
एजेन्सी । अमेरिकाका उपराष्ट्रपति जेडी भ्यान्सले सोमबार अमेरिका र इरानबीच प्रारम्भिक सम्झौता भएपछि अझै धेरै विवरणहरू मिलाउन बाँकी रहेको बताए । तर, उनले आगामी वार्ताहरूमा अमेरिकाको हात माथि रहेको विश्वास व्यक्त गरे ।
भ्यान्सले सीएनबीसीको स्कक बक्स कार्यक्रममा बोल्दै आगामी छलफलहरूमा इरानी विदेशमन्त्री अब्बास अराक्ची र संसद्का सभामुख मोहम्मद बागेर गालिबाफ सहभागी हुने अपेक्षा गरिएको बताए । कट्टरपन्थी मानिने गालिबाफको सहभागिताले इरानी शासनको अनुदारवादी गुट पनि यस सम्झौताको पक्षमा रहेको संकेत गर्न सक्छ ।
आइतबार भएको सम्झौताले अमेरिका–इरान युद्धविरामलाई ६० दिनका लागि लम्ब्याउनेछ र तेहरानको आणविक कार्यक्रम तथा अन्य मुख्य मुद्दाहरूका बारेमा भविष्यमा हुने वार्ताका लागि एउटा खाका तयार गर्नेछ । प्रारम्भिक सम्झौताको पूर्ण पाठ भने अझै सार्वजनिक गरिएको छैन ।
एक वरिष्ठ अमेरिकी अधिकारीले सोमबार ढिलो गरी पत्रकारहरूलाई दिएको जानकारी अनुसार, राष्ट्रपति डोनल्ड ट्रम्प, भ्यान्स र गालिबाफले समझदारी पत्रको रूपमा सम्झौतामा हस्ताक्षर गरिसकेका छन् ।
आधिकारिक हस्ताक्षर समारोह शुक्रबार जेनेभामा तय गरिएको छ ।
अर्का एक अमेरिकी अधिकारीले नाम नखुलाउने सर्तमा सम्झौताका विवरणहरू २४ देखि ४८ घण्टाभित्र सार्वजनिक गरिने जानकारी दिए । तर, वार्षिक जी–७ शिखर सम्मेलनका लागि फ्रान्स पुगेका ट्रम्पले समझदारी पत्रको पाठ शुक्रबारपछि कुनै समयमा सार्वजनिक हुने अपेक्षा गरेको बताए ।
भ्यान्सले सोमबार बिहान सीएनबीसीसँग कुरा गर्दै सम्झौताका दुई मुख्य बुँदाहरू हर्मुज जलयोजक पुनः खोल्ने र इरानले कहिल्यै आणविक हतियार विकास नगर्ने दीर्घकालीन प्रतिबद्धता सुनिश्चित गर्ने रहेको बताए । ट्रम्पले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नका लागि युद्ध सुरु भएको कुरा पटक–पटक बताउँदै आएका छन् ।
इरानले सम्झौताका प्रतिबद्धताहरू पालना गरेमा उसलाई आर्थिक प्रतिबन्धहरू खुकुलो पारेर वा अन्य अवरोधहरू हटाएर पुरस्कृत गरिने र तेहरानलाई विश्व अर्थतन्त्रमा पुनः आमन्त्रित गरिने भ्यान्सले संकेत गरे ।
‘मलाई लाग्छ, यो अमेरिकी जनताका लागि ठूलो दिन हो,’ फेब्रुअरी २८ मा सुरु भएको युद्धभरि इरानसँगको वार्तामा संलग्न रहनुभएका भेन्सले बताए ।
इरानको सरकारी सञ्चारमाध्यमले सोमबार अराक्चीलाई उद्धृत गर्दै शुक्रबार स्विट्जरल्यान्डमा सम्भवतः एउटा बैठक हुने र त्यहाँ दुवै पक्षले आधिकारिक रूपमा समझदारी पत्रमा हस्ताक्षर गरी पहिलो चरणको वार्ता गर्ने रिपोर्ट सार्वजनिक गरेका छन् ।
उपराष्ट्रपतिले सोमबार बिहान सीएनबीसीसँग कुरा गर्दै सम्झौताको अवधि ६० दिनको भए तापनि ‘हाम्रो अपेक्षा हर्मुज जलक्षेत्र दीर्घकालीन रूपमा निःशुल्क तवरले खुल्नेछ भन्ने हो’ भने ।
उनले भने, ‘यी प्राविधिक वार्ताहरूमा हामीले यस्तै कुराहरूको टुंगो लगाउनेछौं ।’
‘टुंग्याउनुपर्ने धेरै महत्त्वपूर्ण विवरणहरू छन् जसमा हामी सँगै बसेर छलफल गर्नेछौं र अगाडि बढ्ने बाटो तय गर्नेछौं,’ भ्यान्सले भने ।
तय हुन बाँकी विवरणहरू जलयोजकमा मात्र सीमित छैनन् । भ्यान्सका अनुसार, इरानले आफ्नो उच्च संवर्धित सामग्रीको भण्डार नष्ट र विसर्जन गर्न प्रतिबद्धता जनाए तापनि त्यसको प्रक्रिया भने अझै तय भइसकेको छैन ।
उनले भने, ‘र हामीले भनेका छौं, ठीक छ, हामी ठ्याक्कै कसरी त्यो गर्नेछौं भन्ने बारे कुरा गरौं’ ।
उनले थपे, ‘उनीहरू प्रतिबन्धमुक्त अर्थतन्त्रमा पहुँच चाहन्छन् । हामीले भनेका छौं, ठीक छ, हामी त्यसका लागि तयार छौं,’ तर त्यसका लागि सम्झौता अन्तर्गत लागू हुने निरीक्षण र प्रमाणीकरण प्रणालीप्रति दीर्घकालीन प्रतिबद्धता आवश्यक पर्नेछ ।’
उनले भने, ‘त्यसैले धेरै विवरणहरू ६० दिनको वार्ताका क्रममा टुंग्याइनेछन् ।’
उनले थपे, ‘हामी बलियो स्थितिमा छौं भन्नेमा हामी पूर्ण विश्वस्त छौं ।’











प्रतिक्रिया