
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनका लागि करिब ४ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको जनाएको छ ।
बिहीबार पार्टीको सचिवालय बैठकको निर्णय सुनाउँदै पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार महाधिवेशनको खर्च प्रतिनिधिहरूबाट उठाइने दर्ता शुल्क र पार्टीका सदस्य तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोग मुख्य स्रोत हुनेछ ।
‘हाम्रो महाधिवेशनको खर्च करिब ४ करोड जति हुने अनुमान छ । त्योमध्ये प्रतिनिधिहरू हामीले रजिस्ट्रेसन शुल्कहरू तिर्छौँ र बाँकी रकम पार्टीकै सदस्यहरू, शुभचिन्तकहरूबाट सहयोगहरू आउँछ,’ उनले भने ।
महाधिवेशन व्यवस्थापनका लागि आवश्यक सेवा तथा सामग्री उपलब्ध गराउने प्रदायक संस्थाहरूसँग आवश्यक सहुलियतका विषयमा छलफल भइरहेको बुर्लाकोटीले बताए ।
केही सेवा प्रदायकहरूले नाफा नलिई वा न्यूनतम शुल्कमा सेवा उपलब्ध गराउने प्रस्ताव गरेको उनको भनाइ छ ।
क्याटरिङलगायत धेरै खर्च हुने व्यवसायीहरूले नाफा नलिई लागतका आधारमा मात्रै शुल्क लिने प्रस्ताव गरेको उनको भनाइ छ।
‘हामीले सम्बन्धित प्रोभाइडर, सर्भिस प्रोभाइडर अथवा गुड्स प्रोभाइडरहरूसँग छुट दिने भन्ने विषयमा छलफल भइराखेको छ । जस्तै क्याटरिङमा हाम्रो ठूलो खर्च हुन्थ्यो, क्याटरिङवालाले नै हामी नाफा लिँदैनौँ, हामी नाफा कटाएर मात्रै तपाईंहरूलाई चार्ज गर्छौँ भन्ने यस्तो खाले प्रस्तावहरू आएको छ । यो सबै प्रस्तावहरू हेर्दाखेरि र सबै साथीभाइहरूको उत्साह हेर्दाखेरि महाधिवेशनको खर्च हामीले जुटाउन सक्छौँ,’ उनले भने ।
उनले विभिन्न क्षेत्रबाट प्राप्त हुने सहयोग र कार्यकर्ताको उत्साहले पनि महाधिवेशनका लागि आवश्यक खर्च जुटाउन सकिने आधार दिएको बताए ।
असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन हुँदै छ ।






प्रतिक्रिया