राष्ट्र बैंकमा तीन डेपुटी गभर्नर बनाउन सांसदहरूको प्रस्ताव, एक जना बाहिरबाट


काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरको संख्या थप गर्न सांसदहरूले राष्ट्र बैंक ऐनमा संशोधन प्रस्ताव दर्ता गरेका छन् ।डेपुटी गभर्नरको संख्या थप गरी राष्ट्र बैंक बाहिरका विज्ञलाई डेपुटी गभर्नर नियुक्त गर्ने गरी संशोधन दर्ता गराएका हुन् ।

प्रतिनिधि सभामा दर्ता भएको ‘नेपाल राष्ट्र बैंक ऐन’ को संशोधन विधेयकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले डेपुटी गभर्नरको संख्या २ बाट ३ जना पुर्‍याउने गरी संशोधन हालेका हुन् । उनीहरूले छुट्टाछुट्टै संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

रास्वपाका सांसद सुशील खड्का, नेकपाका सांसद रमेश मल्ल र राप्रपा सांसद खुश्बु ओलीले डेपुटी गभर्नरको संख्या ३ जना पुर्‍याउन संशोधन हालेका हुन् । थपिने तेस्रो डेपुटी गभर्नर राष्ट्र बैंक बाहिरको विज्ञलाई नियुक्त गर्नुपर्ने गरी संशोधन प्रस्ताव दर्ता भएको हो । राष्ट्र बैंक ऐन संशोधन विधेयकमा १८ सांसदले संशोधन दर्ता गराएको संसद् सचिवालयले जनाएको छ ।

सांसदहरूले हालेको संशोधन प्रस्तावमा राष्ट्र बैंकको सञ्चालक समितिलाई समावेशी बनाउँदै एक जना महिला सञ्चालक हुनुपर्ने उल्लेख छ । ७ सदस्य रहने राष्ट्र बैंक सञ्चालक समितिलाई राष्ट्र बैंक ऐन संशोधन विधेयक मार्फत ९ सदस्य बनाउन प्रस्ताव गरिएको छ ।

हाल अधिकृत विशिष्ट श्रेणी अर्थात् (कार्यकारी निर्देशक) हरूबाट गभर्नरले रिक्त रहेको डेपुटी गभर्नरको दोब्बर संख्यामा सिफारिस गर्ने र त्यसमध्येबाट मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ । गत फागुनमा दुवै डेपुटी गभर्नर रिक्त भएकोमा एक जना नियुक्त गरे पनि सरकारले दोस्रो डेपुटी गभर्नर नियुक्त गरेको छैन ।

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा सांसदहरूले तेस्रो डेपुटी गभर्नर थप गर्न संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

Skip This