
काठमाडौं । सगरमाथा आरोही सुधिज्ञ पन्त र साईत शर्मालाई आइसीएफसी फाइनान्सले सम्मान गरेको छ । उनीहरूले गत जेठ ६ मा सगरमाथाको सफल आरोहण गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष सुशीलकुमार अर्याल, संस्थाका कर्मचारी, सामाजिक अगुवा, व्यवसायी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा आरोहीलाई सम्मानपत्र, दोसल्ला तथा मायाको चिनो प्रदान गर्दै उनीहरूको साहस, समर्पण, दृढ इच्छाशक्ति, अनुशासन र चुनौतीपूर्ण परिस्थितिमा समेत लक्ष्यप्रति अडिग रहने क्षमताको उच्च प्रशंसा गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्यालले सगरमाथा आरोहण केवल व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण राष्ट्रको गौरव र पहिचानसँग जोडिएको विषय भएको उल्लेख गरे ।
उनले यस्ता सफलताले नेपाली युवापुस्तामा आत्मविश्वास, देशप्रेम र उच्च लक्ष्य हासिल गर्ने प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
सम्मानित आरोही पन्त र शर्माले आफ्नो आरोहण यात्राका अनुभवहरू साझा गर्दै हिमाल आरोहणका क्रममा भोग्नुपरेका चुनौती, जोखिम तथा सफलताका क्षणहरूको चर्चा गरे ।
उनले आफ्नो सफलतामा परिवार, सहयोगी संस्था, साथीभाइ तथा सम्पूर्ण नेपालीहरूको शुभेच्छा र समर्थनको महत्वपूर्ण भूमिका रहेको बताए ।









प्रतिक्रिया