काठमाडौं महानगरको नीति: ‘सिक्दै कमाउँदै’ देखि ‘बाइक एम्बुलेन्स’ सम्मका योजना

0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरसभाको १९औँ अधिवेशनको पहिलो बैठकमा कार्यवाहक मेयर सुनिता डंगोलले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

महानगरले यस पटक पनि काठमाडौंको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक र आधुनिक सहरी सभ्यतालाई प्रमुख आधार बनाएको छ । परिवर्तित परिवेश र महानगरवासीको चाहना अनुसार काठमाडौंलाई समावेशी, सुशासनयुक्त, प्रविधिमैत्री, सुरक्षित, स्वच्छ, स्वस्थ, हरित र नवप्रवर्तनमुखी स्मार्ट सहरका रूपमा रूपान्तरण गर्ने लक्ष्य लिइएको छ ।

महानगरले सुशासनलाई प्राथमिकता दिँदै सूचना सम्प्रेषणका लागि वेबसाइट र डिजिटल प्लेटफर्मको प्रयोग गर्ने तथा स्रोत साधनको विनियोजनलाई मितव्ययी र पारदर्शी बनाउने नीति लिएको छ ।

सबै वडामा एकद्वार सेवा केन्द्र सञ्चालन गरिनेछ भने विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ‘सिक्दै जाँदा कमाउनुहोस्’ अवधारणा अन्तर्गत इन्टर्नशिप, फेलोशिप र पार्ट-टाइम काममा संलग्न गराइनेछ । सहरको सौन्दर्य र सुरक्षामा असर पुऱ्याउने विज्ञापन सामग्रीलाई पूर्ण रूपमा निषेध गरिनेछ ।

स्थानीय विवाद समाधानमा मेलमिलापलाई प्राथमिकता दिइनेछ भने सहरी सुव्यवस्थाका लागि महानगर प्रहरी, नेपाल प्रहरी र समुदायबीच समन्वय गरिनेछ । न्यूरोड क्षेत्रको पार्किङ समस्या समाधान गर्न नेपाल वायु सेवा निगमको जग्गामा बहुतले पार्किङ निर्माणका लागि सरकारसँग पहल गरिने नीतिमा उल्लेख छ ।

महानगरले ७५ वर्ष पूरा भएका ज्येष्ठ नागरिक र पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिलाई पोषण भत्ता उपलब्ध गराउने भएको छ । ‘ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर’ अभियानमार्फत घरमै निःशुल्क स्वास्थ्य सेवा र परामर्श दिइनेछ । युवाहरूका लागि स्वरोजगार र उद्यमशीलता विकास गर्न सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिएको छ ।

महिला, बालबालिका, दलित, अल्पसंख्यक र शहीद परिवार जस्ता लक्षित वर्गका लागि विशेष सशक्तीकरण कार्यक्रम सञ्चालन गरिनेछ । ‘जेन जेड र जेन एल्फा’ लक्षित विशेष कार्यक्रम ल्याइनेछ भने नवयुवा पुस्तालाई सुशासनको संवाहक मानिनेछ । यस्तै, काठमाडौंलाई सडक आश्रित मानवमुक्त सहर बनाउने र चराचुरुङ्गीका लागि टोल-टोलमा पानी पात्र राख्ने जस्ता कार्यक्रम पनि समेटिएका छन् ।

शिक्षालाई अनुसन्धानमूलक बनाउन सूचना प्रविधिको प्रयोग गरिनेछ । विद्यार्थीको सीप विकासका लागि ‘सिर्जनात्मक शुक्रबार’ कार्यक्रमलाई प्राथमिकता दिइनेछ, जसमा सीपमूलक तालिम र खेलकुद हुनेछन् । अटिजम र डाउन सिन्ड्रोम भएका बालबालिकाका लागि विशेष विद्यालय र ज्येष्ठ नागरिक तथा गृहिणी विद्यालयको स्थापना गरिनेछ । भाषा, संस्कृति र प्राविधिक विषयमा विशेषज्ञ जनशक्ति उत्पादन गर्न ‘स्वनिगः विश्वविद्यालय’ स्थापना गर्न समन्वय गरिनेछ । विद्यालयमा स्वास्थ्यकर्मीसहितको प्राथमिक स्वास्थ्य र पोषण कार्यक्रम सञ्चालन हुनुका साथै दिवा शिशु स्याहार केन्द्रको पनि व्यवस्था गरिनेछ ।

महानगरले विपन्न र असहाय नागरिकलाई अस्पतालहरूमा १० प्रतिशत निःशुल्क उपचार गर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्ने भएको छ । साँघुरा सडकमा सेवा दिन ‘बाइक एम्बुलेन्स’ सञ्चालन गरिनेछ । महानगरवासीको मृगौला डायलसिस सेवामा सहजीकरण गर्ने, मातृशिशु तथा प्रजनन स्वास्थ्य कार्यक्रम चलाउने र सार्वजनिक स्थानमा ‘स्तनपान र हेरचाह ब्लक’ निर्माण गर्ने योजना छ । ज्येष्ठ नागरिकका लागि निमोनिया खोप, मानसिक स्वास्थ्यका लागि कल सेन्टर र मनोपरामर्श सेवा तथा आफ्नै महानगर अस्पताल निर्माण गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।

फोहरमैला व्यवस्थापनका लागि महानगरलाई ७ क्लस्टरमा विभाजन गरी प्रविधिको प्रयोग गरिनेछ । ‘सर्कुलर इकोनोमी’ लाई प्रवद्र्धन गर्दै फोहरको वैज्ञानिक व्यवस्थापनका लागि बन्चरे डाँडामा मेकानाइज्ड मेटेरियल रिकभरी फ्यासिलिटी सञ्चालन गरिनेछ ।

फोहर उत्सर्जन गर्नेले नै शुल्क तिर्ने सिद्धान्तका आधारमा एकद्वार प्रणालीबाट शुल्क संकलन गरिनेछ । वायु, जल र ध्वनि प्रदूषण नियन्त्रणका लागि प्रविधिको प्रयोग गरिनेछ भने खाली ठाउँहरूलाई ज्येष्ठ नागरिक र बालबालिका मैत्री पार्कका रूपमा विकास गरिनेछ ।

राजस्व संकलनलाई वैज्ञानिक बनाउन ‘एकीकृत करदाता परिचय नम्बर’ लागू गरिनेछ र बहालमा दिइएका घरजग्गाको अनिवार्य दर्ता गरिनेछ । सहरी योजना अन्तर्गत मनसुन पूर्वतयारी र विपद् जोखिम न्यूनीकरणका लागि जीआईएस प्रणाली प्रयोग गरिनेछ । सार्वजनिक निजी साझेदारीका सम्झौताहरूको पुनरावलोकन गरिनेछ । महानगरले निःशुल्क पिउने पानी र सार्वजनिक शौचालयको अवधारणालाई निरन्तरता दिनेछ ।

पूर्वाधारतर्फ स्मार्ट स्ट्रिट लाइट र हाईमास्ट लाइट जडान गरी महानगरलाई उज्यालो बनाइनेछ । महिला, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको नाममा भवन निर्माण गर्दा नक्सा पास दस्तुरमा १५ प्रतिशत छुट दिइनेछ । आगामी ५ वर्षभित्र सबै भवनलाई विपद् उत्थानशील बनाउने र भवनहरूको बीमा गर्ने प्रबन्ध मिलाइनेछ । साझा यातायात मार्फत रात्रिकालीन बस सेवा विस्तार गरिनेछ ।

सुन्धारा धरहरा क्षेत्र, भृकुटीमण्डपमा अत्याधुनिक सम्मेलन केन्द्र र काठमाडौं प्लाजाको दिगो व्यवस्थापनका लागि पहल गरिनेछ । नदी किनारका जोखिमपूर्ण बस्तीको उद्धार गरी सहरी गरिब र विस्थापितका लागि सामूहिक आवासको प्रबन्ध गर्न सरकारसँग समन्वय गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।