
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाताहरूलाई छुटैछुट दिएका छन् । अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक, २०८३ मार्फत करदाताहरूका लागि ठूलो राहत र छुटको प्याकेज घोषणा गरेका हुन् ।
अर्थमन्त्रीले ल्याएको पुराना बक्यौता मिनाहादेखि नयाँ करदातालाई दायरामा ल्याउनेसम्मका १९ वटा महत्त्वपूर्ण एम्नेसटी प्रोभिजन गरेका हुन् ।
यी सुविधा लिन चाहने करदाताले तोकिएको समय (धेरैजसो अवस्थामा २०८३ पुस मसान्त) भित्रै कर कार्यालयमा विवरण पेश र कर बुझाइसक्नु पर्नेछ । यो सरकारले करदातालाई विवाद सुल्झाउने र करको दायरामा आउने दिएको सुनौलो अवसर हो ।
यस्ता छन् छुट र मिनाहाका स्किमः
१. पुनर्निर्माण कोषमा दिएको दानमा कर छुट: कुनै व्यक्ति वा संस्थाले सरकारको ‘राष्ट्रिय पुनर्निर्माण कोष’ मा आर्थिक वर्ष २०८२/८३ मा जम्मा गरेको रकममा आयकर लाग्ने छैन। उक्त रकम खर्चको रूपमा कटाउन पाइनेछ ।
२. आन्दोलनमा भएको क्षतिको खर्च कट्टी: जनआन्दोलनका बेला बीमा नभएका सामान वा उद्योगमा क्षति पुगेको भए, त्यसको मुचुल्काका आधारमा आर्थिक वर्ष २०८२/८३ को आय गणना गर्दा खर्च देखाउन र भ्याट कट्टी गर्न पाइनेछ ।
३. विदेशी सहायता परियोजनालाई कर छुट: नेपाल सरकार र दातृ निकायबीचको सम्झौता अनुसार सञ्चालित आयोजनामा काम गर्ने विदेशी व्यक्ति वा संस्थालाई सम्झौता बमोजिम आयकर छुट दिइनेछ ।
४. पुराना करहरूको बक्यौता मिनाहा: साविकको बिक्री कर, मनोरञ्जन कर, होटल कर र ठेक्का कर बापत तिर्न बाँकी रहेको बक्यौता रकम पूर्ण रूपमा मिनाहा गरिएको छ ।
५. काम छाडिसकेकालाई कर मिनाहा: आयकर ऐन २०३१ अनुसार कर निर्धारण भएको तर हाल व्यवसायमा नरहेका र प्यान (PAN) नम्बर समेत नलिएका व्यक्तिहरूको नाममा रहेको पुरानो बक्यौता कर कार्यालयले लगत कट्टा (हटाउन) सक्नेछ ।
६. सुनचाँदी र विलासिता शुल्कमा राहत: २०८२ भदौ २ गतेभन्दा अघि बेचिएका सुनका गहना र रत्नहरूमा विलासिता शुल्क नउठाएको भए अब तिर्नु पर्दैन । साथै, २०८२/८३ भन्दा अगाडिको सुनचाँदी र मूर्ति निर्माणमा लाग्ने भ्याट, ब्याज र जरिवाना पनि मिनाहा गरिएको छ ।
७. म्याद सकिएका सामान नष्ट गर्दा कर नलाग्ने: प्रयोग गर्न नमिल्ने वा म्याद सकिएका सामानहरू (कच्चा पदार्थ वा तयारी सामान) २०८३ पुस मसान्तभित्र आधिकारिक मुचुल्का उठाएर नष्ट गरेमा त्यसमा लाग्ने अन्तःशुल्क वा कर तिर्नु पर्दैन ।
८. नष्ट भएका अन्तःशुल्क टिकटको लगत कट्टा: आन्दोलनका क्रममा वा अन्य कारणले गोदाममै नष्ट भएका अन्तःशुल्क टिकटहरूको विवरण पछि लगतबाट हटाइनेछ ।
९. शैक्षिक र कूटनीतिक निकायलाई छुट: विश्वविद्यालय, कूटनीतिक निकाय र सामुदायिक विद्यालयहरूले २०८२/८३ सम्मको कर विवरण २०८३ पुसभित्र बुझाएमा ब्याज र शुल्क मिनाहा हुनेछ ।
१०. सामाजिक संस्थाहरूलाई विशेष सुविधा: नाफा नकमाउने उद्देश्यका सामाजिक संस्थाहरूले २०८२/८३ सम्मको आय विवरण र कर २०८३ पुसभित्र बुझाएमा उपहार वा चन्दामा लाग्ने कर र ब्याज मिनाहा हुनेछ ।
११. बीमा एजेन्टहरूलाई राहत: बीमा अभिकर्ता (एजेन्ट) हरूले २०८२/८३ सम्म भ्याट संकलन नगरेको भए त्यसमा लाग्ने कर, ब्याज र जरिवाना मिनाहा गरिएको छ ।
१२. आयकरमा ब्याज र शुल्क मिनाहा: विगतमा प्यान नलिई आयआर्जन गरेका व्यक्तिले २०८३ पुससम्म प्यान लिएर २०७९/८० देखि २०८२/८३ सम्मको कर तिरेमा त्यसभन्दा अघिल्लो वर्षहरूको कर, ब्याज र शुल्क तिर्नु पर्दैन ।
१३. भ्याट जरिवाना मिनाहा: भ्याटमा दर्ता भएर पनि कर नबुझाएकाहरूले २०८३ पुससम्ममा मूल कर र थप १ प्रतिशत रकम बुझाएमा बाँकी सबै ब्याज र जरिवाना मिनाहा हुनेछ ।
१४. पनीरमा भ्याट छुट: दूधबाट बन्ने पनीरको बिक्रीमा विगतमा तिर्न बाँकी रहेको भ्याट रकम मिनाहा गरिएको छ।
१५. अन्तःशुल्कमा जरिवाना छुट: अन्तःशुल्क लाग्ने सामानको कारोबार गर्नेहरूले २०८३ पुसभित्र कर र थप १ प्रतिशत रकम बुझाएमा जरिवाना र विलम्ब शुल्क लाग्ने छैन । अनुमतिपत्र (लाइसेन्स) नवीकरण नगरेकाहरूले २०८३ असोजभित्र नवीकरण गरेमा पुरानो जरिवाना मिनाहा हुनेछ ।
१६. विवरण बुझाएर कर नतिर्नेलाई मौका: २०८३ जेठ १५ सम्म विवरण बुझाएर पनि कर तिर्न बाँकी रहेकाहरूले २०८३ पुसभित्र कर र १ प्रतिशत थप रकम तिरेमा ब्याज र जरिवाना मिनाहा हुनेछ ।
१७. कर निर्धारण भएकालाई सुविधा: कर कार्यालयले कर तोकिदिएको तर तिर्न बाँकी रहेकाहरूले २०८३ पुसभित्र कर र १ प्रतिशत थप रकम बुझाएमा ब्याज मिनाहा हुनेछ । तर टेलिकम सेवा प्रदायकलाई यो लागू हुने छैन ।
१८. मुद्दा फिर्ता लिएमा छुट: करको विषयमा अदालतमा मुद्दा लडिरहेका करदाताले २०८३ पुसभित्र मुद्दा फिर्ता लिएर विवादित कर र थप १ प्रतिशत रकम बुझाएमा बाँकी सबै शुल्क र जरिवाना मिनाहा हुनेछ ।
१९. अन्तर्राष्ट्रिय नियोगमा काम गर्ने नेपालीलाई छुट: संयुक्त राष्ट्र संघ वा कूटनीतिक नियोगमा काम गर्ने नेपाली कर्मचारी जसले पारिश्रमिकमा कर तिरेका छैनन्, उनीहरूले २०८३ मंसिरभित्र प्यान लिएर पछिल्ला वर्षको कर तिरेमा अघिल्ला वर्षहरूको कर र ब्याज तिर्नु पर्ने छैन ।















प्रतिक्रिया