इटहरीमा कोशीकै सबैभन्दा ठूलो सम्मेलन केन्द्र बन्ने

728
Shares

इटहरी । इटहरीमा कोशी प्रदेशकै सबैभन्दा ठूलो सम्मेलन केन्द्र निर्माण हुने भएको छ ।

४ हजार जना अट्ने क्षमताको एबी हस्पिटालिटी–विन्धम रिसोर्ट एण्ड कन्भेन्सन सेन्टर निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापन बुधबार सम्पन्न भएको हो।

एभरेष्ट बैंक लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडको सहकार्यमा परियोजनाको वित्तीय समापन भएको हो ।

एबी इन्भेष्टमेन्ट होल्डिङका अध्यक्ष देशबन्धु बस्नेतको नेतृत्वमा निर्माण हुन लागेको यो परियोजना पूर्वी नेपालकै पर्यटन तथा आतिथ्यता क्षेत्रको महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ ।

इटहरीको भाटभटेनी नजिक निर्माण हुने सम्मेलन केन्द्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन, प्रदर्शनी, व्यवसायिक कार्यक्रम तथा गन्तव्य विवाह आयोजना गर्न सकिनेछ । परियोजनाले इटहरी, कोशी प्रदेश तथा भारतलगायत छिमेकी मुलुकका आयोजकलाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

बस्नेतका अनुसार यो परियोजनाले पूर्वी नेपाललाई पर्यटन र व्यवसायिक गतिविधिको प्रमुख केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुर्‍याउनेछ ।

परियोजना सञ्चालनमा आएपछि हजारौं प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना हुनुका साथै स्थानीय व्यवसाय, कृषि, सेवा र पर्यटन क्षेत्रलाई समेत टेवा पुग्ने विश्वास गरिएको छ ।

परियोजनाका परिकल्पनाकार तथा व्यवस्थापक प्रभात कार्कीले सम्मेलन केन्द्र पूर्वी नेपालको दीर्घकालीन आवश्यकता रहेको उल्लेख गर्दै यसले नेपाल, भारत, भुटान र बंगलादेशलाई जोड्ने पर्यटन तथा व्यवसायिक केन्द्रका रूपमा पूर्वी नेपालको पहिचान बलियो बनाउने बताए ।