ऊर्जाको मूल्य बढिरहेमा एसियामा आर्थिक मन्दी आउने चेतावनी

98
Shares

एजेन्सी । इरानमा जारी युद्धसँग सम्बन्धित ऊर्जा महँगी अपेक्षा गरिएको भन्दा लामो समयसम्म टिकेको छ । यसले एसियाली अर्थतन्त्रहरूका लागि स्ट्यागफ्लेसनरी धक्का (आर्थिक मन्दी र महँगीको दोहोरो मार) सिर्जना गरेको सिकागो फेडरल रिजर्भका अध्यक्ष अस्टान गुल्सबीले बिहीबार बताएका छन् ।

बैंक अफ जापान–आर्ईएमईएस सम्मेलनमा सीएनबीसीकी काओरी एन्जोजीसँग कुरा गर्दै गुल्सबीले फ्युचर्स बजारको प्रारम्भिक अनुमानले ऊर्जाको मूल्य हालको स्तरभन्दा धेरै कम हुने अपेक्षा गरेको थियो ।

अमेरिका–इरान शान्ति वार्तामा प्रगतिको संकेत देखिएपछि हालैका दिनहरूमा तेलको मूल्यमा केही कमी आए पनि यो अझै पनि युद्ध सुरु हुनुभन्दा अघिको स्तरभन्दा निकै माथि छ ।

अन्तर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुड फ्युचर्स ३ प्रतिशत भन्दा बढीले बढेर प्रति ब्यारेल ९७.१३ डलर पुगेको छ भने वेस्ट टेक्सस इन्टरमिडिएट फ्युचर्स ३.२४ प्रतिशतले बढेर प्रति ब्यारेल ९१.५५ डलर पुगेको छ ।

तुलनात्मक रूपमा अमेरिका र इजरायलले इरानमा आक्रमण सुरु गर्नुभन्दा अघिल्लो दिन ब्रेन्टको मूल्य ७२ डलर र डब्लुटीआईको मूल्य ६७.०२ डलर थियो ।

गुल्सबीले एसियाली अर्थतन्त्रहरूलाई चेतावनी दिँदै तिनीहरू ऊर्जा आयातक भएकाले यो पुरानो शैलीको स्ट्यागफ्लेसनरी धक्का जस्तै भएको बताए ।

सिकागो फेडका अध्यक्षले सन् २०२५ मा फेडरल रिजर्भको अन्तिम ब्याजदर कटौतीको विपक्षमा मतदान गरेका थिए । उनले मुद्रास्फीति निरन्तर रहने छैन भन्ने प्रमाण चाहेकाले आफूले असहमति जनाएको बताए ।

‘मैले उक्त बैठकमा असहमति जनाएकोमा मलाई कुनै पछुतो छैन किनकि मुद्रास्फीति सुरुमा प्रचार गरिए जस्तो अस्थायी प्रमाणित हुन सकेन,’ उनले थपे ।

मुद्रास्फीति फेडको २ प्रतिशतको लक्ष्यतर्फ फर्कन थाल्यो भने ब्याजदरहरू अन्ततः आजको स्तरभन्दा निकै तल रहने गुल्सबीले बताए ।

कृत्रिम बुद्धिमत्ता (एआई) ले उत्पादकत्व बढाउन सक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा गुल्सबीले चिन्ता व्यक्त गर्दै वित्तीय बजार एआई प्रयोगबाट हुने वास्तविक आर्थिक लाभभन्दा धेरै अगाडि बढ्न सक्ने बताए ।

‘भविष्यमा हुने उत्पादकत्वको वृद्धिले हामीलाई धनी बनाउनेछ भन्ने थाहा पाउँदा त्यसले आजै सेयर बजारको मूल्य बढाइदिन्छ जसले तपाईंलाई आजै आफ्नो सम्पत्ति बढेको महसुस गराउँछ भन्ने मेरो चिन्ता हो,’ गुल्सबीले भने ।

‘यसले मानिसहरूलाई सेयर बजारको यो सम्पत्तिबाट खर्च गर्न प्रोत्साहित गर्न सक्छ र एआईले वास्तवमै उत्पादकत्व बढाउनु अघि नै निकट भविष्यमा अर्थतन्त्र ओभरहिट (आवश्यकताभन्दा बढी सक्रिय) हुन सक्छ ।’

नीति निर्माताहरूले एआईसँग सम्बन्धित सेयर बजारको नाफाले व्यापक मुद्रास्फीति दबाब सिर्जना गरिरहेको छ कि छैन भन्ने संकेतहरूमा ध्यान दिनुपर्ने गुल्सबीले बताए ।

‘म चाहन्छु, मानिसहरूले केही कुरामा ध्यान दिऊन् । के सेयर बजारको सम्पत्ति वृद्धिका कारण उपभोक्ता खर्चमा ठूलो वृद्धि भइरहेको छ ? के डेटा सेन्टरको लगानीले बिजुली र निर्माण मजदुरहरूको लागत बढाउँदै अमेरिकामा मुद्रास्फीतिमा अल्पकालीन प्रभाव पारिरहेको छ ?’

यही प्रक्रियाले अन्ततः एसियाली अर्थतन्त्रहरूलाई पनि असर गर्न सक्ने किनकि नयाँ प्रविधिहरू विरलै एउटै देशमा सीमित रहन्छन्, उनले थपे ।

‘एआईबाट उत्पादकत्व वृद्धि हुने हो भने त्यो छिट्टै एसियाली देशहरूमा पनि आउनेछ,’ उनले भने ।