व्यवसायी उपेन्द्र महतोले नेपालको जलविद्युतमा लगानीका लागि रुसलाई दिए निम्तो

294
Shares

काठमाडौं । प्रख्यात नेपाली व्यवसायी तथा उद्यमी उपेन्द्र महतोले नेपालको जलविद्युत् क्षेत्रमा लगानीका लागि रुसलाई औपचारिक आह्वान गरेका छन् ।

रुसमा आयोजित सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्च (एसपीआईईएफ–२०२६) को विशेष सत्रमा भर्चुअल माध्यमबाट सहभागी हुँदै उनले यस्तो निम्तो दिएका हुन् ।

‘शाङ्हाई सहयोग संगठन (एससीओ) को २५ वर्षः व्यापार, आर्थिक र व्यावसायिक एजेन्डाको विकासमा नयाँ चरण’ विषयक छलफलमा बोल्दै महतोले एससीओ भूगोल, जनसंख्या र अवसरका हिसाबले विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठन भएको बताए ।

नेपाल एससीओको डायलग पार्टनर रहेको उल्लेख गर्दै उनले आफ्ना दुई ठूला छिमेकी मुलुक भारत र चीनसँगको सुमधुर सम्बन्धका कारण नेपालले क्षेत्रीय व्यापारमा रणनीतिक फाइदा लिन सक्नेमा जोड दिए ।

नेपालको वर्तमान राजनीतिक अवस्थाबारे विश्व समुदायलाई जानकारी गराउँदै महतोले अहिले नेपालमा आमूल परिवर्तनपछि ३६ वर्षीय युवा प्रधानमन्त्रीको नेतृत्वमा नयाँ सरकार बनेको बताए । उनले भने, ‘संसद्को दुईतिहाइ हिस्सा एउटै दलको नियन्त्रणमा रहेकाले अहिले नेपालमा आर्थिक स्थिरता र विकासका लागि अद्वितीय अवसर सिर्जना भएको छ ।’

नेपालको सबैभन्दा ठूलो सम्पत्ति नै जलविद्युत् र बिजुलीको प्रचुर सम्भावना रहेको उनले उल्लेख गरे । विशेषगरी एसपीआईईएफ–२०२६ मा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिको क्षेत्रमा भइरहेको बहसको सन्दर्भ जोड्दै महतोले यी प्रविधिका लागि आवश्यक पर्ने ऊर्जाको स्रोत नेपाल हुन सक्ने दाबी गरे ।

उनले नेपालमा ठूला डेटा सेन्टरहरू स्थापना गर्न र उत्पादित बिजुली भारत तथा बंगलादेशमा निर्यात गर्न सकिने उच्च सम्भावना रहेको बताए ।

नेपालको भौगोलिक बनावटको चर्चा गर्दै उनले हिमालय र पहाडी नदीहरूका कारण नेपालमा पानीको प्राकृतिक उच्च चाप रहेको र बाँध निर्माणको लागत पनि कम हुने प्राविधिक फाइदाबारे लगानीकर्ताहरूलाई अवगत गराए । उनले ऊर्जा उत्पादनका साथै अन्तरदेशीय प्रसारण लाइन निर्माणमा समेत पुँजी लगानी गर्न मञ्चका सहभागीहरूलाई आग्रह गरे ।

विशेषगरी ऊर्जा क्षेत्रमा नेपालको भूमिकालाई अझ प्रभावकारी बनाउन व्यवसायी महतोले रुस–नेपाल–भारत त्रिकोण निर्माण गर्नुपर्ने अवधारणा अघि सारेका छन् । यस त्रिपक्षीय सहकार्यले दक्षिण एसियाको ऊर्जा संकट समाधान र आर्थिक समृद्धिमा कोशेढुंगा साबित हुने उनको विश्वास छ ।