राष्ट्र बैंकमा किन ३ जना डेपुटी गभर्नर चाहियो ? भन्दै अर्थमन्त्री खतिवडा जंगिएपछि…



काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन संसोधनका लागि गठन भएको कार्यदलमा ३ जना डेपुटी गभर्नर राख्नुपर्नेमा करिबकरिब एकमत भइसकेको थियो ।

राष्ट्र बैंकका दुबैजना डेपुटी गभर्नर सदस्य रहेको उक्त कार्यदलले राष्ट्र बैंकभित्र छलफल गर्दा सबैले ३ जना डेपुटी गभर्नर राख्ने प्रस्ताव ठीक भएको धारणा व्यक्त गरेका थिए ।

गभर्नर डा. चिरञ्जीबी नेपाल पनि ३ जना डेपुटी गभर्नर राख्नुपर्नेमा सहमत थिए ।

कार्यदलले राष्ट्र बैंक ऐनको संसोधनमा ३ जना डेपुटी गभर्नर राख्ने प्रस्ताव गर्ने निधो निकाल्यो ।

मुलुक संघीयतामा गएको, बैंक तथा वित्तीय संस्थाहरुको संख्या र पुँजी ठूलो हुँदै गएकाले दुई जना मात्रै डेपुटी गभर्नर हुँदा कामको चाप अत्याधिक भएको भन्दै ३ जना डेपुटी गभर्नरको आवश्यकता औंल्याएको थियो ।

त्यतिमात्रै होइन, बाहिरबाट मौद्रिक तथा अर्थशास्त्रको विज्ञलाई ल्याएर डेपुटी गभर्नर बनाउँदा राष्ट्र बैंकको प्रस्तुति पनि बलियो हुन्छ भन्नेमा राष्ट्र बैंकका अधिकारीहरुको एकमत थियो ।

अहिले राष्ट्र बैंकका बहालवाला कार्यकारी निर्देशकहरुमध्येबाट २ जनालाई सरकारले डेपुटी गभर्नर नियुक्त गर्छ ।

नेपालमा भने सरकार र अर्थमन्त्रीले राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार गरिरहेका हुन्छन् ।

विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एशियाली विकास बैंक लगायतका अन्तर्राष्ट्रिय संस संस्थामा काम गरेर खारिएकाहरु र देशभित्रै पनि बैंकिङ तथा अर्थशास्त्रका विज्ञ व्यक्तिहरुलाई राष्ट्र बैंकको डेपुटी गभर्नर बनाउँदा बाहिरी कुराहरु पनि समेटिन्थे । र, ३ जना डेपुटी गभर्नर हुँदा एउटाले प्रशासन, अर्कोले नियमन र अर्कोले नीतिगत कुरा हेर्दा राष्ट्र बैंकको प्रस्तुति निकै बलियो हुने राष्ट्र बैंकका व्यवस्थापनको तर्क छ ।

केही समयअघि राष्ट्र बैंक ऐनको संसोधन प्रस्तावलाई करिबकरिब निचोडमा पुर्याएर राष्ट्र बैंकको टोली अर्थमन्त्री डा. युवराज खतिवडालाई ब्रिफिङ गर्न अर्थ मन्त्रालय पुग्यो ।

ब्रिफिङ गर्ने क्रममा जब ३ जना डेपुटी गभर्नर राख्ने प्रस्तावको कुरा आयो । तब अर्थमन्त्री खतिवडा झोंकिए ।

‘राष्ट्र बैंकलाई किन ३ जना चाहियो डेपुटी गभर्नर ?’ अर्थमन्त्री खतिवडाले प्रतिप्रश्न गरे ।

‘कामको बोझ बढी छ, ३ जना भए राष्ट्र बैंकले बलियो प्रस्तुति दिन सक्छ,’ ब्रिफिङमा सहभागी एक डेपुटी गभर्नरले अर्थमन्त्रीलाई प्रष्ट्याउन चाहे ।

‘भो भो यस विषयमा यो भन्दा बढी भन्नु पर्दैन, राष्ट्र बैंकलाई २ जना डेपुटी गभर्नर नै काफी छ, ३ जना राख्ने प्रस्ताव गर्दै नगर्नुहोस्,’ अर्थमन्त्रीको यस्तो जवाफपछि ब्रिफिङका लागि गएको राष्ट्र बैंकको टोली चुप बस्यो ।

‘अर्थमन्त्रीज्यू, ठूल्ठूला विषयतिर लाग्नुपर्ने तर राष्ट्र बैंकको माइक्रो म्यानेजमेन्टमै बढी ध्यान दिनुहुन्छ,’ स्रोतले भन्यो ।

त्यसको केहीदिन पछि राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई राष्ट्र बैंक ऐनको संसोधन मस्यौदा पठायो । मस्यौदामा ३ जना डेपुटी गभर्नर राख्ने प्रस्ताव छैन ।

३ जना डेपुटी गभर्नर राख्ने कुरा किन मस्यौदामा परेन ? राष्ट्र बैंकका स्रोतले भन्यो, ‘अचेल राष्ट्र बैंक पनि अर्थ मन्त्रालयले नै चलाउन थालेको छ । किन परेन भनेर उतै सोध्नुहोस् ।’

राष्ट्र बैंकका गभर्नरसमेत भएका डा. खतिवडा करिब एक वर्षदेखि अर्थमन्त्री छन् । खतिवडा अर्थमन्त्री भएसँगै राष्ट्र बैंकले आफ्नो स्वायत्तता गुमाउँदै आएको छ ।

‘अर्थमन्त्रीज्यू, ठूल्ठूला विषयतिर लाग्नुपर्ने तर राष्ट्र बैंकको माइक्रो म्यानेजमेन्टमै बढी ध्यान दिनुहुन्छ,’ स्रोतले भन्यो, ‘उहाँलाई अहिले पनि अर्थमन्त्रीको भन्दा गभर्नरकै धङ्धङी बढी देखियो ।’

संसारभर नै केन्द्रिय बैंकहरु स्वायत्त मानिन्छन् ।

तर, नेपालमा भने सरकार र अर्थमन्त्रीले राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार गरिरहेका हुन्छन् । अहिलेका अर्थमन्त्री डा. खतिवडाले अरु अर्थमन्त्रीको तुलनामा राष्ट्र बैंकको स्वायत्तता माथि निकै बढी हस्तक्षेप गरिरहेको राष्ट्र बैंककै अधिकारीहरुको दाबी छ ।


पुष्प दुलाल