सामसङले गर्यो कामदारहरूसँग सम्झौता, करोडौंमा बोनस दिने

77
Shares

एजेन्सी । दक्षिण कोरियाको औद्योगिक जगतमा यतिबेला ठूलो हलचल मच्चिएको छ ।

विश्वप्रसिद्ध प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्सले आफ्ना कर्मचारी युनियनसँग एउटा यस्तो ऐतिहासिक सम्झौता गरेको छ जसले कम्पनीलाई ठूलो हडतालबाट त जोगाएको छ तर अन्य कम्पनीहरूका लागि भने ठूलो टाउकोदुखाइको विषय बनेको छ ।

यस सम्झौतासँगै सामसङका कतिपय कर्मचारीले करोडौं रुपैयाँ बोनस पाउने भएका छन् ।

बुधबार सामसङका कर्मचारी युनियनका सदस्यहरूले सरकारको मध्यस्थतामा भएको यस सम्झौताको पक्षमा मतदान गरे । यो सामसुङको इतिहासमा कर्मचारी युनियनको पहिलो ठूलो जीत हो ।

यो सम्झौताको सबैभन्दा रोचक र विवादास्पद पक्ष भनेको दक्षिण कोरियामा पहिलोपटक कुनै ठूलो कम्पनीले आफ्नो सञ्चालन नाफाको निश्चित प्रतिशत सिधै कर्मचारीलाई बाँड्ने लिखित सहमति गरेको छ ।

कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो मागका कारण सामसङको सेमिकन्डक्टर विभागले अहिले अथाह नाफा कमाइरहेको छ । अर्कोतर्फ, आफ्नो मुख्य प्रतिस्पर्धी कम्पनी एसके हाइनिक्सले आफ्ना कर्मचारीलाई दिने गरेको आकर्षक बोनसका कारण सामसङका दक्ष कर्मचारीहरू धमाधम कम्पनी छोड्दै थिए ।

यही दबाबका बीच सामसङले आफ्नो सेमिकन्डक्टर विभागको सञ्चालन नाफाको १०.५ प्रतिशत हिस्सा कर्मचारीलाई विशेष बोनसका रूपमा बाँड्न सहमति जनाएको छ । यसअनुसार कतिपय कर्मचारीले त कुल बोनसबापत करिब ५ करोड ५० लाख रुपैयाँसम्म पाउने भएका छन् ।

यसअघि कर्मचारीको तलबको ५० प्रतिशतभन्दा बढी बोनस दिन नपाइने जुन नियम थियो त्यसलाई पनि अहिले खारेज गरिएको छ ।

सामसङको यस निर्णयले दक्षिण कोरियाका अन्य ठूला कम्पनीहरूमा भने चिन्ता थपिदिएको छ । सामान्यतया कुनै पनि कम्पनीले बोनस बाँड्दा कर तिरिसकेपछि र लगानीकर्ताहरूलाई लाभांश दिइसकेपछिको खुद नाफाबाट दिने गर्छन् ।

तर, सामसङले कर तिर्नुअघिको नाफामै कर्मचारीको हिस्सा सुनिश्चित गरिदिएपछि यसले विश्वव्यापी व्यावसायिक मान्यतालाई नै चुनौती दिएको विश्लेषकहरूको भनाइ छ ।

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्योङले समेत यसबारे चिन्ता व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘कर तिर्नुअघिको नाफा, जुन वास्तवमा सार्वजनिक हिस्सा हो, लाई यसरी बाँड्ने कुरा त लगानीकर्ताहरूले पनि गर्न पाउँदैनन् । लगानीकर्ताले त कर तिरिसकेपछिको नाफाबाट मात्र लाभांश पाउने होइन र ?’

सामसङले यो बाटो खोलेपछि अहिले दक्षिण कोरियाका अन्य कम्पनीका युनियनहरू पनि हौसिएका छन् । इन्टरनेट क्षेत्रको दिग्गज कम्पनी काकाओका कर्मचारीहरूले पनि अहिले १० प्रतिशत नाफा बोनसको रूपमा माग गरिरहेका छन् र माग पूरा नभए हडताल गर्ने धम्की दिएका छन् ।

त्यसैगरी, टेलिकम कम्पनी एलजी युप्लस र ठूला जहाज निर्माता हुन्डाईका युनियनहरूले त नाफाको ३० प्रतिशतसम्म हिस्सा कर्मचारीलाई दिनुपर्ने माग अघि सारेका छन् । सामसङ बायोलोजिक्सका कर्मचारीहरूले पनि २० प्रतिशत नाफाको माग गर्दै यसै महिना ५ दिनसम्म काम ठप्प पारेका थिए ।

दक्षिण कोरियामा मजदुर युनियनहरू पहिलेदेखि नै निकै आक्रामक र शक्तिशाली मानिन्छन् । त्यसमाथि गत मार्च महिनादेखि लागू भएको येल्लो इन्भेलप एक्टले उनीहरूलाई झन् बलियो बनाइदिएको छ । यस नयाँ कानुनले हडताल गर्ने मजदुरमाथि कम्पनीले गर्ने आर्थिक र कानुनी कारबाहीलाई कठिन बनाइदिएको छ ।

अहिले सामसङका सहायक कम्पनीहरू र त्यहाँ काम गर्ने सब–कन्ट्रयाक्टरहरूले पनि नाफामा आफ्नो हक खोज्न थालेका छन् । सामसङको प्रगतिमा साना कम्पनी र त्यहाँका कामदारको पनि उत्तिकै पसिना बगेको त्यसैले नाफाको फल उनीहरूले पनि पाउनुपर्ने उनीहरूको तर्क छ ।

यही असन्तुष्टिलाई साम्य पार्न सामसुङले बुधबार ३ अर्ब डलरको एउटा विशेष कोष घोषणा गरेको छ । यो पैसा साना आपूर्तिकर्ताहरूलाई सहयोग गर्न र नयाँ प्रतिभाहरूलाई तालिम दिन प्रयोग गरिने कम्पनीको योजना छ ।

सामसङले आफ्ना कर्मचारीलाई खुसी पार्न करोडौंको बोनस त बाँड्यो तर यसले दक्षिण कोरियाको समग्र औद्योगिक क्षेत्रमा भने एउटा यस्तो आगो सल्काएको छ जसलाई निभाउन अब कुनै पनि कम्पनीका लागि सजिलो हुने छैन ।