परराष्ट्रमन्त्री खनाल अर्को साता चीन भ्रमणमा जाने

42
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा अर्को साता चीनको औपचारिक भ्रमणमा जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर यसको जानकारी दिएको हो । भ्रमण जेठ ३१ देखि असार ३ सम्म हुनेछ ।
परराष्ट्रमन्त्रीले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । उक्त अवसरमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने र सहयोगका क्षेत्रहरूलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने लगायतका आपसी हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्रीले चीनका अन्य उच्चस्तरीय पदाधिकारीहरूसँग पनि भेटघाट गर्नेछन् ।

भ्रमणकै सिलसिलामा परराष्ट्रमन्त्री खनालले नेपालमा वैदेशिक लगानी प्रवर्धन गर्ने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनमा सहभागी हुने कार्यक्रम पनि छ । उक्त कार्यक्रममा उनले चिनियाँ व्यवसायीहरूसँग अन्तर्क्रिया समेत गर्नेछन् ।

साथै, उनले बेइजिङस्थित नेपाली दूतावासले आफ्नो सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुका साथै त्यहाँ रहेका नेपाली समुदायसँग अन्तर्क्रिया गर्नेछन् ।

परराष्ट्रमन्त्री असार ३ मा काठमाडौं फर्कनेछन् ।