणले यस्तो हुन गएको भन्दै कमजोरी स्वीकार गरेका हुन् ।






प्रतिक्रिया