
काठमाडौं । अथर्व टेक्सटाइलको निर्माण लागत १० प्रतिशतले बढेको छ । कम्पनीको लागत सुरुमा अनुमानित रकमभन्दा १० प्रतिशतले बढेको हो ।
कम्पनीले सुरुमा ६४ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गर्ने योजना बनाएको थियो । उक्त लागत बढेर अहिले ८२ करोड ८० लाख रुपैयाँ पुग्ने जनाएको छ । हालसम्म कर्जाको व्यवस्थापन भइसकेको छ। कम्पनीले आगामी असारदेखि व्यावसायिक कारोबार सुरु गर्ने योजना बनाएको छ।
कम्पनीका अनुसार उद्योग निर्माण गर्न १३ महिना ढिला हुँदा लागत बढेको हो । कम्पनीले लगानीको अनुपात ६९:३१ राखेको छ।
कम्पनीले रौतहट, हर्षहामा उद्योग स्थापना गरी निटिङ युनिट, डाइइङ युनिट र प्रोसेसिङ युनिट स्थापना गरी वार्षिक ३ हजार ६ मेट्रिक टन क्षमतामा सञ्चालन गर्ने जनाएको छ । कम्पनीले कटन, सिन्थेटिक र ब्लेन्डेड फ्याब्रिकका कपडा उत्पादन गर्ने जनाएको छ ।
शम्भुकुमार चौधरी र मधु जैसवालको स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७१ करोड ६९ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ५१ करोड ६९ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २० करोड रुपैयाँको रेटिङ गराएको हो।








प्रतिक्रिया