
एजेन्सी । खाडी क्षेत्रबाट हुने ऊर्जा निर्यातलाई निरन्तरता दिन अमेरिकी सेनाले दर्जनौं गोप्य शिप–टु–शिप (जहाजबाट जहाजमा) तेल स्थानान्तरण कार्यको नेतृत्व गरिरहेको छ । यस अपरेशनमा तेल बोकेका जहाजहरूलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन हवाई र पानीमा चल्ने ड्रोनका साथै हेलिकप्टरहरूको प्रयोग भइरहेको छ ।
हर्मुज जलयोजकको छेउमा भइरहेको यस कार्यमा शटलिङ (आउजाउ गर्ने) प्रविधि अपनाइएको छ जुन इरानले लामो समयदेखि प्रतिबन्धहरू छल्नका लागि प्रयोग गर्दै आएको थियो । यस अपरेशनका बारेमा जानकारी भएका ११ जना व्यक्तिहरूका अनुसार, तेल स्थानान्तरणका लागि दुईवटा विशेष स्थानहरू तोकिएका छन्ः संयुक्त अरब अमिरातको फुजैराह तट नजिक र अर्को ओमानको सोहार बन्दरगाह नजिक ।
रोयटर्सले अध्ययन गरेको ढुवानी तथ्यांक र भूउपग्रह तस्बिरहरूका अनुसार, मे महिनाको सुरुदेखि अहिलेसम्म कम्तीमा ९२ वटा जहाजहरू यस कार्यमा संलग्न छन् ।
जुन ११ सम्मको भूउपग्रह तस्बिरमा १७ जोडी जहाजहरूले यी दुई स्थानमा एकसाथ तेल स्थानान्तरण गरिरहेको देखिएको छ ।
जुन ९ मा इरानले खसालेको अमेरिकी अपाचे हेलिकप्टर पनि यसै मिसनमा संलग्न रहेको चारवटा स्रोतहरूले पुष्टि गरेका छन् ।
सोही घटनापछि अमेरिकाले इरानमाथि जवाफी बमवर्षा गरेको थियो । अपाचे खसालिएको दिन सोहार बन्दरगाह नजिकैको सानो क्षेत्रमा ६ जोडी ट्यांकर जहाजहरू झुण्डिएर बसेको रोयटर्सले भू–उपग्रह तस्बिरमार्फत गणना गरेको थियो ।
यस अपरेशनमा अपाचे हेलिकप्टरको ठ्याक्कै भूमिका के थियो भन्नेबारे रोयटर्सले स्वतन्त्र पुष्टि गर्न सकेको छैन । तर, अमेरिकी रक्षा अधिकारीले कुनै पनि सेन्ट्रल कमान्ड बलले तेल स्थानान्तरण कार्यमा भाग नलिएको दाबी गरेका छन् ।
अधिकारीहरूका अनुसार, खसालिएको हेलिकप्टरका दुवै चालक दलका सदस्यलाई ड्रोन बोटमार्फत उद्धार गरिएको थियो ।
हर्मुज जलयोजकको निकास नजिकै रहेका यी दुई स्थानहरू इरानले हर्मुज व्यवस्थापनका लागि भर्खरै स्थापना गरेको पर्सियन गल्फ स्ट्रेट अथोरिटीले तोकेको सीमा नजिकै पर्छन् । इरानको आदेश पालना नगर्ने जहाजहरूमाथि इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले ड्रोन र मिसाइल आक्रमण गर्ने जोखिम रहन्छ ।
यो अमेरिकी नेतृत्वको अपरेशन चलिरहेकै बेला फुजैराह बन्दरगाहमा पनि पटक–पटक इरानी आक्रमण भएको छ । बेलायती समुद्री जोखिम व्यवस्थापन समूह भ्यानगार्डका अनुसार, गएको सप्ताहान्तमा ओमानको तटमा एक ट्यांकरमा अज्ञात वस्तुले प्रहार गरेको थियो । उक्त प्रहारबाट केही तेल चुहिए पनि चालक दल सुरक्षित रहेको र वातावरणीय क्षति नभएको भ्यानगार्डले जनाएको छ ।
अमेरिका–इजरायल युद्धको प्रतिक्रिया स्वरूप इरानले हर्मुज जलयोजक प्रभावकारी रूपमा बन्द गरिदिएपछि विश्वव्यापी ऊर्जा आपूर्तिमा इतिहासकै ठूलो अवरोध सिर्जना भएको छ । यसले विश्वभरि मुद्रास्फीति बढाएको छ । जोखिमपूर्ण र झन्झटिलो भए पनि यो शिप–टु–शिप स्थानान्तरण खाडीको तेल प्रवाह सुचारु गर्न ट्रम्प प्रशासनले गरेको प्रयासको एक हिस्सा देखिन्छ ।
यस अपरेशनमा संलग्न एक निजी सुरक्षा ठेकेदार सहित आठवटा स्रोतहरूले यो कार्य पूर्ण रूपमा अमेरिकी सेनाको नियन्त्रणमा रहेको बताएका छन् ।
ट्यांकर जहाजहरू जलयोजकमा पुग्नुअघि एक निश्चित मिलनविन्दुमा पुग्नुपर्छ र त्यसपछि ३ हजारदेखि ४ हजार मिटरको दूरी कायम गरेर पालैपालो अघि बढ्नुपर्छ । यात्राका क्रममा उनीहरूको ट्रान्सपोन्डर (अवस्थिति देखाउने यन्त्र) बन्द हुन्छ र बत्तीहरू निभाइन्छ ।
अमेरिकी सेनाले निश्चित वेपोइन्ट (निगरानी विन्दु) मार्फत उनीहरूको प्रगतिको अनुगमन गरिरहेको हुन्छ ।
जहाजहरू इरानको नियन्त्रण क्षेत्रभन्दा केही बाहिर निस्केपछि साना ट्यांकरहरूले भेरी लार्ज क्रुड क्यारियर भनिने विशाल जहाजहरूको छेउमा पुगेर तेल स्थानान्तरण सुरु गर्छन् । यो प्रक्रिया पूरा हुन २४ देखि ४० घण्टा लाग्छ । तेल खन्याएपछि खाली ट्यांकरहरू पुनः जलयोजक भएर फर्किन्छन् र तेल भरिएका विशाल जहाजहरू आफ्नो गन्तव्यतर्फ लाग्छन् ।
इरानी नाकाबन्दीका बावजुद केही ढुवानी कम्पनीहरू आफ्ना जहाजहरू जलयोजकबाट लैजान तयार भएका कारण नै यो कार्य सम्भव भएको हो । तर, यो निकै जोखिमपूर्ण छ । वाशिङटन इन्स्टिच्युटका सिनियर फेलो नोआम रेदानका अनुसार, इरानले कुन बेला ड्रोन वा बन्दुकधारी डुंगाहरू प्रयोग गरेर यी जहाजलाई रोक्न खोज्छ भन्ने कुनै ठेगान छैन ।
प्रतिबन्ध छल्नका लागि इरानले वर्षौंदेखि प्रयोग गर्दै आएको यो प्रविधि अहिले अमेरिकाले अपनाउनुलाई काउन्सिल अन फरेन रिलेसन्सका अध्यक्ष माइकल फ्रोम्यानले विडम्बनापूर्ण भनेका छन् । उनले यसलाई चीन, रुस, उत्तर कोरिया र स्वयम् इरानको डार्क फ्लिट (लुकीछिपी चल्ने जहाज) को रणनीतिसँग तुलना गरेका छन् ।
यस अपरेशनमा अन्तर्राष्ट्रिय ट्यांकर अपरेटरहरूको वर्चस्व छ । ग्रीसस्थित डायनाकम ट्यांकर म्यानेजमेन्टका संस्थापक जर्ज प्रोकोपियोले एथेन्समा भएको एक सम्मेलनमा स्वतन्त्र रूपमा जहाज चलाउन पाउनु अनिवार्य रहेको र ग्रीसको इतिहास प्राचीन कालदेखि नै नाकाबन्दी तोड्ने रहेको बताएका थिए ।
तर, यस नयाँ प्रणालीले उद्योगमा आफ्नै जोखिमहरू पनि थपेको छ । जहाजहरूको स्थान देखाउने यन्त्र र बत्तीहरू निभाइने हुनाले रातको समयमा जहाजहरू आपसमा ठोक्किने डर रहने ढुवानी अधिकारीहरूले बताएका छन् । यस प्रणालीमा सहभागी हुन चाहने अपरेटरहरूले बहराइनस्थित अमेरिकी जलसेनाको कार्यालयमा आफ्नो विवरण बुझाएर कम्प्लायन्स रिभ्यू (नियम पालनाको जाँच) गराउनुपर्ने हुन्छ ।
अनुमोदन पाएपछि मात्र जहाजहरूलाई यात्राका लागि समय दिइन्छ । यस अपरेशनमा संयुक्त अरब अमिरातको निर्यातको ठूलो हिस्सा छ र त्यहाँको सरकारी कम्पनी एड्नोक यसमा निकै सक्रिय छ । त्यस्तै, कुवेत आयल ट्यांकर कम्पनीले पनि यसै प्रणालीमार्फत जुन ६ मा सोहार तटमा करिब २३ लाख ब्यारल कच्चा तेल स्थानान्तरण गरेको तथ्यांकले देखाउँछ ।
समुद्री जोखिम विशेषज्ञ रेदानका अनुसार, यो कुनै स्थायी समाधान होइन । यो त असाधारण समयमा अपनाइएको एउटा अस्थायी उपाय मात्र हो ।











प्रतिक्रिया