लगानी बोर्डको सीईओ पदका लागि आवेदन आह्वान, यस्तो चाहिन्छ योग्यता

84
Shares

काठमाडौं । सरकारले लगानी बोर्डको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सीईओ सिफारिस समितिले आइतबार (असार २९ गते) एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो । सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ को प्रावधान अनुसार यो प्रक्रिया अगाडि बढाइएको समितिले जनाएको छ ।

आवेदनका लागि न्यूनतम योग्यता अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य शास्त्र, कानुन, इन्जिनियरिङ वा विकास सम्बन्धी विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ । साथै, सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय तहको अनुभव हुनुपर्ने प्रावधान राखिएको छ ।

आवेदन दिने व्यक्तिको उमेर ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । यदि आवेदकले विदेशी मुलुकको स्थायी आवासीय अनुमति पत्र लिएको भए, दरखास्त दिनुभन्दा तीन महिना अगाडि नै सो त्यागेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

इच्छुक आवेदकले आफ्नो व्यक्तिगत विवरण (बायो-डाटा), शैक्षिक योग्यताका प्रमाणपत्रहरू, कार्य अनुभव खुल्ने कागजातहरू र दुई प्रति पासपोर्ट साइजको फोटोसहित आवेदन दिनुपर्नेछ । यसका साथै, आवेदकले नेपालमा लगानीको अवस्था, लगानी बोर्डको सबल र दुर्बल पक्षको विश्लेषण र लगानी प्रवर्द्धनका लागि आफ्नो रणनीतिक कार्ययोजना समेत पेश गर्नुपर्नेछ ।

दरखास्त दिने अन्तिम म्याद सूचना प्रकाशित भएको मितिले १५ दिन (कार्यालय समयभित्र) तोकिएको छ । इच्छुक उम्मेदवारहरूले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सामाजिक तथा भौतिक पूर्वाधार विकास शाखामा आवेदन बुझाउनु पर्नेछ । छनोट सम्बन्धी थप विस्तृत जानकारी र कार्यविधि प्रधानमन्त्री कार्यालयको वेबसाइट वा लगानी बोर्डको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।