इरान र अमेरिकाबीच वार्ता चल्दै, रोकिएको सम्पत्ति फुकुवामा तेहरानको जोड

147
Shares

एजेन्सी । इरान र अमेरिकाबीच प्रारम्भिक सम्झौता गर्ने प्रयासहरू तीव्र भएका छन् । दुवै पक्षले एकअर्कामाथि आक्रमण जारी राखे तापनि रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा गर्ने संयन्त्रबारे छलफल भइरहेको तीन इरानी स्रोत र एक युरोपेली अधिकारीले बिहीबार रोयटर्सलाई बताएका छन् ।

तेहरान र वाशिङटनबीच जारी मुठभेडका बीच इरान र अमेरिकाले समझदारी पत्रको विवरणका बारेमा अझै पनि सन्देशहरूको आदानप्रदान गरिरहेको स्रोतहरूले बताएका छन् ।

इरानी स्रोतहरूका अनुसार, एक राजनीतिक समझदारी भइसकेको छ तर विदेशी बैंकहरूमा रोक्का रहेका अर्बौं डलरको इरानी तेल राजस्व फुकुवा गर्ने संयन्त्रलगायतका केही विषयमा विस्तृत रूपमा छलफल गर्न बाँकी छ ।

‘इरान आफ्नो रोक्का गरिएको ६ देखि १२ अर्ब डलर तेहरानलाई फिर्ता गरियोस् भन्ने चाहन्छ जबकि वाशिङटन मानवीय सामग्रीका लागि चरणबद्ध रूपमा कोष फुकुवा गर्न चाहन्छ र इरानलाई सिधै रकम फिर्ता गर्न अस्वीकार गर्छ,’ इरानी स्रोतहरूमध्ये एकले भने ।

आफ्नो अस्तित्व रक्षाका लागि इरानी धार्मिक सत्ताको प्राथमिकता बृहत् सम्झौता नभई आफ्नो रोक्का सम्पत्ति फुकुवा गरेर र युद्ध अन्त्य गरेर न्यूनतम राहत पुनः प्राप्त गर्न सकिने एउटा ढाँचा तयार गर्नु रहेको इरानी स्रोतहरूले बताएका छन् ।