ताइवानमा एनभिडियाको विशाल लगानी, वार्षिक १५० अर्ब डलर खर्च गर्ने योजना

70
Shares

एजेन्सी । विश्वकै अग्रणी चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङले बुधबार ताइवानमा वार्षिक करिब १५० अर्ब डलर लगानी गर्ने योजना सार्वजनिक गरेका छन् ।

ताइवानलाई कृत्रिम बुद्धिमत्ता (एआई) क्रान्तिको केन्द्रविन्दुको संज्ञा दिँदै उनले यो टापु लामो समयसम्म विश्वको प्रविधि उत्पादन हबका रूपमा रहिरहने भविष्यवाणी गरे ।

ताइपेईमा ५० खर्ब डलर बजार मूल्य भएको यस कम्पनीको नयाँ मुख्यालय स्थापनाको खुसीयाली मनाउन आयोजित कार्यक्रममा ह्वाङले लगानीको आकारमा भएको वृद्धिको चर्चा गरे ।

उनले भने, ‘चार–पाँच वर्षअघि एनभिडियाले ताइवानमा वार्षिक १० देखि १५ अर्ब डलर मात्र खर्च गर्थ्यो । अहिले हामी १०० अर्ब डलर खर्च गरिरहेका छौं र यो छिट्टै वार्षिक १५० अर्ब डलर पुग्दैछ ।’

एनभिडियाको यो नयाँ मुख्यालयको निर्माण कार्य यसै वर्ष सुरु हुने र सन् २०३० सम्ममा सञ्चालनमा आउने लक्ष्य राखिएको छ । ह्वाङका अनुसार, यस नयाँ केन्द्रले ४ हजार मानिसलाई रोजगारी प्रदान गर्नेछ ।

ताइवानमा मुख्यालय स्थापना हुनुको मुख्य उद्देश्य विश्वकै सबैभन्दा ठूलो कन्ट्रयाक्ट चिपमेकर टीएसएमसीसँगको सम्बन्धलाई अझ नजिक र बलियो बनाउनु हो । टीएसएमसीले एआईका लागि आवश्यक उन्नत सेमिकन्डक्टरहरू उत्पादन गर्छ र यो एनभिडियाको प्रमुख आपूर्तिकर्ता हो ।

यसका साथै यस नयाँ केन्द्रले फक्सकन, विस्ट्रोन र क्वान्टा कम्प्युटर जस्ता अन्य उत्पादन साझेदारहरूसँगको गठबन्धनलाई पनि मजबुत बनाउनेछ । यी कम्पनीहरूले एआई सर्भर र पूर्वाधार निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

‘ताइवानमा एआईको उछाल आइरहेको छ,’ ह्वाङले करिब १ हजार कर्मचारी र ताइपेईका मेयर चियाङ वान–आन उपस्थित भीडलाई सम्बोधन गर्दै भने, ‘यो त्यस्तो ठाउँ हो जहाँ चिप्स बन्छन्, प्याकेजिङ हुन्छ र एआई सुपर कम्प्युटरहरू सिर्जना गरिन्छन् । यहाँ हाम्रा साझेदारहरूको संख्या अतुलनीय छ ।’

जेन्सेन ह्वाङको जन्म ताइवानको ऐतिहासिक शहर ताइनानमा भएको थियो र उनी ९ वर्षको उमेरमा अमेरिका बसाइँ सरेका थिए । ताइवानमा उनको लोकप्रियता कुनै रकस्टारको भन्दा कम छैन र उनको प्रत्येक गतिविधिलाई त्यहाँ निकै चासोका साथ हेरिन्छ ।

कार्यक्रममा उनका आमाबुबाका साथै श्रीमती र छोराछोरी पनि उपस्थित थिए । रोचक कुरा के छ भने ह्वाङ हालै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको टोलीमा सहभागी भई चिनियाँ राष्ट्रपति सी चिनपिङसँगको शिखर वार्ताका लागि बेइजिङ पनि पुगेका थिए ।