
काठमाडौं । बजेटको एक दिनअघिसम्म कोरला नाकामार्फत नेपालमा ८२५ वटा बीवाईडी विद्युतीय गाडी आयात भएको तथ्य खुलेको छ । मुस्ताङ भन्सार कार्यालय कोरलाका अनुसार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आउनु एक दिनअघि अर्थात् जेठ १४ गतेसम्म चीनबाट ८२५ वटा बीवाईडी ब्राण्डका विद्युतीय गाडी नेपाल प्रवेश गरेका थिए ।
मुस्ताङ भन्सार कार्यालय कोरलाका सूचना अधिकारी अमिन्द्र सिंहका अनुसार यसमध्ये जेठ १२ र १३ गते गरी ४४९ वटा सवारी साधन भित्रिएका थिए । यस्तै जेठ १४ गते पहिलो लटमा ५५, दोस्रो लटमा ५०, तेस्रो लटमा २६ र चौथो लटमा ४५ वटा गरी १७६ वटा बीवाईडी गाडी नेपाल प्रवेश गरेका थिए । यो संख्या अघिल्ला महिनाको तुलनामा अत्यधिक धेरै हो ।
यसरी जेठ १४ गतेसम्ममा गरी कुल ८२५ वटा बीवाईडी सवारी साधन नेपाल प्रवेश गरेका थिए।
सिंहका अनुसार यसमध्ये जेठ १२ र १३ गते ६४९ वटा सवारी साधनको जाँचपास भएको थियो ।
जाँचपास भएर यार्डबाट तल झरेर ४३१ वटा सवारी साधन काठमाडौंतर्फ लागेका थिए ।
जाँचपास भएर पनि भन्सार यार्डमै रहेका २१८ वटा र बोर्डरमा जाँचपास हुन बाँकी १७६ वटा बीवाईडी गाडी रहेको सूचना अधिकारी सिंहले क्लिकमान्डुलाई जानकारी दिए ।
कोरला नाकामा जाँचपास भएका र नभएका बीवाईडी सवारी साधनमध्ये ७७४ वटा गाडी सशस्त्र प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
रसुवामा भएका केही घटना र शंकास्पद गतिविधिहरूका कारण सुरक्षा निकायले अनुसन्धानका लागि ती गाडीहरू रोकेको बुझिएको छ ।
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टका अनुसार काठमाडौंका साथै अन्य जिल्लातर्फ लैजाने क्रममा मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट ती सवारी साधनलाई सशस्त्र प्रहरीको टोलीले आफ्नो नियन्त्रणमा लिएको थियो ।

स्रोतका अनुसार बजेट आउनुपूर्व चीनबाट भित्रिएर बाटोमै रहेका सवारी साधनको समेत जाँचपास भएको आशंकाको आधारमा सशस्त्र प्रहरी टोलीले उक्त सवारी साधन आफ्नो नियन्त्रणमा लिएको हो ।
बजेट वक्तव्यमा करको दर बढ्ने सूचना लिक भएपछि उक्त गाडी आयात गरिएको आशंका गरिएको छ । कतिपय गाडी नेपाल नभित्रिइकनै जाँचपास गरिएको सम्म खबर छ । यसरी चुहिएको सूचनाका कारण राज्यलाई अर्बौं रूपैयाँ कर नोक्सानी भएको छ ।
यसअघि रसुवा नाकामार्फत भित्रिएका विद्युतीय सवारी साधनको विषयमा पनि त्यस्तै समस्या देखा परेपछि आशंकाको आधारमा कोरला नाकाबाट भित्रिएका बीवाईडी गाडी नियन्त्रणमा लिइएको थियो ।
पछिल्लो समय भन्सार जाँचपासमा अनियमितता भएको र कागजपत्र पहिले नै तयार पारेर पछि जाँचपास गरिएको भन्ने आरोपहरू बाहिर आएका छन् ।
तर सूचना अधिकारी सिंहले ती आरोपहरूको खण्डन गरेका छन् । उनले विभागसँगको समन्वयमा मात्र आधिकारिक प्रक्रिया अगाडि बढाइएको र पत्रपत्रिकामा समाचार आएपछि मात्र आफूहरूले बाहिरी चर्चाबारे जानकारी पाएको बताए ।
‘हामीले प्रक्रियागत रूपमै काम गरेका हौं, कागजपत्र पहिले नै तयार पारेको भन्ने कुरामा सत्यता छैन,’ क्लिकमान्डुसँग दाबी गर्दै सिंहले भने, ‘गाडीहरू नेपाल छिरेको धेरै भइसकेको थियो, हामीले त रीतपूर्वक जाँचपास मात्र गरेका हौं ।’
सूचना अधिकारी सिंहका अनुसार जाँचपास भइसकेका २१८ वटा गाडी अझै पनि भन्सारकै यार्डमा रहेका छन् । ती गाडीहरू लैजानका लागि चालकको अभाव र ब्याट्री चार्ज गर्नुपर्ने समस्याका कारण केही समय लागेको उनले जानकारी दिए ।

‘जति गाडी छन्, त्यति नै चालक चाहिने र सबै गाडी चार्ज गरेर मात्र पठाउनुपर्ने हुँदा ढिलाइ भएको हो,’ उनले थपे ।
बजेट भाषणको पूर्वसन्ध्यामा विद्युतीय गाडीको करका दरमा हुन सक्ने परिवर्तनलाई मध्यनजर गर्दै व्यापारीहरूले हतार–हतार गाडी भन्सार पास गराउन खोजेको आशंका गरिएको छ ।
यसअघि रसुवामा भन्सारमा पुगिनसकेका विद्युतीय सवारी साधनलाई कर्मचारीहरूको सेटिङमा पारीपट्टि गएर भन्सार जाँचपास गरेको विषय पनि बाहिरिएको छ । करिब २०० वटा गाडी भन्सार यार्डमा नपुगेको अवस्थामा (बाटोमै) जाँचपास गरेको आशंका गरिएको छ । विभिन्न प्रकारका प्रमाणका आधारमा उक्त कार्यमा रसुवा भन्सार प्रमुख तुलसीप्रसाद भट्टराईसहित ६ जनाको संलग्नता भएको आधारमा उनीहरूलाई त्यहाँबाट फिर्ता बोलाइएको छ ।












प्रतिक्रिया