
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालको दुरुपयोग गरी विवाहको झुटो प्रलोभनमा पारेर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एक दम्पतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा स्याङ्जाको भीरकोट नगरपालिका वडा नं. ०२ घर भई हाल काठमाडौंको माछापोखरी बस्ने ३१ वर्षीय सञ्जिव नेपाली र उनकी श्रीमती ३३ वर्षीया अनुष्का भन्ने सरिता पराजुली रहेका छन् । पराजुलीको स्थायी ठेगाना काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका वडा नं. १२ रहेको प्रहरीले जनाएको छ ।
यसरी गर्थे ठगी
सञ्जिवले टिकटकमा ‘प्रिन्स तामाङ’ को नाममा आइडी बनाएका थिए । उनले आफू अमेरिकामा रहेको र नेपाली बोल्न नआउने भन्दै अङ्ग्रेजी भाषामा कुराकानी गरी पीडितलाई विश्वासमा पारेका थिए ।
आफ्नो अनुहार समेत नदेखाई कुराकानी गर्ने उनले पीडितलाई विवाह गरेर अमेरिका लैजाने प्रलोभन देखाएका थिए ।
ठगी गर्ने योजनाअनुसार सञ्जिवले आफ्नै श्रीमती सरिता पराजुलीलाई ‘सरगम तामाङ’ बताएको र सरगम बहिनी रहेको भन्दै ह्वाट्सएपमार्फत पीडितलाई कुराकानी गर्न लगाएका थिए। उनीहरूले विभिन्न बहानामा पीडितबाट पटक-पटक गरी जम्मा १५ लाख १० हजार ५०० रुपैयाँ ठगी गरेको साइबर ब्युरोमा उजुरी परेको छ ।
पीडितले दिएको निवेदनका आधारमा प्राविधिक अनुसन्धान गरी ब्युरोबाट खटिएको टोलीले उनीहरूलाई २०८३ असार २ गते काठमाडौँबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैलाई विद्युतीय माध्यम सम्बद्ध ठगी अपराध मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिएका छन् ।








प्रतिक्रिया